दलहरुबीच एकताका लागि प्रवासीको दवाव आवश्यक : देव गुरुङ

लण्डन । क्रान्ति र विद्रोह नै समाज रुपान्तरणको एक मात्र मार्ग । त्यो पनि जनविद्रोह, जनअदालत र सडकबाट जनसंविधान घोषणा भन्दा तल्ला भाषण गरेर नथाक्ने देव गुरुङ सोमवार एकाएक वुद्धिजिवी जस्ता देखिए ।
दुई दिनअघि केन्द्रीय सदस्य शोभा कट्टेलसंगै बेलायत झरेका माओवादी सचिव गुरुङले बेलायतको मौसमसंगै नेपालको राजनीतिलाई डण्डा दिमागले सोच्न प्रवासी नेपालीलाई खुलेरै आग्रह गरे ।
‘नेपालको राष्ट्रियता र स्वाधीनता अत्यन्तै कमजोर अवस्थामा छ’, उनले नेपाली राजनीतिको वर्तमान अवस्था खुलाउंदै भने, ‘सचिव, सुरक्षा प्रमुख, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसम्म विदेशीले नै बनाउने भएपछि
राष्ट्र जोगाउन सबै राजनीतिक दलहरु मिल्नुको विकल्प छैन् ।’ उनको दावीमा कांग्रेस, एमाले, एमाओवादी र मधेसीदलहरुले विदेशी सामु घुंडा टेकिसकेका छन् ।
२०६२÷०६३ को जनआन्दोलनले नारायणहिटीबाट खोसेको अधिकार सिंहदरवार आउनुको सट्टा विदेशीको हातमा पुगेको माओवादी सचिव गुरुङको ठम्याई थियो । ‘गुमेको राष्ट्रिय स्वाधीनता फिर्ता गर्न र राज्यलाई बलियो बनाउन जहाँ जुन पार्टीमा लागेको भएपनि राष्ट्रिय एजेण्डामा मिलेर मुलुक अघि बढाउनु पर्नेछ’ उनले राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गरेका कांग्रेस, एमाले र एमाओवादीलगायत दलका भातृसंगठन तथा जातीय संगठन इगिंत गर्दै भने, ‘पहिले राष्ट्र बचाउ अनि आ आफ्ना अधिकारका कुरा गरांै । त्यसैले तपाईंहरु प्रवासमा बस्ने नेपाली एक हुनुहोस् । अनि मात्र नेपाल राष्ट्र र स्वाधीनता बच्छ ।’ वर्तमान सरकार सञ्चालनको बाटो अघि बढिरहे राजतन्त्र र हिन्दू राज्य फर्कन सक्ने गुरुङले चेतावनी दिए ।

समाजसेवी डा. राघवप्रसाद धितालले नेपाली मिलेर अघि बढ्नु पर्ने बताए । एनआरएनए यूके सहअध्यक्ष महेन्द्र कंडेल, एनआरएनए आइसीसी सदस्यद्धय सुरेन्द्र श्रेष्ठ र विनोद ज्ञवाली, प्रगतिशील नेपाली समाज बेलायतका सुरेश गौतम, नेपाली जनसम्पर्क समिति महामन्त्री राजकुमार त्रिपाठी र प्रगतिशील नेपाली समाज बेलायतका संस्थापक अध्यक्ष कर्ण शाहीले प्रवासीलाई नेपाली नागरिकता निरन्तरतामा सहयोग गर्न नेता गुरुङलाई आग्रह गरेका थिए ।

आदिवासी जनजाती महासंघ बेलायतका महासचिव नरेश काङवाङ, जनमुक्ति पार्टी यूकेका पद्म गाहा, संघीय समाजवादी पार्टीका भगवान चाम्लिङलगायतले पहिचानसहितको संविधानमा जोड दिए ।
प्रगतिशील नेपाली समाज बेलायतका अध्यक्ष रणबहादुर केसीको अध्यक्षता तथा सचिव तोयनाथ रिजालले साउथ इस्ट लण्डनस्थित उलवीच ग्रयाण्ड थियटरमा सञ्चालन गरेको कार्यक्रममा श्याम शेरचनले स्वागत मन्तव्य दिए । समाजको तेस्रो राष्ट्रिय सम्मेलनमा सांगीतिक मनोरंजन स्वरुप विविध नाचगान प्रस्तुत गरिएको थियो ।

यसैबीच प्रगतिशील नेपाली समाज बेलायतको तेस्रो सम्मेलनले नयाँ नेतृत्व समेत चयन गरेको छ जसमा अध्यक्ष रणबहादुर केसी, उपाध्यक्ष त्रयमा मनोज अन्जान, श्याम शेरचन, पदम लिम्बु, महासचिवमा तोयनाथ रिजाल, सचिव ठाकुर शर्मा, कोषाध्यक्ष फुलप्रसाद कंडेल र सह कोषध्यक्षमा कल्पना आङवुहाङ् छन् । सदस्यहरुमा रवि घिमिरे, पदम राई, बिष्णु चालिसे, रुद्र गैरे, टिका गौचन, छिरिङ शेर्पा, समिक्षा सापकोटा, लक्ष्मण न्यौपाने, प्रदीप केसी, टिका सापकोटा, बिनित सिंह र देवी गुरुङ छानिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री