बेलायतमा गुञ्जंदै नेपाली बाजा

kutumbaलन्डन । डिजिटल प्रविधिको विकासले नेपालमा लोकबाजा लोपोन्मुख हुंदै गर्दा ति पुराना बाजाको ध्वनी बेलायतमा गुञ्जने भएको छ । दशक अघि स्थापित व्याण्ड
‘कुटुम्ब’ ले बेलायतका विभिन्न शहरमा नेपाली लोक धुन प्रस्तुत गर्ने भएको हो ।
कन्सर्टमा बांसुरी, सारंगी, मादल, तुङ्ना, अरवाजो, झ्याम्टा जस्ता नेपाली बाजाको ध्वनी गुन्जने छ ।

आयोजकमध्ये एक रितेशराज पाण्डेका अनुसार, आठ जुनमा बेलायत उत्रने उक्त व्याण्डले पहिलो शो ११ जुनमा स्कटल्याण्डमा गर्नेछ भने १५ जुनमा म्यानचेष्टर, २१ मा आसफोर्ड, २२ मा अल्डरसट र २९ जुनमा कोपल्याण्ड कम्युनिटी स्कुल वेम्ली, लन्डनमा हुनेछ । ६ बजे सांझ शुरु हुने कन्सर्ट तीन घण्टासम्म चल्नेछ । प्रत्येक कन्सर्ट शुरु हुनु अघि नेपाली लोकबाजाबारे अवगत गराइने पनि आयोजकले जनाएका छन् । यसले अरु व्याण्ड जस्तो गीत नभई संगीतमात्र प्रस्तुत गर्छ ।

सन् २०१२ मा एडिनबरा म्यूजिक फेस्टिवलमा सहभागी हुन आएको उक्त व्याण्डले त्यतिबेला कन्सर्टमार्फत बेलायतको नेपाली समुदायमा राम्रो छाप छोड्न सफल भएको थियो । कन्सर्टमा अरुण मानन्धरले तुङ्ना र अरवाजो, रुवीन श्रेष्ठले बांसुरी, किरण नेपालीले सारंगी र सिद्धार्थ महर्जनले झ्याम्टा बजाउनेछन् भने व्याण्ड म्यानेजर अरुण गुरुङलाई प्रविधि संयोजनको जिम्मा छ । उक्त अवसरमा खाना स्टल, टिसर्ट र सिडी विक्री पनि हुनेछ ।

रेडिङ र प्लमस्टेडमा समेत कार्यक्रम हुने भएपनि ति ठाउंका लागि मिति र हल तय हुन बांकी छ ।

‘विविधतामा एकता’ नारा दिइएको उक्त कन्सर्ट अन्जान बगाले, रितेशराज पाण्डे र अञ्जन बुढाथोकीले आयोजना गर्न लागेका हुन् । बेलायतमा नेपाली समुदाय विभाजन भइरहेका बेला एकताको सन्देश दिन र नेपाली लोकधुन अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न कार्यक्रम परिकल्पना गरिएको आयोजक अन्जान बगालेले जनाए । कुटुम्बले शास्त्रीय संगीतमात्र प्रस्तुत गर्ने भएकाले साउण्ड सिस्टम र
प्राविधिक व्यवस्थापनमा उच्च सतर्कता अपनाइने पनि बगालेले जनाए ।

कन्सर्टमा स्थानीय गायक गायिका श्रेया राई, विजय घिमिरे, प्रीति घिमिरे र सौगात श्रेष्ठले पनि साथ दिनेछन् । यसबाहेक दुईवटा मौलिक नाच समेत देखाइने आयोजकले जनाए । पट्यार लाग्दो भाषण र खादा संस्कृति कार्यक्रममा नहुने आयोजकको प्रतिवद्धता छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री