बेलायतमा घरको मूल्य निरन्तर बढ्ने

house-sale-3लन्डन । बेलायतमा अर्कोवर्षसम्म घरको मूल्य निरन्तर वृद्धि हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हालै एक तथ्यांक सार्वजनिक गर्दै सो अनुमान गरेको हो । कार्यालयका अनुसार आगामी वर्षसम्म बैँक ब्याज नबढ्ने भएकाले घरको मूल्यवृद्धि जारी रहनसक्ने देखिएको छ ।
बैंक ब्याजदर हाल अहिलेसम्मकै न्यून ०.५ प्रतिशत रहेको छ र अर्को वर्ष केही हदसम्म बढ्ने प्रक्षेपण गरिएको छ । जसको प्रत्यक्ष असर लन्डन तथा पूर्वी बेलायतका घरधनीमा पर्ने रिपोर्टमा उल्लेख छ । सार्वजनिक तथ्यांकअनुसार समग्र बेलायतमा घरको मूल्यमा गत आर्थिक वर्षमा ८ प्रतिशतले बढोत्तरी आएको छ भने लण्डनमा भने त्यसको दुगुना १७ प्रतिशतले बढेको छ ।
लन्डन र दक्षिणपूर्वी बेलायतबाहेका अन्य स्थानमा भने घरको मूल्यवृद्धि आधा मात्र छ । जहाँ मूल्यवृद्धि ४.७ प्रतिशत छ । सबैभन्दा कम वृद्धिदर उत्तरी आयरल्यान्डमा (प्रतिवर्ष ०.३ प्रतिशत) छ भने स्कटल्यान्डमा ०.८ प्रतिशत मात्र छ । पूर्वी बेलायतमा ६.६ प्रतिशतले र दक्षिणपूर्वी बेलायतमा ६.१ प्रतिशतले मूल्य बढेको तथ्यांकले देखाएको छ ।
बेलायतमा औसतमा एउटा घरको मूल्य २ लाख ५२ हजार पाउन्ड पर्ने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । केही शहरबाहेक देशैभरिबाट आएका तथ्यांकलाई हेर्दा गत वर्षको तुलनामा घरको मूल्यवृद्धि भारीरुपमा भएको छ । यद्यपि घर किन्नेहरुलाई केही सहुलियत दिन सकिने प्रधानमन्त्री डेबिड क्यामरुनको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
तथ्यांकले घरको मोर्गेजका लागि संघर्ष गरिरहेकाहरुलाई दोश्रो चरणमा पनि सरकारको प्रत्यक्ष सहयोग चाहिने आवश्यकता केही विश्लेषकले गरेका छन् ।
बैंकको ब्याजदरले लाखौँ घरधनीलाई अप्ठेरोमा पार्न सक्ने प्रतिवेदनमा औँल्याइएको छ । साबिकको भन्दा अर्को मोर्गेज डिलमा जान नसक्ने करिब ७ लाख ७० हजार घरधनी बैंकको ब्याजदर वृद्धिका कारण जेल जानपर्ने अवस्था आउनसक्ने पूर्वानुमान रिजोलुसन फाउन्डेसनले औल्याएको छ । यो तथ्यांकअनुसार प्रत्येक १० मोर्गेज होल्डरमध्ये एक जना पर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री