‘समान पेन्सन पाउन मुस्किल’ : गुरुङ

Padam gurung

अनसनले केही उपलब्धि दिलाउँदैन 
गोरखा एकता असम्भव र अनावश्यक 
नेपाल–युके सम्बन्धको कार्यक्रम रोक्छौँ
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङले गोरखालीहरुले समान पेन्सन पाउन मुस्किल भएको बताएका छन् ।
करिब २५ वर्षदेखि गोरखा आन्दोलनको नेतृत्व गरिरहेका गुरुङले वीनेपालीसित कुरा गर्दै भने, “बेलायतले गोरखाहरुको सेवालाई कानुनी मान्यता नदिइएका कारण समान पेन्सन पाउन प्रायः असम्भव जस्तै देखिन्छ ।”
आन्दोलनको शुरुवातदेखि नै समान पेन्सन गोरखाहरुको एक महत्वपूर्ण माग रहँदै आएको छ । युद्धबन्दीलाई गोरखाहरुलाई क्षतिपूर्ति, सबै गोरखाहरुलाई बेलायत बसोबासको अधिकार लगायतका सफल अभियानका अगुवा उनले समान पेन्सनका बारेमा भने, “जबसम्म गोरखा सेवाको वैधानिकता कायम हुँदैन तबसम्म गोरखाले समान पेन्सन पाउँदैनन् ।” गोरखाहरुले वर्षौँ सेवा गरे पनि उनीहरुको सेवाको कानुनी हैसियत षड्यन्त्रपूर्ण ढंगले नराखिएको उनको दाबी छ ।
अन्य गोरखा संस्थाहरुबीच कार्यगत एकता गर्न नचाहने बरू एक्लै काम गर्न खोज्ने छवि बनाएका उनले केही महिनाअघि केही गोरखाहरूले लण्डनमा आमरण अनसन बसेर गोरखाहरुको बेइज्जति गरेको आरोप लगाए ।
बेलायती जनतामा गोरखाहरूप्रतिको सहानुभूतिलाई गोरखाहरुको सो कार्यले चकनाचुर बनाएको उनको भनाइ छ । “गोरखाहरुलाई एकातिर बेलायतले अर्काको टाउको काट्ने ‘बहादुर’ भनेर बदनाम गरेकै थियो अहिले फेरि विलाप गर्दै सडकमा अनसन बसेर ‘स्ट्रिट क्रिमिनल’ जस्तो अर्को नराम्रो सन्देश दिइएको छ” उनले भने ।
अनसनपछि अहिले गोरखासम्बन्धी सर्वदलीय संसदीय समितिले प्रतिवेदन बनाइरहेको बेलामा गुरुङले भने अनसनले गोरखाहरुलाई केही उपलब्धि नदिलाउने ठोकुवा गरे । “समितिले प्रतिवेदन सरकारलाई बुझाउने कि संसदलाई ? गोरखाहरुमाथि भइरहेको भेदभावका बारेमा संसदमा पहिल्यै छलफल भइसकेको छ भने अदालतले सरकारलाई गोरखाहरुप्रति समानता दिलाउन फैसला दिइसकेको छ” उनले भने ।
बेलायत सरकारविरुद्ध बसेको अनसन अभिनेत्री जोअना लुम्लेको हातबाट तोडाइएकोमा पनि उनले अर्थ बुझेका रहेनछन् । “सरकारविरुद्ध अनसन बसेपछि त सरकारका प्रतिनिधिले पनि अनसन तोडाउनु पर्ने त ?” उनले प्रश्न गरे । यसअघि सन् २००९ मा गोरखाका पक्षमा भएको फैसला कार्यान्वयन गर्न नदिन षड्यन्त्रपूर्वक अनसनको नाटक रचिएको गम्भीर आरोप पनि उनले लगाए ।
युकेमा आएर वृद्ध भत्ता खाइरहेका गोरखाहरुलाई केही पेन्सन बढाइदिएर नेपाल फर्काउन खोजिएको पनि उनले आशंका गरे । “केही पेन्सन थपियोस् भनेर हामीले आन्दोलन गरेका होइनौँ । हाम्रो सेवालाई कानुनी मान्यता दिइयोस्, गोरखालीहरुलाई आधुनिक दास होइन मानवसरह व्यवहार गरियोस् भन्ने हाम्रो सवाल हो” उनले थपे ।
गोरखाहरुको समस्या एउटै, माग पनि एउटै । तर विभिन्न संस्थामा विभक्त भएर सधैँ आपसमा बाझाबाझ हुन्छ । २५ वर्षदेखि गेसोको नेतृत्व सम्हालिरहेका उनलाई सोधियो, ‘के गोरखाहरु एक हुन सक्दैनन् ?’ बहुलवादी समाजमा गोरखाहरुको एकता असम्भव मात्र होइन अनावश्यक भएको उनले बताए । एकताको प्रयासलाई उनले समयको बर्बादीको संज्ञा दिए ।
नेपाल र बेलायतको दौत्यसम्बन्ध स्थापना भएको दुईसय वर्ष पुगेको अवसरमा दुई देशले विभिन्न कार्यक्रम गर्न लागेकोमा उनले चर्को रोष पोखे । “आफ्ना नागरिकलाई दुईसय वर्षदेखि बधुँवा मजदुर बनाउँदै उनीहरुको जवानीमाथि शोषण गर्ने क्रमको अन्त्य नभएसम्म दुई देशका सरकारलाई दौत्य सम्बन्धका नाममा केक काट्ने, जिब्रो चाट्ने अधिकार छैन” उनले भने ।
दुई शताब्दीको कार्यक्रम बिथोल्ने उद्घोषसँगै उनले यही मे ८ तारिखका दिन बेलायती प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि पेश गरिसकेका छन् । यति गर्दागर्दौ पनि कार्यक्रम अघि बढाइए अवैध ढंगले होइन प्रजातान्त्रिक तवरले कार्यक्रम रोक्ने चेतावनी पनि उनले दिए ।
केही समययता भर्ती भएका, पेन्सन आएका गोरखाहरुले गोरासरह तलव सुविधा पाइरहेका छन् । गोरखा आन्दोलनमा नयाँपुस्ताको सहभागिता नभएको पृष्ठभूमिमा उनलाई सोधियो–दुःख पाएका गोरखाहरू मरेपछि त गोरखा आन्दोलन सकिन्छ होला हैन ? “सकियो होइन अब शुरु हुन्छ” उनको जवाफ थियो । नेपालमा युवाहरुलाई प्रशिक्षण दिएर आन्दोलन हाँक्ने नयाँपुस्ता तयार गर्दै गरेको उनले प्रष्ट्याए ।
दुईसय वर्षसम्म गोरखाहरु बेलायतको दास भए । ६० हजारको संख्यामा बलिदानी दिए । विश्वले शान्ति पायो । अमेरिका, बेलायत महाशक्ति भए । तर गोरखालीहरुले के पाए ? यही प्रश्ले आपूmलाई बारम्बार चिमोटेकोले आपूmले गोरखालीहरूको रगत पसिनाको बलमा स्याङ्जाको साल्मेडाँडामा विश्वशान्तिको केन्द्र बनाउन लागेको बताउन उनले छुटाएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री