कलाकारलाई बेलायत पानी पधेंरो

अचेल पानी पधेंरो छ कलाकारलाई बेलायत आगमन । ९० को दशकसम्म पनि कुनै एक नेपाली टाढैबाट देखिंदा टक्क अडिएर हाइ हेल्लो गर्दा बेग्लै अनुभूति गर्थे पहिलो पुस्ता, त्यतिबेला औंलामा गन्न सकिन्थ्यो नेपाली । विस्तारै नेपालीको आगमन बढ्यो, अचेल नेपाली कार्यक्रम पनि बग्रेल्ती हुन थाले । ‘अहिले त महिनै पिच्छे कोही न कोही कलाकार लन्डन हिथ्रो एयरपोर्टमा उत्रिएकै देखिन्छ’, बीबीसी नेपाली सम्वद्ध पत्रकार भगिरथ योगी भन्छन्, ‘कलाकारको उल्लेख्य आगमनले दर्शकलाई मनोरञ्जन र मिडियालाई राम्रो खुराक भइरहेको छ ।’

पछिल्लो एक वर्षयतामात्र नाम चलेका करिब दुई दर्जन बढि नेपाली अभिनेता, गायक गायिका र हांस्य कलाकार बेलायत टेके । फिल्म शो, कन्सर्ट र अन्य प्रस्तुतिका लागि यहां आउंदा तिनले घुमफिर साथै कमाइ पनि मनग्गे गरेको आयोजकको ठम्याइ छ । कलाकारकै अनुभवमा अन्य देश भन्दा बेलायतको भिसा लिन केही अप्ठेरो भएपनि विश्वासिलो आयोजकले बोलाएपछि आउ जाउ आकासिरहेको छ ।

कलाकार बेलायत ओइरिनुको कारण स्पष्टै छ । खान बस्न सबै आयोजकको खर्च, आयोजककै गाडीमा नयां नयां शहर घुमफिर गर्न पाइने । गायक गायिकाको हकमा नेपालमा एक सय ७५ रुपैंया जति पर्ने क्यासेट यहां ल्याएर विक्री गर्दा पन्ध्र सय रुपैयांमाथि (५ देखि १० पाउण्ड सम्म) आउने । अन्त्यमा एक डेढ महिना बस्दा करिब ८ देखि दश लाख रुपैयां समेत पकेटमा आउने भएपछि को नलोभिएला ?

केही समय यता नायक राजेश हमाल देखि नायिका रेजिना उप्रेती, हांस्य कलाकारहरु जितु नेपाल, दीपक राज गिरी, दीपाश्री निरौला, धुर्मुस सुन्तली, विल्सन विक्रम राई, गायक गायिकाहरु रामकृष्ण ढकाल, सुनिता दुलाल, मौसमी गुरुङ, अविनास घिसिङ, हिमाल सागर, हेमन्त शर्मा, नवीन के भट्टराई, दीप श्रेष्ठ, एस कुमार, रेश्मा सुनुवार, जुना प्रसाईं, खेम गुरुङ, शम्भु राई, तुलसी पराजुली आदि बेलायत आए ।

गत वर्ष जनवरीमा योगेश्वर अमात्य, निमा रुम्बा, न्ह्यू बज्राचार्य, भुषण दाहाल, बविन प्रधान, आनी छोइङ, सुनिल बर्देवा, अमुल कार्की लगायत २१ जनाको टोली एउटै स्टेजमा उत्रिएर ‘पिकनिक इन लन्डन’ कन्सर्ट गरे । करिब ५० हजार पाउण्ड खर्च भएको उक्त कन्सर्टमा कलाकारले लोकप्रियता बमोजिम एउटा शोको ५० हजार देखि ४ लाख रुपैयांसम्म पारिश्रमिक लिएका बताउंछन् आयोजक थर्ड आइ सम्वद्ध विकास देवकोटा ।

‘कमाउनै भनेर नेपाली कलाकार विदेश आउने हुन्’, देवकोटा भन्छन्, ‘नेपाल भन्दा विदेश बस्ने नेपालीले नेपाल र नेपाली कलाकारलाई बढि माया गर्ने अनि आफ्नो सिडी पनि विक्री हुने भएकाले कलाकारहरुको विदेश मोह बढेको देखिन्छ ।’

गत श्रावणमा नेपालकै प्रख्यात सांगीतिक समूह नेपथ्यले विश्वविख्यात कलाकार उत्रने लन्डनस्थित वेम्बली एरिनामा विशाल कार्यक्रम गरेर एउटा नौलो इतिहास रच्यो । एउटै मञ्चमा करिब आठ हजार दर्शक सहभागी भए । २२ वर्षको आफ्नो सांगीतिक यात्रामा धेरै देश विदेश डुले पनि नेपथ्य गायक अमृत गुरुङले वेम्वली कन्सर्ट जीवनकै अविष्मरणीय बताएका थिए ।

पर्छ प्रोडक्सन र सव सोनिक रुट्स नामक दुई संस्थाले गरेका थिए नेपथ्य कन्सर्ट । कार्यक्रम गर्न ऐरिना भाडासहित कलाकारहरुको महंगो पारिश्रमिकले एकलाख तीस हजार पाउण्ड लागेको आयोजक सम्झन्छन् ।

अहिलेको हिट गीत ‘आज किन तिमी के मा चुक्यौ, मेरो दिल तोडी भन के मा विक्यौ’ का तन्नेरी गायक हिमाल सागर दुई वर्ष अवधिमा चौंथो पटक बेलायत आए भर्खर । रिलेशन, फर यू, त्यो दिन, टेल मि र कहानी जस्ता पांच एकल एल्बम निकालिसकेका हिमाल कम्पोजर पनि हुन् । दुई कलेक्सन एल्बम ट्रष्ट मि र लाष्ट लभको कम्पोज गरेका उनले हालसम्म २० जति चलचित्रमा गीत समेत गाइसकेका छन् । नेपालमा लोकप्रिय हुंदा हुंदै उनी यहां आउन किन मरिहत्ते गर्छन् ? भन्छन्, ‘यहां कन्सर्ट गर्दा उल्लेख्य आम्दानी, घुमघाम र नयां मानिस चिनजान हुने भएर आकर्षित भइरहेको छु ।’ डेढ महिना कार्यक्रम गरेर फर्कंदा यूके, युरोपबाट कम्तीमा दश लाख जति कमाइने हिमालले जनाए । ‘आयोजकले एउटा शो को करिब एकलाख रुपैयां दिन्छन् । च्यारिटी शो भए ६०, ७० हजार सम्म पाइन्छ’, हिमाल भन्छन् । वि.स. २०६० सालमा पहिलो एल्बम रिलेशन ९० हजार विक्री भएको सम्झने हिमाल अहिले नेपालमा ५ हजार विक्री भए खसी काटेर खुशी मनाउनु पर्ने अवस्था आएको तीतो यथार्थ सुनाउंछन् । ‘क्यासेट विक्री पटक्कै छैन्, वास्तवमा हामीलाई नेपालमा गाएर बांच्न गार्हो छ’, हिमालको गुनासो छ, ‘गीत निकाल्यो राती नै कपी भएर बजारमा आइसक्छ अनि विदेश नगई कसरी बांच्ने हामी ?’

आगामी अप्रिल २६, २७ अर्थात नेपाली नयां वर्षका अवसरमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (मह जोडी) र गायिका अन्जु पन्त झिकाउने तयारी गरिरहेको छ सपन इन्टरटेनमेन्ट लि. । उक्त कम्पनीका प्रोप्राइटर सपन राईले बेलायतमा चार शो गर्दा ति तीन कलाकारलाई २० लाख रुपैयां भन्दा बढि पारिश्रमिक दिनुपर्ने बताए । वर्षमा दुई पटक जति नेपालबाट कलाकार ल्याउने गर्छन् राई । उनको मुल पेशा नै मनोरञ्जन प्रदान गर्ने हो । बेलायत बस्न थालेको अढाई दशक समयमा राईले सयौं कार्यक्रम गरे, उनले बेलायत नल्याएको चर्चित कलाकार कमै होलान् । मह जोडी पछि मे महिनामा उदय मनिलाको जोडी बेलायत ल्याउन लागेका राई कलाकार हेरि एउटा शो वापत ५० हजार देखि दुई लाख रुपैयां सम्म दिने बताउंछन् । कलाकारहरु झिकाउन मिल्ने टियर फाइभ लाइसेन्स वाहक राई आफ्नो प्रतिष्ठाले पनि कलाकार झिकाउन अप्ठेरो नपर्ने दावी गर्छन् । जसले जो पायो त्यही ल्याइदिंदा केही हदसम्म कार्यक्रम अव्यवस्थित र दर्शक घटेका अनुभव पनि राईसंग छ । कतिपय कलाकार बेलायत घुम्न आउने तर मेसो मिले कार्यक्रम समेत भ्याइ केही रकम लिएर जाने प्रवृत्ति समेत बढेको जनाउने राई यसलाई गैर कानुनी भन्छन् । ‘एउटाको स्पोन्सरमा आएर थर्ड पार्टीको कार्यक्रममा सहभागी हुन बेलायतको नियमले दिंदैन’, राई सुनाउंछन्, ‘शर्त बमोजिम आयोजकले यहां आइसकेपछि खाने बस्ने व्यवस्था समेत राम्रो नगरिदिने गरेको गुनासो पनि यदाकदा आउने गरेको छ ।’ त्यसो त अघिल्लो वर्ष राजेश हमालसंग आउंदा हांस्य कलाकार दीपक राज गिरी र दीपाश्री निरौलाले आफूहरुलाई कुनै प्राइभेट घरमा राखेको तर हमाललाई सुविधायुक्त ट्राभलज व्यवस्था गरेर आयोजकले भेदभाव गरेको गुनासो पोखेका थिए ।

hemanta sharma

गायक हेमन्त शर्मा

नियमित इभेन्ट गरिरहने सुमन अधिकारीका भनाइमा सन् २०१२ को दशैंमा आउंदा मेरी बास्सैका कलाकारहरु धुर्मुस सुन्तलीले दश लाख पचास हजार र संगै आएकी गायिका जुना प्रसाईंले ४ लाख २५ हजार रुपैयां कमाएर फर्किएका थिए । गत वर्ष मेमा आफूले गरेको कार्यक्रममा तक्मे बुढा र माग्ने बुढाले जम्मा जम्मी तेइस लाख ५० हजार लगेको दावी अधिकारीको छ । त्यस्तै गत जनवरीमा बेलायतमा भएको शो मा जितु नेपालले ८ लाख ६ हजार, शम्भु राईले १२ लाख रुपैयां लगे ।

खेम गुरुङले ६ लाख रुपैयां आर्जन गरेको दावी सुमनको छ । उनले अब गायिका इन्दिरा जोशी, पशुपति शर्मा, मनोज गजुरेल र प्रशान्त तामाङको समूहलाई मे मा झिकाउने तयारी भइरहेको जनाए । कलाकारको पृष्ठभमि हेरेर हाइ प्रोफाइललाई मात्र झिकाउने गरेको अधिकारीले सुनाए । ‘आफ्नो खातामा ५० हजार रुपैयां पनि नहुंदा धेरैको भिसा अस्वीकार भएको पाइयो’, अधिकारी सुझाउंछन्, ‘विदेश जान चाहने कलाकारले पर्याप्त कागजात र बैंक खातामा कम्तीमा दुई लाख पैसा भएको स्टेटमेन्ट देखाए भिसा दिनेले पत्याउंछ ।’

कलाकार आउंछन्, घुम्छन् अनि कार्यक्रम गरि पैसा मनग्गे बोकेर फर्कन्छन् । तर, आयोजक सधैं तनावमा रहन्छन् किनभने महिनै पिच्छे कार्यक्रम हुंदा शो चल्ने नचल्ने ठेगान हुन्न । कार्यक्रम सफल भएपनि कलाकारलाई जहाज भाडा, बेलायत ल्याएर खान बस्न, घुम्न सबै खर्च, हल भाडा, पिए सिस्टम आदिको खर्च सम्हाल्दा नाफा धेरै नहुने बताउंछन् सपन इन्टरटेनमेन्ट लि. का राई । ‘कार्यक्रम गरेपछि केही नाफा त आस गरिन्छ तर मुख्य उद्देश्य कम्पनीको प्रोफाइल बढाउने अनि नेपाली कला संस्कृतिको जगेर्ना र विदेशमा व्यस्त जीवन बिताइरहेका नेपालीलाई बेला बेला मनोरञ्जन प्रदान गर्नु हो’, राई भन्छन् । त्यसो त सुमनले पनि कार्यक्रम गर्दा नाफा भन्दा जोखिम बढि हुने उल्लेख गर्दै नाफा घाटा नहेरी नेपाली कला संस्कृति विदेशमा समेत प्रचारप्रसार गर्ने आफ्नो उद्देश्य भएको जिकिर गरे ।

अंग्रेजी नेपाली नयां वर्ष, दशैं तिहार वा अन्य ठूला चाडपर्वमा ठूला संघसंस्था र व्यक्तिले कलाकार बोलाउंछन् । बेलायतमा सपन इन्टरटेनमेन्ट, तमुधिं यूके, मगर संघ यूके, एनआरएनए यूके, किरात याक्थुङ चुम्लुङ यूके, थर्ड आइ लगायत संस्था र व्यक्तिगत रुपमा पनि कलाकार झिकाएर कार्यक्रम गर्ने प्रचलन बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री