साहित्य सन्ध्यामा श्रष्टाहरुको जमघट

तस्बीर नेपालीसमाजयुके डट कम

तस्बीर नेपालीसमाजयुके डट कम

लन्डन । बेलायती समय, नीति नियम र वाध्यता बडो कठोर छ । तर, यो कठोर 
परिवेश छिचोलेर बेलाबेला कोमल नेपाली साहित्यिक मनहरु पनि छचल्किरहन्छ । उनीहरु फुर्सद मिल्नासाथ कुनै कुनामा बसेर आफ्ना मनका वह, भावना सांट्न तम्सिन्छन्, नेपाली भाषा साहित्यको चर्चा गर्छन् । अचेल त साहित्यिक लेखनको पनि यहां कमी रहेन । त्यसैले त कतिपयको ठम्याइमा लन्डन नेपाली साहित्यिक उर्वर भूमितिर उन्मुख छ ।

 प्रसंग बेलायतवासी नेपाली श्रष्टाहरुको एउटा जमघट हो । नेपाली साहित्य विकास परिषद यूकेले नेपाली नयां वर्ष आगमनको पूर्व सन्ध्यामा नव वर्ष उत्सव र १९ 
औं साहित्य सन्ध्या गरेको छ । विल्कुल साहित्यिक माहोलमा हालैको एक सांझ नेपाली साहित्यको लेखाजोखा गरियो, नेपाली नयां वर्षको अग्रिम शुभकामना 
सांटासाट भयो । यही माहोलमा उत्कृष्ट श्रष्टालाई अवार्ड वितरण, कविता वाचन र नयां वर्ष शुभकामना आदानप्रदान समेत भए ।  

 समारोहमा साहित्यप्रेमी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) बोले, 
‘बेलायतमा नेपालीहरुको जेठो साहित्यिक संस्था परिषदले नेपाली भाषा साहित्य उत्थानमा गरेको योगदान सधैं प्रशंसनीय छ ।’ परिषदका पदेन संरक्षक कार्यवहाक 
राजदूत तेजबहादुर क्षेत्रीले पनि विदेशी भूमिमा परिषदको सक्रियता तारिफ गर्न 
भ्याए ।

 कार्यक्रमका सभापति परिषदका कार्यवहाक अध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली नयां वर्ष आगमनलाई परिषदले स्थापनका काल (वि.स. २०५१) देखि नै साहित्यिक र सांस्कृतिक रुपले मनाउंदै आएको प्रष्ट्याए ।  

 समारोहमा पहिलो एनएलडिसी अवार्ड सुमल कुमार गुरुङको ‘मेजर अर्जुनको औंठी’ कथा संग्रहलाई प्रदान गरिएको छ । अन्तिम चरणमा छानिएका तीनमध्ये गुरुङको कृति उत्कृष्ट ठहर भएको हो । कार्यवहाक राजदूत क्षेत्रीले पदक तथा प्रमाणपत्र र एनएलडिसी अवार्ड ट्रष्टकी संस्थापिका कोहिनुर श्रेष्ठ मल्लले दोसल्ला ओढाएर 
गुरुङलाई सम्मान गरिन् । पुरस्कार वितरण भइरहंदा कोशेली नेपाली सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष मदन थापा र भूपू अध्यक्ष वसन्त राय क्षेत्रीले मंगल धुन बजाएर माहोल रोमाञ्चित बनाएका थिए ।  

 विदेशमा रहेका श्रष्टाहरुको सम्मान र प्रोत्साहनका लागि स्थापित उक्त अवार्ड ५ तोला चांदी र सुनको अक्षरले सुसज्जित छ । परिषदका संस्थापक सुरेशजंग शाहको संयोजकत्वमा होम परिवाग र डा. दुर्गा पोख्रेल सदस्य रहेको 
मुल्यांकन समितिले कृति उत्कृष्ट ठहर गरेको हो । मुल्यांकनमा गोपाल पौडेलको 
‘लन्डनको कोशेली’ गजल संग्रह दोश्रो र कवि घनबहादुर थापाको ‘देशको माटोमा मेरो फुल’ तेश्रो भए । 

 कार्यक्रमको दोश्रो चरणमा कविहरु सागर सिलवाल, गोपाल पौडेल, गोकुल भण्डारी, कोमल श्रेष्ठ मल्ल, वसन्तराय क्षेत्री, घनबहादुर थापा, हरिसिंह थापा, डा. सुधा श्रेष्ठ, सुरेशजंग शाह र गोपीकृष्ण प्रसाईंले कविता वाचन गरे भने श्रीमति सारा 
गुरुङले पुतलीबारे लोकगीत गाएर सबैलाई मन्त्रमुग्ध बनाइन् । दुई चरणका कार्यक्रम परिषद महासचिव डा. सुधा श्रेष्ठ र ज्ञानेन्द्र रावतले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री