यूकेका दुई कांग्रेस दुवै अवैधानिक

करिव दुई वर्षदेखि तीव्र विवादमा फंसेका कांग्रेसको दुई प्रवासी संगठन नेपाली जनसम्पर्क समिति बेलायत दुवै अवैधानिक देखिएका छन् । माउ पार्टी नेपाली कांग्रेस दुवै संगठनका बारेमा मौन बस्दै उनीहरुलाई आधिकारिता नदिएपछि अवैधानिक भएका हुन् ।
निर्वाचित अध्यक्ष लोक गुरुङले निर्धारित तीन वर्षको कार्यकाल सकिंदा पनि अधिवेशन गर्न नसकेपछि जनसम्पर्क समितिमा फुटको वीजारोपण भएको थियो ।
विदेश विभाग प्रमुख अर्जुन जोशीले तत्काल महाधिवेशन गर्न कांग्रेस नेता सम्पूर्णानन्द ढुङ्गानाको संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गरेका थिए । संयोजक ढुङ्गाना र अध्यक्ष गुरुङले काम गर्न नसकिरहेका बेला कांग्रेस नेता विश्वआदर्श पण्डितलगायतका केही नेताले कोठे वैठक गरि गुरुङलाई निरन्तरता दिएको चेतनाथ खनाल पक्षको आरोप छ । साथै, उपाध्यक्ष र महामन्त्रीमा आफ्ना निकटका मानिसलाई राखि पण्डित र अध्यक्ष गुरुङले कांग्रेस फुटाएको आरोप खनाल पक्षले लगाएको छ ।
तर, अध्यक्ष गुरुङ भने महाधिवेशनमा नआउने व्यक्तिले फेसवुकमा मनपरी लेख्दै हिंडेको बताए । ‘फेसवुकमा लेखेर कोही पनि अध्यक्ष हुदैन, प्रक्रियामा आउनुपर्छ’, उनले वी नेपाली डट कमसित भने,‘पार्टी वाहिर बस्ने संस्थापक अध्यक्ष हुन् वा केन्द्रीय प्रतिनिधि म कसैलाई चिन्दिन ।’
स्रोतका अनुसार कांग्रेस जनसम्पर्क समितिमा व्यक्तिगत टकरावमा देखिएका दुई समूहले आ आफ्ना मान्छेहरु हुनुपर्छ भन्ने दावी गर्दा समिति दुई चिरा जस्तो हुन पुगेको हो । ‘दुई गुटका मान्छे समेट्न नसक्दा यस्तो अवस्था आएको हो’, अध्यक्ष गुरुङले विवादका बारेमा खुलेर भने, ‘पार्टी केन्द्र केही बोल्दैन, मलाई पनि केही लिनु छैन् । चांडै अधिवेशन गरेर टुग्याउँछु ।’ अध्यक्ष गुरुङले लण्डनमा भएको डेलिगेटको अधिवेशनले आफुलगायतका नयाँ कार्यसमितिलाई थप कार्यकालका लागि निर्वाचित गरेको दावी समेत गरे ।
सो दावीलाई अध्यक्ष खनालले अस्वीकार गर्दैै भने, ‘अधिवेशन मार्फत निर्वाचित व्यक्तिले कोठामा बसेर अधिवेशन भयो भन्नु कांग्रेस संस्कृति विपरित हो, त्यो अधिवेशन होइन गुटको बैठक हो । त्यसले नेतृत्व चयन गर्ने हैसियत राख्दैन् ।’ अध्यक्ष खनालले निर्वाचनद्धारा नै सबै कुराको छिनोफानो हुनु पर्नेमा जोड दिए ।
‘म पनि कांग्रेसका लागि जेलनेल भोगेको मानिस भएकाले अधिवेशनबाटै सबै कुराको टुङ्गो लगाउनुपर्छ’, उनले भने ।
स्रोतका अनुसार खनालको सुशिल कोइरालासँग सिधा पहुंच छ । अध्यक्ष गुरुङ पक्षको शेरवहादुर देउवा र खुमवहादुर खड्कासँग निकट सम्बन्ध रहेको स्रोत बताउँछ ।
दुवैले सुशिल कोइराला, शेरवहादुर देउवा र रामचन्द्र पौडेलको साथ आफ्नो पक्षमा रहेको दावी गर्दै आएका छन् तर, आधिकारिक पत्र भने दुवै पक्षसँग छैन् ।
एउटा पक्षको नेतृत्व लोक गुरुङले गरेका छन्, अर्काे पक्षको नेतृत्व चेतनाथ खनालले गरेका छन् । संस्थापक अध्यक्षहरु पुरुशोत्तम पौैडेल र विनोद मोक्तान तथा केन्द्रीय प्रतिनिधि विज्ञान प्रसाई अध्यक्ष खनालको पक्षमा देखिन्छन् । जसका प्रमाण उनीहरु खनाल पक्षले आयोजना गरेको महाधिवेशनमा उपस्थित भएका थिए । तर, गुरुङ पक्षले आफू मात्र आधिकारिक रहेको दावी गर्दै आएका छन् । दुवै पक्षले नयाँ र नौला कार्यक्रम नगरेपनि वीपी जयन्ती र राष्ट्रिय मेलमिलाप दिवस आ आफ्नै तरिकाले मनाउंदै आएका छन् ।

congress-flag

प्रतिक्रिया

सम्बन्धित सामाग्री