काठमाडौँबाट हिथ्रो विमानस्थल उत्रँदा २० तोला गहना गायब

बाहिर बोक्रो भित्र खोक्रो : गहना चोरेर जस्ताको तस्तै लगेजभित्र राखिएका बट्टाहरू

लण्डन । नेपाल बिदामा गएकी नर्थोल्ट लण्डन निवासी प्रविना थापा मंगलबार बेलुका मस्कट (ओमान) हुँदै ओमान एयरको उडानबाट हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल झरिन् । लगेज ठीकठाकै थियो । चाबी काटिएको वा झोला फोरिएको केही पनि थिएन । जब घर पुगेर झोला खोलेर हेरिन् तब तीनछक परिन् ।
झोला सहीसलामत थियो । चाबी जस्ताको तस्तै थियो । झोलाभित्र गहना राखिएका स–साना बट्टा पनि दुरुस्तै थिए तर थिएनन् त्यसभित्रका गहनाहरु । एयरपोर्ट र हवाइ सेवाजस्तो कडा सुरक्षा अपनाइने क्षेत्रमा जादुगरले जस्तै बडो कलात्मक ढंगले गहना चोरिएको पाउँदा एकछिन त उनले आफैलाई विश्वास गर्न सकिनन् ।
“लगेज जस्ताको तस्तै थियो । घर आएपछि सबै बसेर सामान तह लगाउन थाल्यौँ । दाइले ‘यो गहनाको खाली बट्टा किन ल्याएको’ भनेर सोध्नुभयो । मैले ‘हैन गहना पनि छ भनेँ’ तर खोल्दा त खाली डब्बा मात्र थियो” उनले भनिन् ।
थापाका अनुसार हराएका सामग्रीहरूमा ११ तोलाका दुईवटा चाँदीका काँडे चूरा, पाँच तोलाको अर्को चाँदीको चूरा र तीन तोलाको चाँदीको सिक्री छन् । हराएकामध्ये ११ तोलाका चूरा उनलाई साथीले नेपालबाट ल्याइदिन लगाएका थिइन् भने सानो सिक्री भाइलाई बुटीमा गाँसेर लगाउन ल्याएकी थिइन् र बाँकी चूरा आफ्नै लागि ।
नेपालको विराटनगर विमानस्थलबाट काठमाडौँ विमानस्थलसम्म पनि लगेजमै राखेर ल्याएको हुनाले ‘लगेजमा लगे पनि ठीकै हुने रहेछ’ भनेर राखेको उनले बताइन् ।
‘नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सामान चोरिएको हुनसक्ने’ आशंका उनी गर्छिन् ।
दाइको विवाहका लागि नेपाल गएकी थापालाई हिथ्रोबाटै सास्तीपूर्ण यात्राको शुरुवात भएको रहेछ । बेलुका ९ बजेको उडान भेट्न गएकी थापाले भोलिपल्ट दिउँसो २.३० बजे मात्र हिथ्रो छोड्न सकिन् । ‘पाइलट बिरामी परेकाले भोलि बिहान १० बजेसम्मका लागि उडान स्थगित भनियो तर १० बजेको उडानका लागि प्लेनभित्र राखेर दिउँसो मात्र उडाइयो’ उनले भनिन् ।
उता ओमानको मस्कटमा पुगेर फेरि सास्ती दोहोरिन्छ । “काठमाडौँ जाने प्लाइट पर्सि मात्र छ’ भनियो । हामीसित पर्खिनुको विकल्प थिएन । जब काठमाडौँ पुगियो दाइको विवाह सकिइसकेको थियो” उनले भनिन् ।
छ वर्षपछि नेपाल गएकी उनलाई अब नेपाल नै नजाऊँ नजाऊँ लागेको छ । “छ वर्षपछि नेपाल जाँदा यस्ता घटनाहरु भए अब त नजाऊँ नजाऊँ पो लागेको छ” उनले भनिन् ।
प्रविनाले टिकट लिएको लण्डनस्थित ट्राभल एजेन्सी द्यौराली ट्राभल्सका प्रबन्धक आशिष पन्तले ग्राहकको उजुरीलाई आफूले सम्बन्धित निकायमा छिटोभन्दा छिटो पुर्याउने बताए । तर गहना हराएकोमा क्षतिपूर्ति पाउन झण्झटिलो प्रावधान र असम्भवप्राय भएको उनले बताए । ‘हराएको सामानको फोटो प्रमाण खोजिन्छ एउटा यात्रुले त्यस्तो प्रमाण जुटाउन गाह्रो हुन्छ’ उनले भने ।
उनले आफूहरुले यात्रुहरुलाई गहना वा बहुमूल्य सामान लगेजमा नराख्न सुझाव दिने गरेको उल्लेख गर्दै भने, “गहना कि लगाउनु वा ह्याण्डक्यारीमा बोक्नु । तर ह्याण्डक्यारीलाई आफू जताजता जाने हो उतैउतै लैजानु । एकैछिन नछाड्नु ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री