१२ हजारले हेरे गोर्खा कप

Gurkha-cu top

लन्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा वृहत मेला अर्थात गोर्खा कप १२ हजार भन्दा बढिले अवलोकन गरे । आइतबार अल्डरसटस्थित क्विन्स् एभेन्यू मैदानमा भएको १२ औं ९ ए साइड फुटबल प्रतियोगिता ‘गोर्खा कप’ मा दर्शक भीडले मैदान र अल्डरसट टाउन नेपालीमय बन्यो । सडक, रेष्टुरेन्टमा नेपाली भन्दा अरु अनुहार देखिएन । तन्नेरीलाई यो ‘डेटिङ स्पट’ बनिरहेको थियो । मानिसहरु कोसौं टाढाबाट बस नै रिजर्भ गरेर खेल हेर्न ओइरिएका थिए ।

‘ह्याम्सायर काउन्टी काउन्सिलले त मे २५ लाई वार्षिक क्यालेन्डरमै राखेको छ’, आयोजक तमुधिं यूके अध्यक्ष कमल गुरुङले भने, ‘अब केही वर्षमै गोर्खा कपलाई अन्तर्राष्ट्रिय प्रतियोगिता बनाउने हाम्रो लक्ष्य छ ।’ यसपटक पोर्चुगल र बेल्जियमबाट पनि खेलाडी सहभागी थिए । १२ हजार भन्दा बढिले गोर्खा कप अवलोकन गरेको जनाउंदै अध्यक्ष गुरुङले खेल सम्पन्न गर्न करिब ४० हजार पाउण्ड लागेको जनाए ।

तमुधिंले वर्षैपिच्छे नेपाली समुदायलाई एकै ठाउंमा एकत्रित गरेकामा प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर टेरी ब्रिजम्यान पनि दंग थिए । ‘म गोर्खा कपबाट धेरै खुशी हुन्छु’, मेयर ब्रिजम्यानले भने ।

ननभेट्रान ४० र भेट्रान ८ गरि ४८ टिम सहभागी गोर्खा कपमा यस वर्ष नन भेट्रानतर्फ तोङ्वा एफसीले दुई गोल गरि प्रथम उपाधि जित्यो भने सहारा यूके रनर अप भयो । वेष्ट प्लेयर तोङ्वा एफसीका अर्पन गुरुङ र टप स्कोरर वुद्ध गुरुङ भए ।

भेट्रानतर्फ धरान समाज यूकेले यसपटकसहित तीन वर्ष लगातार प्रतियोगिता जितेर उपाधि र नगद पांचसय आफ्नो पोल्टामा सुरक्षित गरेको छ । भेट्रानतर्फ वेष्ट प्लेयर धरान समाज यूकेका सूर्यविक्रम राई र टप स्कोरर पदम लिम्बु भए ।
प्रमुख अतिथि रसमोर बरो काउन्सिलका मेयर टेरी ब्रिजम्यान, विशेष अतिथि कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, आयोजक तमुधिं यूके अध्यक्ष कमल गुरुङ र गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्रीले विजेतालाई संयुक्त रुपमा उपाधि प्रदान गरे ।

मन्तव्यका क्रममा कार्यवहाक राजदूत क्षेत्रीले बेलायतीसंग नेपाली समुदायको समायोजनमा यस्ता गतिविधिले सघाउने बताए । तमुधिं यूके अध्यक्ष गुरुङले छरिएका नेपालीलाई एकै थलोमा जमघट र नेपाली कला संस्कृति संरक्षण गर्नु गोर्खा कपको उद्देश्य रहेको जनाउंदै सहभागी खेलाडी, कोच, दर्शक, स्वयंसेवी लगायत सबैमा धन्यवाद व्यक्त गरे ।

ब्रिगेड व्याण्ड अफ गोर्खाज्को प्रस्तुति र खुकुरी नृत्य गोर्खा कपका आकर्षण 
थिए । तमुधिं यूकेले गोर्खा वेलफेयर ट्रष्ट र क्यान्सर रिसर्च यूकेलाई पांच, 
पांच सय पाउण्ड सहयोग समेत गरेको छ ।

Gurkha-cup bottom

प्रतिक्रिया

सम्बन्धित सामाग्री