मिस यूके नेपाललाई युवती पाइएनन्

Miss-UK-nepal

लन्डन । सहभागिता न्यून भएपछि अघिल्लो वर्ष स्थगित ‘मिस यूके नेपाल’ 
प्रतियोगिता यस पटक पनि हुने सम्भावना झिनो छ ।

आइतबार जुन १ तारिख अल्डरसटस्थित निरमाया रोधीघरमा चौंथो मिस यूके नेपालका लागि भएको पहिलो अडिसनमा तीनजना मात्र सहभागी भए । उक्त अडिसनमा सहभागी भन्दा धेरै निर्णायकहरु मोडल सब्रिना श्रेष्ठ, गौमाया गुरुङ, दुर्गा गुरुङ, नयन गुरुङ, डिजाइनर अन्जन गुरुङ थिए ।

आयोजक इभेन्ट एण्ड आइडियाज्ले अर्को अन्तिम अडिसन आगामी २१ जुनमा 
राखेको छ ।

‘प्रतियोगितामा सहभागिता झन् झन् निरासाजनक रह्यो’, इभेन्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङले भनिन्, ‘कसैको पढाई, कसैको भिजा समस्या अनि कामको व्यस्तताले सहभागी हुन इच्छुक युवती नै पाइएनन् ।’

गत वर्ष ९ जनाले नाम दर्ता गरेपनि प्रशिक्षणका लागि सबैको समय नमिल्दा प्रतियोगिता रोकिएको थियो । आयोजकका अनुसार १६ देखि २४ वर्ष सम्मका युवतीले प्रतियोगितामा भाग लिन सक्नेछन् । आफूमा भएको प्रतिभा प्रष्फुटन र स्वदेशका लागि केही कल्याणकारी काम गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता परिकल्पना गरिएको हो ।

अन्तिम अडिसनमा कम्तीमा ९ जना सहभागी भए भने प्रतियोगिता सुचारु नत्र यस वर्ष पनि स्थगित गर्ने सोचमा छ आयोजक । निर्देशक गुरुङले प्रतियोगितामा सहभागिताका लागि प्रोत्साहित गर्न अभिभावकसंग आग्रह गरेकी छन् ।

सन् २०१० देखि शुरु भएको मिस यूके नेपालको उपाधि पहिलो वर्ष नवीना गुरुङ, ०११ मा गौमाया गुरुङ र ०१२ मा दुर्गा गुरुङले जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री