बेलायत नेपाल प्रज्ञा परिषदमा प्रा डा गेल्नर

लण्डन । बेलायत नेपाल प्रज्ञा परिषद (विएनएसी)को वार्षिक साधारणसभाले प्रा डा डेभिड गेल्नरलाई आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ ।

यसैगरी डा कृष्ण अधिकारीलाई परिषद्को महासचिव पदमा र डा सलेन हिटन श्रेष्ठलाई कोषाध्यक्ष पदमा चयन गरिएको छ । तीनै जना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

गेल्नर अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् भने अधिकारी नेपाल अध्ययन केन्द्र संयुक्त अधिराज्यमा आवद्ध भई सोही विश्वविद्यालयमा कार्यरत छन् ।

साधारणसभाले परिषदका निवर्तमान पदाधिकारीहरु अध्यक्ष प्रा माइकल हट, महासचिव डा इयन हापर र कोषाध्यक्ष डा मारा मालागोडीलाई कार्यसमितिको सदस्यमा चयन गरेको छ ।

साधारण सभाले १३ औं नेपाल नेपाल अध्ययन दिवस अर्को वर्ष स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज (सोआस), युनिभसिर्टी अफ लण्डनमा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दै प्रा. हटले परिषदको २०१४ को वार्षिक नेपाल प्रवचन कार्यक्रममा डरहम विश्वविद्यालयका प्राध्यापक तथा सह–उपकुलपति डा रविन कनिङघमले “तिलौराकोट–कपिलवस्तु : न्यु आर्कोलोजीकल डिस्कोभरी इन द नेपाल तराई” विषयमा प्रवचन दिने जानकारी गराए ।  सो प्रवचन १९ नोभेम्बरको साँझ ६ बजे सोआस, लण्डनको द खलिली लेक्चर थेटरमा हुनेछ ।

त्यसैगरी २०१५ को वार्षिक नेपाल प्रवचन “राइज् एण्ड फल अफ सिभिल सोसाइटी इन् नेपाल” विषयमा  नेपालका पूर्व अर्थमन्त्री डा देवेन्द्रराज पाण्डेले दिनु हुने बताइएको छ ।

नेपालका विविध पक्षमा रुचि राख्ने बेलायतमा रहेका प्राज्ञ तथा शोधकर्ताको सोआस, लण्डनमा २३ मे २००० मा भएको एक भेलाले परिषद्को स्थापना गरेको हो । परिषदको उद्देश्य अनुसन्धानमा सहकारिता, शैक्षिक आदानप्रदान, बेलायती र नेपाली प्राज्ञ तथा शोधकर्ताको आपसी रुचिका विषयमा वार्षिक प्रवचन, सेमिनार आदिको आयोजना गरी नेपाल र बेलायतको आपसी प्राज्ञिक र शैक्षिक सम्बन्धको प्रबर्दन गर्नु रहेको बताइएको छ ।

यसैबीच, परिषद्ले यही अप्रिल २४ र २५ मा अक्सफोर्ड विश्वविद्यालयमा १२ औं नेपाल अध्ययन दिवसको आयोजना गरेको छ । परिषद्का तत्कालीन अध्यक्ष प्रा. माइकल हटको अध्यक्षतामा समापन भएको सो सभामा नेपालसम्बन्धी विभिन्न ७ विधामा बेलायत, युरोपका विभिन्न मुलुक र नेपालबाट आएका महानुभावहरुले छानिएका २० वटा अनुसन्धान पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ५४ जना नेपाल वा नेपाली सस्कृतिसम्बन्धी अनुसन्धानकर्ता र प्राज्ञहरु सहभागी भएका थिए ।

BNAC 2

प्रतिक्रिया

सम्बन्धित सामाग्री