नक्कली कामले भण्डारी जेलमा

Shankar Bhandari

लन्डन । कीर्ते कागजात धन्दामा संलग्न भई अध्यागमन दुरुपयोग गरेको अभियोगमा एक नेपाली लन्डनमा जेल परेका छन् । लन्डन हेज बस्ने ३६ वर्षीय शंकर 
भण्डारीलाई लामो सुनुवाइपछि ह्यारो क्राउन कोर्टले चार वर्ष चार महिना जेल सजाय तोकेको हो । भण्डारीको पारिवारिक श्रोतले यसको पुष्टि गरेको छ । 
‘उहां वास्तवमा सोझो र सहयोगी हुनुहुन्थ्यो तर पाकिस्तानीले फंसाए’, एक आफन्तले नाम उल्लेख नगरिदिने शर्तमा भने ।

होम अफिसले सन् २०१२ अक्टोबर अन्तिम साता भण्डारी सहित एउटा गिरोहको कार्यालयमा छापा मारी असंख्य भिजा निवेदनहरु, हजारौं खाली पे स्लिप (ज्याला विवरण), २७ वटा मोवाइल, ३६ कम्प्युटर, हार्ड ड्राइभ र १५ हजार पाउण्ड नगद जफत गरेको थियो । यही काण्डमा समातिएर उनी धरौटीमा रिहा भएका थिए ।

धादिङ स्थायी घर भएका भण्डारी निकटले उनी करिब डेढ दशक अघि पढ्न बेलायत आएको बताएका छन् । हेजस्थित आफ्नो निवासमा समेत कार्यालय खोलेका भण्डारीले विद्यार्थीका लागि नक्कली सर्टिफिकेट उपलव्ध गराउने गरेको समेत एक विद्यार्थी सम्झन्छन् ।

भण्डारीसहित चार पाकिस्तानी नागरिक सजाद सुल्तान, सलमान सजाद, फिदा हुसेन, हाफिज उल्लाह र एक भारतीय नागरिक देवासिस शाह समेत जेल परेका 
छन् । उनीहरुलाई आठ वर्ष देखि ५१ साता सम्मको जेल सजाय तोकिएको छ । भण्डारी, सजाद र हुसेनलाई जेल सजाय भोगिसकेपछि स्वदेश फर्काइने स्थानीय पत्रिका ब्रेन्ट एण्ड किलबर्न टाइम्स्ले जनाएको छ ।

उक्त गिरोहले लन्डन नर्थ सर्कुलर रोडस्थित क्राउन हाउसमा कार्यालय सञ्चालन गरि कीर्ते धन्दा गर्दै आएका थिए । उच्च दक्ष व्यक्ति (हाइली स्किल्ड) ले पाउने ‘टियर वान’ भिसा आवेदकलाई सघाउन उनीहरुले नक्कली कम्पनीका नाममा बैंक खाता सञ्चालन देखि मनि ट्रान्सफर जस्ता कारोवार गरिरहेका थिए । अहिले त्यो हाइली स्किल्ड क्याटोगोरिज् बन्द भइसकेको छ ।

होम अफिस इमिग्रेसन इन्फोर्समेन्ट क्रिमिनल इन्भेस्टिगेसन्स् टिमका डेभिडले अध्यागमन दुरुपष्योग आफूहरुलाई सह्य नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री