एसएसपी खरेललाई सम्मानको ओइरो

लन्डन । ‘प्रहरी अधिकृतहरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्ति केन्द्र धाइरहेको’ विवादास्पद अभिव्यक्तिका कारण महिना दिन विदा बस्न वाध्य एसएसपी रमेश खरेलले बेलायत आउंदा सम्मानै सम्मान पाएका छन् ।

व्यक्तिगत भ्रमणमा बेलायत आएका खरेललाई बेलायतवासी नेपालीले अपराध र भ्रष्टाचार नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै स्वागत तथा सम्मान गरे । खरेलसंग फोटो खिचाउन र उनको सम्मानमा कार्यक्रम गर्न इच्छुकको तांती रह्यो तर खरेलले व्यक्तिगत भ्रमणलाई धेरै औपचारिक बनाउन चाहेनन् । उनले विगतका विवादास्पद राजनीतिक प्रसंग पनि कोट्याएनन् । गुण्डागर्दी नियन्त्रणमा बडो कठोर देखिने उनी बिना बर्दी भने ज्यादै सरल र हंसिलो देखिन्थे । ‘फोटो खिच्न तंछाडमछांड सर्वसाधारणसंग उहां मज्जासंग घुलमिल हुनुभयोे’, एक सहभागी भन्दै थिए ।

सहारा यूकेले उनको सम्मानमा फार्नवोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम गर्यो । उक्त अवसरमा एसएसपी खरेलले आफू कर्तव्य पालनमा कहिल्यै विचलित नहुने बताउंदै देश र नेपाल प्रहरीका तर्फबाट आफूलाई साथ दिएकामा सबैप्रति आभार व्यक्त गरेको सहारा यूके अध्यक्ष नवीन गुरुङले जनाए ।

उता, अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा पनि बेलायतवासी नेपालीले सम्मान गरे । उक्त अनौपचारिक कार्यक्रममा वहाल तथा अवकासप्राप्त ब्रिटिश आर्मीका कमिशन अफिसरहरु देखि करिव तीन दर्जन नेपाली संघसंस्थाका प्रमुख सहभागी थिए । भेटघाटमा खरेलले बेलायतवासी नेपालीमा नेपालप्रतिको माया र चासो देखेर आफू प्रफुल्ल भएको बताएका कार्यक्रम संयोजक हिराधन राईले जनाए । त्यसैगरि, चाल्टर्न नेपाली समाजको बीबीक्यू कार्यक्रममा पनि उनी विशेष अतिथीका रुपमा उपस्थित भए । खरेललाई एभरेष्ट इन रेष्टुरेन्टमा पनि सम्मान मिल्यो ।

श्रोतका अनुसार, खरेल नातेदारको बिहेमा एक्लै बेलायत आएका हुन् । यहां आएका बेला उनी स्कटल्याण्ड समेत घुम्न गए । उनी आज मंगलबार स्वदेश फर्कंदैछन् ।Ramesh-Kharel

प्रतिक्रिया

सम्बन्धित सामाग्री