आयरल्याण्डमा नेपालको पर्वतारोहण प्रवर्धन मेला

Ireland-2-656x500

लन्डन । लन्डनस्थित नेपाली दूतावासले आयरल्याण्ड पुगेर नेपालको पर्वतारोहण पर्यटन प्रवद्र्धन गरेको छ । नेपाल आयरल्याण्ड सोसाइटी र दि माउन्टेनेरिङ आयरल्याण्डको सहकार्यमा दूतावासले १२ जुलाई शनिवार नेपाल आयरल्याण्ड माउन्टेनेरिङ एण्ड एड्भेन्चर फेयर नामक मेला आयोजना गरेको हो ।

डव्लिनस्थित रेडिसन व्लु होटेलमा आयोजित उक्त वृहत मेला कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री र डव्लिन लर्ड मेयर क्रिष्टी वर्कले पानसमा दीप प्रज्वलन गरेर संयुक्त रुपमा गरेका थिए ।

उक्त अवसरमा कार्यवहाक राजदूत क्षेत्रीले सन् १९९९ मा मात्र नेपाल आयरल्याण्ड कुटनीतिक सम्वन्ध स्थापना भएपनि आयरल्याण्डसंग नेपालको सामिप्यता धेरै पुरानो भएको उल्लेख गरे । पछिल्ला वर्ष दुई देशबीचको आपसी सम्वन्ध अझ प्रगाढ बन्दै गएको उल्लेख 
गर्दै क्षेत्रीले आइरिस स्वयंसेवी, पर्वतारोही र आइरिस नागरिकले कयौं दशकदेखि नेपाल भ्रमण गरेको पनि स्मरण गरेका थिए ।

क्षेत्रीले उर्जा, व्यवसायिक लगानी, प्रविधि हस्तान्तरण, शिक्षा र अनुसन्धान जस्ता क्षेत्रमा विद्यमान अवसरमार्फत दुई देशबीचको सम्वन्ध अझ गाढा बनाउन दूतावासले सेतुको भूमिका निर्वाह गर्ने समेत बताए ।

मन्तव्यका क्रममा डव्लिन लर्ड मेयर क्रिष्टी वर्कले मेलामा सहभागी हुन पाएकामा प्रसन्न हुंदै आयरल्याण्ड र नेपालबीचको सम्वन्ध थप मजवुत बनाउनुपर्नेमा जोड दिए । फिंगल काउन्टी काउन्सिल मेयर म्याग्स् मुर्रेले दुई देशबीच व्यापार व्यवसायको सम्भाव्यता छलफलमा सघाउने इच्छा व्यक्त गरिन् । आयरल्याण्डको नेपाली समुदायसंग निकट रहेकी इमर कोस्टेलोले नेपाली समुदायको हितका लागि सक्दो काम गर्ने अठोट व्यक्त गरिन् ।
नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष एवं नेपाल पर्यटन बोर्ड प्रतिनिधि दीपेशमान शाक्यले आफ्नो संस्थाले नेपालको पर्यटन प्रवद्र्धनमा खेलेको भूमिकाबारे बताए ।

उक्त अवसरमा नेपाल पर्वतारोहण र पदयात्राको लामो अनुभव संगालेका आइरिस पर्वतारोही नोयल हाना, पउल देभानी, टोनी नेशन, डा.प्याट्रिक ओसुलेभान, फ्रेंक नुगेन्ट र जोन लिचले प्रस्तुति समेत दिएका थिए ।

मेलामा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगेन क्षेत्री, मिलिटरी अट्याची विश्वनाथ घिमिरे, कर्मचारी हरि हड्खले, 
र दूतावास परिवार, आइरिस नागरिक र नेपालका शुभचिन्तक सहभागी थिए ।

यसैबीच, कार्यवहाक राजदूत क्षेत्रीले आयरल्याण्ड भ्रमणका अवसरमा आइरिस विदेश मन्त्रालय र अन्य विशिष्ट अधिकारीहरुसंग समेत औपचारिक भेट गरि दुई देशबीच रहिआएको कुटनीतिक सम्वन्ध र हितबारे चर्चा गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री