नेपाली मेलामा तीन दर्जन संघसंस्था सहभागी हुने

NEP Mela-MEETING

लन्डन । आगामी २४ अगष्ट केम्पटन पार्क रेस कोर्स स्टेडियम, लन्डनमा हुन गइरहेको नेपाली मेलामा यसपटक करिब तीन दर्जन संघसंस्था सहभागी हुने भएका छन् । तयारी बैठकमा आयोजक तमुधिं यूकेका उपाध्यक्ष एवं मेला संयोजक ज्ञाम गुरुङले उक्त जानकारी दिएका हुन् । ति संस्थाले आ आफ्नो 
मौलिक झांकी प्रदर्शन गर्नेछन् । संयोजक गुरुङले प्रगति विवरण पेश गर्दै बेलायत तथा नेपाल सरकारका प्रतिनिधि समेत मेलामा ल्याउन पहल भइरहेको बैठकलाई अवगत गराएका थिए ।

छैटौं नेपाली मेला सफल बनाउन तमुधिं यूकेले नेपाली दूतावास, गैर आवासीय नेपाली संघ बेलायत, पत्रकार महासंघ बेलायत, भूपू गोर्खा संगठन, राजनैतिक दलका भ्रातृ संगठन, सामाजिक तथा धार्मिक संघसंस्था, वुद्धिजिवी लगायतसंग सहकार्य गरिने जनाएको छ । मेला सफल बनाउन तमुधिं यूकेले यसअघि नै उपाध्यक्ष ज्ञाम गुरुङको संयोजकत्वमा २१ सदस्यीय मेला आयोजक समिति गठन गरेको थियो ।

हाम्रो संस्कृति, हाम्रो चिनारी र हाम्रो गौरव नाराका साथ गरिने उक्त मेलामा पूर्व मेची देखि पश्चिम महाकालीसम्मका संस्कृति झल्कने नृत्य, भौगोलिक परम्परा झल्कने झांकी, जातीय पोशाक प्रदर्शन (फेशन शो), लोक दोहोरी गीत, युथ ओपन कन्सर्ट साथै व्यापारिक तथा च्यारिटेवल स्टल रहनेछन् ।

दर्शक सुविधालाई मध्यनजर गर्दै यसपटक मेलाको टिकट महिना दिन अघि देखिनै इन्टरनेट तथा तमुधिं पदाधिकारीबाट लिन सकिने बैठकमा जनाइएको छ ।

अध्यक्ष कमल गुरुङको सभापतित्वमा आफ्नै भवन मिचेटमा आयोजित बैठकमा झांकी संयोजक ले. यादवकुमार गुरुङ, कल्चरल संयोजक गम (गोरे) गुरुङ, अतिथी संयोजक ले. नारायणप्रसाद गुरुङ (बीइएम), उपाध्यक्ष दिलिप गुरुङ, कोषाध्यक्ष मे. वुद्धि गुरुङ, पूर्व अध्यक्ष मेजर डमर घले (एमबीइ), सल्लाहकार भक्तबहादुर गुरुङ, हितकाजी गुरुङ, एकेन्द्र गुरुङ, हरि गुरुङ, सदस्य धर्मराज गुरुङ, इकाइ अध्यक्षहरु जगत गुरुङ, ले. चन्द्रबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, जुमकाजी गुरुङ लगायतले आ आफ्ना सुझाव पेश गरेका थिए ।

मेलामा झांकीसहित स्थानीय तथा नेपालबाट आएका कलाकारहरु कुवेर राई र आभा मुकारुङले आफ्नो कला प्रस्तुत गर्ने कार्यक्रम छ ।
मेलामा करिब दश हजार सहभागी हुने अपेक्षा आयोजक तमुधिं यूकेले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री