बिहीबार, मंसिर ५ २०७६ | Thu, November 21, 2019
नेपालको समय: १४:३४ | UK Time: 08:49

‘नेपाली देख्दा दशैँ आकोजस्तो लाग्थ्यो’- महन्त श्रेष्ठ

विनेपाली
२०७१ साउन १५ गते १९:५७

करिब चार दशकदेखि युकेमा बसोबास गर्दै आउनुभएका महन्त श्रेष्ठ बेलायत प्रवेश गर्ने नेपालीको शुरुवाती पुस्तामा पर्नुहुन्छ । विभिन्न नेपाली सामाजिक संघ–संस्था र ब्रिटिश सामाजिक तथा व्यापारिक संस्थाहरुमा आवद्ध भएर उहाँले नेपाल र बेलायती समाजको नाडी राम्रैसित छान्नुभएको छ । बेलायतस्थित नेपाली समुदायको आरोहअवरोहमा चारदशकको उहाँ साक्षी हुनुहुन्छ । त्यसैले उहाँले भोग्नुभएको नेपाली समाजको तस्वीर झल्कने हेतुले गरिएको कुराकानीको सारसंक्षेप –

Mahanta shrestha

युके कहिले आउनुभएको हो ?
म सन् १९७६ मा युके आएको हुँ ।

त्यतिबेला युके आउन कस्तो प्रावधान थियो ?

वर्क परमिटमा आउने प्रावधान थियो । तत्कालीन अवस्थामा कृष्णबहादुर थापा जो पारस होटलको कुक हुनुहुन्थ्यो उहाँ पहिले आउनुभएको थियो । उहाँकै सहयोगमा म युके आएर रेस्टुरेन्ट व्यवसायमा लागेँ । उहाँले नै मलाई यहाँ आउन वर्क परमिट दिनुभएको थियो ।

कतिको सजिलो थियो युके आउनलाई ?
सन् १९६६ देखि १९७९ सम्म नेपालका कुकहरुका लागि बेलायतले वर्क परमिट खुला गरिदिएको थियो । तर नेपालबाट पासपोर्ट बनाउन र अरु काजगपत्र बनाउन त्यति सजिलो थिएन । तर पहिला आएका भारतीयहरुले नेपाली कामदार वा रेस्टुरेन्ट व्यवसायी भनेपछि अर्कैरुपले हेर्दा रहेछन् ।

अर्कै रुप भन्नाले ?
मिहिनेती, इमानदार कामदारको रुपमा हेर्दा रहेछन् ।

वर्क परमिटबाहेक अन्य प्रक्रियाबाट आउने पनि थिए कि ?
वर्क परमिटबाहेक राजपरिवारका नातेदार र राणा परिवार अध्ययनका लागि आउने गर्थे ।

त्यतिबेला नेपालीहरुसित भेट्दा कस्तो लाग्थ्यो ?
एउटा नेपाली देख्दा पनि दशैँ आकोजस्तो लाग्थ्यो ।

त्यतिबेला परिवारलाई विदेश जान्छु भनेर मनाउन कत्तिको गाह्रो थियो ?
धेरै गाह्रो थियो । म काठमाडौँबासी भएको र सानो परिवारमा बसेकोले छोड्न र मनाउन निकै गाह्रो थियो । तर पनि बुबाले जहाँ गए पनि राम्रो काम गर्नु भनेर प्रेरणा दिनुहुन्थ्यो । तर बेलायत जाँदा छोरा नफर्कने हो कि, गोरीसित विवाह गरेर बस्ने हो कि भन्ने चिन्ता थियो ।
म युके आउनुअघि नै अमेरिका गएको थिएँ । एकजना अमेरिकनलाई नेपाल आउँदा नेपाली भाषा सिकाएकोले गुरुदक्षिणास्वरुप उसले मलाई अमेरिका बोलाएको थियो । पाँच महिना अमेरिका बसेर फर्केँ । घरको यादले पनि सतायो । मलाई अमेरिका त्यति राम्रो पनि लागेन । साथीहरुले बस्–बस् भन्दै थिए । त्यतिबेला आठ महिना बसेपछि ग्रीन कार्ड हुन्थ्यो । ग्रीन कार्ड, पैसाभन्दा पनि मदरल्याण्ड इज बेटर द्यान हेभन भन्ने वर्डस्वर्थको भनाइ सम्झेर नेपाल फर्केँ ।

तपाई युके आउँदा नेपालीहरुको संख्या कति थियो ?
३०० जति थिए होलान् ब्रिटिश गोरखाबाहेक । केही विद्यार्थीहरु थिए । त्यतिबेला पासपोर्ट लिन झण्झट थियो । विदेश जाने माहौल नै थिएन । त्यसमाथि तत्कालीन सरकारले विदेश जान प्रोत्साहित गरेको थिएन । एकचोटी लिएको पासपोर्ट फर्केर आएपछि परराष्ट्र मन्त्रालयमा बुझाउनुपथ्र्यो । सन् १९८० तिर मनाङ्गेहरुलाई हङकङ, बैँकक जान दिन थालेपछि बल्ल विदेश जान खुला हुन थालेको हो ।

त्यतिबेला युकेमा रहेका नेपालीहरुको अवस्था कस्तो थियो ?
प्रायः रेस्टुरेन्ट व्यवसायमा थिए । विद्यार्थीहरु पनि रेस्टुरेन्टमा पार्ट टाइम काम गर्थे ।

नेपाली नेपालीबीच कतिको भेटघाट हुन्थ्यो ?
तत्कालीन स्वर्गीय वीरेन्द्र शाह (राजा) अध्ययन गर्दाताका यति संस्था शुरु भएको थियो । ईश्वर मानन्धरले त्यसलाई दुःखसुखले बचाइराख्नुभएको थियो । सन् १९८० मा मैले नै नेपालीहरुबीच भेटघाट कार्यक्रम शुरु गरेँ । म त्यतिबेला यतिको कोषाध्यक्ष थिएँ । पिकनिक जाने, राजाको जन्मोत्सव मनाउने, दशैँतिहार मनाउने कार्यक्रम पहिलेदेखि नै हुने गरेको भए पनि प्रभावकारी थिएन ।

त्यतिखेरसम्ममा नेपाली डाक्टरहरु पनि युके आइसकेका थिए कि ?
आइसकेका थिए । तर पनि घुलमिल थिएन । उहाँहरुको नेपलिज डाक्टर एसोसिएसन खुलिसकेको थिएन । उहाँहरु पनि छरिएर बस्ने गर्नुभएको थियो । भेटघाट भनेको राजाको जन्मोत्सवमा राजदूताबासमा हुन्थ्यो ।

अरुलाई भन्दा डाक्टरहरुलाई यहाँ आउन सजिलो थियो कि ?
धेरै सजिलो थियो । बिना रोकटोक रातो कार्पेट बिछ्याएर हिथ्रोमा स्वागत गरिन्थ्यो । युके मेडिकल एसोसिएनको एउटा प्रावधान पास गरेपछि एनएचएस (नेशनल हेल्थ सर्भिस) मा सजिलै जागिर पाउन सकिन्थ्यो ।

नेपालीहरुको भेटघाटमा के बारेमा कुराकानी हुन्थ्यो ?
प्रायः नेपाली भाषा, सँस्कृति कसरी संरक्षण र प्रबद्र्धन गर्न सकिन्छ र भविष्यमा के गर्न सकिन्छ भन्ने बारेमा नै कुराकानी हुन्थ्यो ।

तपाईले रेस्टुरेन्ट व्यवसाय कहिले शुरु गर्नुभयो ?
सन् १९६६ देखि १९८० सम्म नेपाली र भारतीयको संयुक्त लगानीमा चलेको इलिङ तन्दुरीमा म काम गर्थेँ । नेपाली लगानीकर्ता कृष्णबहादुर थापाले तपाईहरु पनि केही गर्नुहोस् भनेर हौसला दिनुहुन्थ्यो । त्यही भएर हामीले सन् १९८० मा साउथ इलिङमा मोन्टिज भन्ने रेस्टुरेन्ट शुरु गरयौँ ।

त्यतिबेला नेपालीले आफ्नो व्यवसाय शुरु गर्नु कतिको सजिलो थियो ?
धेरै समस्या थियो । व्यवसाय गर्न घर, परिवार, श्रीमती छ भनेर सोध्थ्यो । मैले व्यवसाय गर्न ऋण लिन जाँदा यो समस्या थाहा पाएँ । बैँक म्यानेजर चिनजानको भए पनि नियमअनुसार काम हुने रहेछ । नेपालको जस्तो भनसुन नचल्ने रहेछ । घर छ भनेर सोध्यो मैले छैन भनेँ । विवाह भयो भनेर सोध्यो मैले छैन भनेँ । फेरि बालबच्चा छ भनेर सोध्यो । मैले विवाह नै भएको छैन कसरी बच्चा हुन्छ भनेर जवाफ दिएँ । यहाँ त विवाह नै नगरी बच्चा हुँदोरहेछ मलाई त्यो सँस्कार थाहा थिएन । ऊ हाँस्यो । उसले सोध्यो त्यसो भए के छ त ? मैले इन्स्यारेन्स गरेको पेपर छ भनेँ । त्यो भए पनि लेऊ भन्यो । त्यो हेरेपछि तिमीसित के छ र लोन दिने भन्यो । मैले मसित व्यापार गर्ने सीप छ भनेँ । मैले प्रेजेन्टेसन बनाएको थिएँ । म को हो ? मैले के गर्न लागेको ? त्यही योजनाका आधारमा मैले आज यो सफलता पाएँ ।

तपाईभन्दा पहिले नेपालीको अरु कुन कुन रेस्टुरेन्ट थियो ?
कृष्णबहादुर थापा, ईश्वर मानन्धर, ध्रुव केसी, कालुराम तामाङहरुको रेस्टुरेन्ट थियो । लण्डनबाहिर एक दुई रेस्टुरेन्ट थिए । बाँकी लण्डनमै थिए । तर सबै औँलामा गन्न सकिने संख्यामा थिए ।

पहिले नेपालीहरुले बंगाली र भारतीयसित साझेदारीमा रेस्टुरेन्ट चलाएको देखिन्छ नि ?
ईश्वर मानन्धर र कृष्णबहादुर थापाजीले अरु देशका नागरिकसित साझेदारीमा चलाउनुभएको थियो । मैले चाहिँ नेपाली कुकहरुसित साझेदारीमा चलाएँ ।

रेस्टुरेन्ट खोल्नका लागि भिसाको समस्या हुन्थ्यो कि हुँदैनथ्यो ?
त्यतिखेर चारवर्ष बसेपछि वर्क परमिट पाइन्थ्यो । त्यसपछि बिज्नेस गर्न बेरोकटोक पाइन्थ्यो ।

तस्बीर नेपालीसमाज युके डट कम

तस्बीर नेपालीसमाज युके डट कम

प्रसंग अलि बदलौँ, युकेमा नेपालीको संख्या खास कतिबेलादेखि बढ्न शुरु भयो ?
९० को दशकबाट बढ्न थालेको हो । जब नेपालमा २०४६ मा प्रजातन्त्र आयो त्यहाँबाट मानिस बाहिर जाने क्रम शुरु भयो । मिडियाले पनि यसमा भूमिका खेल्यो । सीप स्थानान्तर हुनुपर्दो रहेछ भन्ने सोच पनि आयो ।

यता बेलायत सरकारले पनि त्यसबेला आप्रवासीलाई अलि सजिलो हुने नीति बनाएको थियो कि ?
मार्गरेट थ्याचरको पालामा बाहिरबाट आउनेलाई अलि खुकुलो नीति बनाइएको थियो । भारतीय र पाकिस्तानीहरुले कोठैपिच्छे ममः पसल खोलेजस्तो गरी कलेज खोलेर विद्यार्थी ल्याउन शुरु गरे । इंगलिश फर फरेन ल्याङ्वेज भनेर पढाउन थाले । पाँच-छ वर्ष पढेपछि विद्यार्थीले आइएलआर पाउँथे । त्यसपछि बस्न सजिलो भइहाल्ने भो ।

अहिले त नेपालीको संख्यासँगै संस्था पनि बढेको छ नि ?
पहिला यति मात्र थियो । कतिपयले आफ्नो जातिको संस्था खोलौँ भनेर उहिले नै भनेका थिए तर मैले संस्था खोल्नेभन्दा पनि सबै नेपालीले खुलिसकेका संस्थालाई बलियो बनाऔँ भनेँ । सन् २००२ पछि आ–आफ्नो जाति र जिल्लाको संस्था खोल्न थाले । अहिले त ३०० संस्था भएको अनुमान छ ।

के कारणले यतिविधि संस्था खुलेका होलान् जस्तो लाग्छ ?
एउटा राजनीतिक कारणले हो । हरेक पार्टीले शाखा राख्न खोजेका छन् । तर म व्यापारी भएकाले यसबारेमा धेरै थाहा छैन । अहिले च्याउ उम्रेसरी संस्था खुलेका छन् । कहाँसम्म जाने हो थाहा छैन । तर बन्द हुने क्रम पनि शुरु भएको सुनेको छु । संस्था चलाउन भात खाएजस्तो होइन । खुट्टा तान्ने प्रवृत्ति, समय र लगानीको अभावमा संस्था चल्न सक्दैन । यो एउटा चक्र हो । सायद पाँच÷दश वर्ष चल्ला । भारतीय, बंगाली र पाकिस्तानी समुदायमा पनि यस्तो देखेको छु ।

सन् २००४ र सन् २००९ को बेलायती सरकारको निर्णयले गोरखाहरुलाई यहाँ आवासीय अधिकार दियो । त्यसअघिको नेपाली समुदाय कस्तो थियो ?

विद्यार्थीहरुको संख्या बढ्दो थियो । लेबर सरकारमा आएपछि विद्यार्थीप्रति खुकुलो नीति लिइएको थियो । रातभर लाइन बसेर भिसा लगाउने विद्यार्थीहरु पनि थिए ।

पहिले र अहिले नेपाली समुदायबीचमा कस्तो परिवर्तन आएको पाउनुहुन्छ ?
सकारात्मक परिवर्तन बढी छ । मानिसमा केही गरौँ भन्ने भावनाको विकास भएको छ । नकारात्मक त जहाँ पनि हुन्छ । त्यसैले नकारात्मक छैन भनेर म भन्दिनँ । अहिलेका केटाकेटीहरु बोल्न लाज मान्दैनन् । म्युजिक बज्यो भने नाच्छन् पनि । लाज भन्ने पटक्कै छैन । नयाँ पुस्ता छिटो र छरितो छ । अंग्रेजी बोल्न, काम गर्न तत्पर देखिन्छन् । अरु समुदायले पनि नेपालीहरुको कर्मशील स्वभाव देखेर राम्रो मान्छन् । लण्डन दङ्गामा एउटा पनि नेपाली संलग्न नहुनुले नेपालीको गौरव अझ बढाएको छ । फलफूल खान बिरामी हुनपर्ने, नयाँ लुगा लगाउन दशैँ पर्खनुपर्ने, मान्छेको अघि बोल्न लाज डर मान्ने पुस्ताबाट अहिलेको पुस्ता स्मार्ट निस्किसक्यो । यो पनि विकास नै हो ।

यहाँका नेपालीहरुमा नेपालप्रतिको लगाव कस्तो पाउनुहुन्छ ?
लगाव बढेको छ । गुणस्तर पनि बढेको छ । हाम्रो पालामा नेपाली रेस्टुरेन्टमा गएर नेपाली खाना खाऊँ भन्ने सँस्कृति थिएन । अहिलेका नेपालीमा त्यो छ ।

युकेमा बस्ने नेपालीको भविष्य कता जाला ?
राम्रो हुन्छ । हामीकहाँ खाली बस्नु हुँदैन, काम गर्नुपर्छ भन्ने भावना छ । बेरोजगार भत्ता खाने, ठग्ने भन्ने आदत नेपालीमा छैन । त्यसकारण भविष्य राम्रो हुन्छ । नेपाली जहाँ जान्छ केही गरौँ भन्छ । पहिले पाँच वटाबाट शुरु भएको रेस्टुरेन्ट व्यवसाय गोरखाहरुको आगमनपछि ३०० पुग्यो । एनआरएनको शुरुवात यहीँ ठाउँबाट भयो र अहिले संसारभर फैलियो । हामीले शुरुवात गर्ने हो बाँकी नयाँ पुस्ताले अघि बढाउँछ ।

नेपालीको उद्यमशीलता (इन्टरप्रेनरसीप) चाहिँ कस्तो होला ?
त्यो पनि बढेर जान्छ । युके बिज्नेसका लागि राम्रो ठाउँ हो । जागिर गर्ने मानिसले पनि सोच्छ किन जहिले पनि ९–५ काम गर्ने ? जीवनमा केही गरौँ भन्ठान्छ । रिटायर्ड भएपछि आउने एकमुष्ट रकम वा गोल्डेन ह्याण्डसेकबाट आउने पैसाले केही गर्न खोज्छ । पैसा भनेको लक्ष्मी हो । राख्न सक्यो भने बस्छ नत्र कहाँ जान्छ कहाँ ? त्यसैले लक्ष्मीलाई राख्न केही गर्नुपर्छ । अहिले युकेमा नेपालीको ट्राभल एजेन्सी, ल फर्म, चार्टर एकाउण्टेण्ट फर्म खुलिसकेका छन् । पहिले हामी ती सुविधा लिन भारतीयकहाँ जानुपथ्र्यो । अहिले बैँकबाट व्यवसायका लागि ऋण लिन पनि पहिलाजस्तो सास्ती भोग्नु पर्दैन ।
(श्याम लुइँटेलद्वारा नेपाल पत्रकार महासंघ युकेको मुखपत्र प्रवासी पत्रकारिताका लागि लिइएको अन्तर्वार्ता)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक