मौलिकता गुमाउँदै, विकृति हुर्काउँदै छ तीज

Nepalese-women-teej

नेप्लिज वुमन्स एसोसिएसन युकेले आयोजना गरेको तीज । तस्वीर एभरेष्ट गौतम

तीजको लहर आयो बरिलै।
हिन्दू नेपाली महिलाले मनाउने धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीजका अवसरमा गाउँ, शहर, गल्ली चोक, घरघरमा यस्तै गीत गुञ्जिरहेका छन् । तीजका यस्ता गीतले महिलामा रौनकता बढाउन थप सहयोग पुर्‍याइरहेको छ ।
यस पर्वमा महिलाहरु अघिल्लो दिन दर खाएर भोलिपल्ट अर्थात हरितालिकाको दिन निरहार पानी पनि नखाई व्रत बसी भगवान शिवको पूर्जा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो असल, गुणी, राम्रो पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ ।
हिन्दू धर्म ग्रन्थमा भगवान शिवलाई पति पाउँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ धार्मिक तथा संस्कृतिविद् डा गोविन्द टन्डनको भन्छन्। तीज पर्वको दिन देशभरका शिवालयका ठूलो मेला लाग्ने गर्दछ ।
महिलाहरुले सासु/ससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा साथी सङ्गीसँग यसरी गीतमार्फत गुनगुनाउने गर्दछन्,
तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा ।

महिलाले वर्षभरिको दुःख पीडा एक दिन तीजको पर्वका दिन आफ्ना साथीहरुलाई गीतमार्फत सुनाएर मन हलुका पार्ने दिनका रुपमा मनाउँदै आइरहेका छन् ।खाली खुट्टा दिनरात काममा खटिदा पनि आफू दुई गास खान नपाएको महिलाले यसरी आफ्नो पीडा पोख्दछन् ।

पैतालुको खाला गयो बिझाउने बाटोले
हृदयको खाला गयो बासी आँटोले’

तीज पर्व महिलाहरुले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो, लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेको बताउँछिन् लोकगायिका तथा सभासद् सिन्धु जलेसा । महिलाले सासु-ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिमा रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ ।
भगवान शिवलाई पति पाऊँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक विश्वास अनुसार तीज पर्वको सुरुवात भएको पाइन्छ । नेपाली महिलाहरुले पनि निरहार दिनभरि व्रत बसेर राति पतिलाई टीका लगाई खुट्टाको पानी खाने प्रचलन छ । तर अहिले संस्कृतिमा खुट्टाको पानी खानु स्वास्थ्यका लागि राम्रो होइन भनेर धरै महिलाहरुले त्यसो गर्न छाडिसकेका छन् । निरहार व्रत बस्ने चलन पनि हट्दै गएको छ । विरामी, अशक्त मात्र नभई अन्य महिलाहरुले पानी, फलफूल, जुस खाएर व्रत बस्ने गरेका छन् ।
व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिएर बस्नु राम्रो हुन्छ, निरहार व्रत बस्नुपर्छ भन्ने छैन-संस्कृतिविद् डा टन्डनको सुझाव छ । त्यति मात्र होइन, व्रत बस्ने महिलाहरु पनि सबै पति र हुनेवाला पतिका लागि मात्र बस्दैनन् । उनीहरु परिवारको सुख शान्ति र स्वास्थ्यका लागि व्रत बस्दछन् भने कोही मुलुकको सुख शान्ति, विद्याका लागि, राम्रो बालीनालीका लागि समेत व्रत बस्ने गरेको महिलाहरुको भनाइ छ । सात कक्षा पढ्दादेखि नै व्रत बसेको हुँ, हरेक वर्ष आफ्नो पढाइ राम्रो होस् भनेर व्रत बस्छु – कक्षा ११ मा पढने अर्पण कार्कीले सुनाइन् ।
तीज पर्वमा माइतीलाई सम्झेर गीत गाउने संस्कृतिको सुरुवात नेपालको लुम्बिनी र गण्डकी अञ्चलबाट आएको पाइन्छ । अन्यायका विरुद्व आवाज उठाउन, आफ्नो जीवनमा भोग्नुपरेका दुःख, पीडालाई विस्तारै अन्य क्षेत्रका महिलाहरुले पनि आ-आफ्नो लोकभाकामार्फत व्यक्त गर्न थालेका छन् ।
चेलीले कर्म घरमा दुःख पाएको व्यथा गीतमार्फत पोख्ने संस्कृति पूर्वमा थिएन, नेपालको लुम्बिनी र गण्डकीबाट यो संस्कृतिको सुरुवात भएको हो-नेकपा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले विगत स्मरण गरिन् । उनका अनुसार त्यो बेलामा महिलाले सासु, ससुरा र श्रीमानले दिने यातनाविरुद्ध गीत गाउनु भनेको मुहिला मुक्तिको लागि भएको हो ।
तीज पर्वमा महिलाहरुले खुलेर अन्याय र अत्याचारका विरुद्वमा आवाज उठाउन थालेका छन् । तीजका कतिपय गीतमा नारी सशक्तीकरणका कुरा समेटिएका छन् । महिला शिक्षा, महिला जागरणका बारेमा कुरा उठ्न थालेका छन् । महिला अधिकारकर्मी शर्मिला कार्कीका अनुसार तीज पर्वलाई समयअनुसार महिला मुक्तिको आन्दोलनका रुपमा अगाडि बढाउनुपर्छ ।
महिलाहरुले वर्षभरि जीवनमा भोगेका तीता अनुभवलाई लय मिलाएर तीजका दिन साथी सङ्गीहरुबीच आपसमा वेदना साट्ने पर्वका रुपमा विकास भएको हो तीज संस्कृति । तर अहिले पहिरन, खाना, गरगहना र तीजका गीत बजारमा ल्याउनमा प्रतिस्पर्धाको मारमा यो पर्व परेको छ । पर्वका नाममा अनावश्यक तड्कभड्क बढेको छ । समाजमा नपच्ने खालको प्रतिस्पर्धा, देखासिकी बढ्दै गएको छ ।
संस्कृतिलाई कायम राखेर पर्व मनाउनुभन्दा पनि कस्ले कति महँगो सारी लगायो, कति तोलाको फेसनअनुसारका सुनका गहना लगायो भन्ने प्रवृत्तिले प्राथमिकता पाउन थालेको छ । तीज पर्व आउनु एक महिनाअघिदेखि नै दर खाने नाममा पार्टी प्यालेस, रेष्टुरेंन्टमा गएर खाना खाने, महङ्गा गहना लगाउने प्रवृति बढ्दै गएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव समेत रहेका डा गोविन्द टन्डनले पशुपति आउने महिलाहरुलाई महङ्गो गहना लगाउँदा चोरी हुनसक्ने भन्दै नलगाउन आग्रह गरिएको बताए ।
केही वर्षदेखि बजारमा बिक्री गराउने र पैसा कमाउने लहरमा नेपाली लोक कलाकारहरुले पनि आफ्नो संस्कृतिलाई कुल्चेर सस्तो विकाउ गीतहरु बजारमा ल्याएको देखिन्छ । अधिकांश गीति क्यासेटहरु धेरै विक्री गराउने लोभमा तीजको मौलिकतालाई बिर्सेर छाडा खालका गीत र नृत्यले भरिएका छन् ।
वर्षपिच्छे तीज पर्वमा नयाँ प्रस्तुती लिएर आउने गायिका कोमल ओलीले यो वर्ष यस्तो गीत बजारमा ल्याएकी छिन्
हल्ला भो शिवजी तिम्रो मरो माया पिरेमको
यो गीत त जसोतसो नेपाली समाजले पचाइरहेको छ तर यसअघि पोइल जान पाम भन्ने उनको गीतले तीज पर्वको नाममा ठूलो प्रहार भोग्नुपरेको ८८ वर्षीया लीलामाया पोखरेलको गुनासो छ । तीजका गीतमा छाडा शब्द र छोटा-छोटा कपडाले लीलामायाको मन दुखाएको छ ।
आजभोलि सात डाँडापारि कर्म घर बनाएर पठाएकी चेलीको दुःख, कष्ट र पीरमर्का कुनै पनि गीतमा सुनिदैन । सूचना र प्रवधिको विकाससँग आएको इन्टरनेट सामाजिक सञ्जालमा महिलाको कर्म घरका बेदना कसैले पोखेको देखिदैन ।
अझ शहरी वातावरणमा हुर्केका महिलाले संस्कृतिको महत्वलाई बुझ्नुभन्दा पनि विकृतिलाई नै बढावा दिइरहेका छन् । पार्टी प्यालेस र होटलमा वियर, ह्विस्की र रमका बोतल हल्लाउदै बलिउड र कलिउडका गीतमा मस्त नशामा झुमेका देखिन्छन् । दरको खाने बाहनामा मदिरा पान गरी नेपाली सभ्यताको धज्जी उडाउने विकृतिलाई समयमै रोक्न सकिएन भने नेपाली मौलिकता हराउँदै जानेछ ।

कोमल वली : हल्ला भो शिवजी तिम्रो मेरो माया पिरेमको

ज्योति मगर : भेरी पारि दियौ बाबा

प्रतिक्रिया

सम्बन्धित सामाग्री