अमेरिकी क्यानको अध्यक्षमा खनाल

सानफ्रान्सिस्को (क्यालिफोर्निया) । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)–युएसएको अध्यक्षमा प्रदीप खनाल निर्विरोध निर्वाचित भएका छन् ।

दुई बर्षे कार्यकालका लागि भएको निर्वाचनमा खनाल नेतृत्वको १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । क्यान युएसए अमेरिकामा कार्यरत सूचना प्रविधिमा कार्यरत नेपालीहरुको संस्था हो ।

नयाँ निर्वाचित उपाध्यक्षद्वयमा नवीन आचार्य र सुशील सुवेदी छन् । त्यस्तै महासचिव र कोषाध्यक्षमा क्रमशः हिरा डंगोल र पुष्कर भण्डारी चयन भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा जगदीश पाण्डे, निली श्रेष्ठ, सामना घिमिरे, सचिन महर्जन, विक्रम शर्मा, दुर्गाप्रसाद भुर्तेल र हरिहर दाहाल छन् । त्यस्तै टोपराज गुरुङ, क्षितीज थपलिया, राज गुरुङ, मन्दिप गुरागाई, प्रमोद पौडेल, प्रभात अधिकारी र सुरेशप्रसाद ओझा पनि सदस्यमा निर्वाचित भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा पूर्ब अध्यक्षहरु आमोद पोखरेल, नवीन खनाल र विनीत शर्मा पदेन सदस्य रहनेछन् ।

दुई बर्षको नेतृत्व सम्हाल्ने अवसर पाएका खनाल हाल कम्प्युटर चिप्स निर्माता कम्पनी इन्टेलमा कार्यरत छन् । इन्टेलमा सन् २००८ देखि कार्यरत उनी त्यहाँ सिनियर डिजाइन इन्जिनियर हुन् । युनिभर्सिटी अफ टेक्सस अस्टिनबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पुरा गरेका उनी काठमाडौंस्थित सेन्ट जेभियर कलेजबाट १२ कक्षा उत्तिर्ण गरेपछि स्नातक अध्ययनको लागि अमेरिका आएका हुन् ।

खनालले क्यान युएसएमा एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

क्यान युएसए मार्फत अमेरिकामा रहेकामात्र नभएर अरु देशमा रहेका सूचना प्रविधिमा कार्यरतहरुबीच नेटवर्क विस्तारलाई समेत अघि बढाउने तयारी भएको छ । अहिले क्यान युएसएले नेपालमा संभाव्य क्षेत्रमा लगानीका बारेमा हरेक महिना एक पटक सिलिकन भ्यालीमा छलफल कार्यक्रम गर्दै आएको छ ।

क्यान युएसएमा अमेरिकाका बिभिन्न राज्यमा रहेका सूचना प्रविधिसँग निकट रहेका झण्डै तीनसय सदस्यहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री