माओवादी ‘पक्राउ, यातना र हत्यामा बेलायतको संलग्नता’

Kathmandu

सशस्त्र द्वन्द्वको समयमा नेपालका माओवादीलाई पक्रन, यातना दिन र हत्या गर्नमा बेलायती गुप्तचरहरु जानाजान स‌‌म्लग्न भएको खुलासा भएको छ।
नेपालको द्वन्द्वको बारेमा यही सेप्टेम्बर ४ मा काठमाड‌ौँमा सार्वजनिक हुन लागेको बेलायती पत्रकार लेखक थोमस बेलको पुस्तक ‘काठमाडौ’मा बेलायतले माओवादीविरुद्ध गुप्तचरी अपरेशन सञ्चालनको क्रममा चारवर्ष सहयोग गरेको उल्लेख छ ।
सन् २००२ बाट २००६ सम्म ‘अपरेशन मुस्ताङ’को नाममा भएको सो गतिविधिमा बेलायती गुप्तचर स‌स्था एमआइ सिक्सका एजेन्टहरु स‌म्लग्न भएको पुस्तकमा उल्लेख छ । सो अपरेसनका क्रममा माओवादीलाई पक्राउ गर्ने यातना दिने गरिएको थियो । यातनाका क्रममा कैयौँ मरेका किताबलाई उद्धृत गर्दै यहाँस्थित टाइम्स दैनिकले जनाएको छ ।
अपरेशन मुस्ताङको क्रममा सन् २००४ मा त्यस समयका माओवादीको काठमाडौ इन्चार्ज प्रशान्त भनिने साधुराम देवकोटा क्रममा पक्राउ परेको पुस्तकमा उल्लेख छ ।पक्राउ परेको ६ सातापछि देवकोटाले झ्यालमा झुण्डिएर आत्महत्या रहेको सेनाको भनाइ छ ।मानवअधिकारकर्मीहरुले उनको मृत्युलाई रहस्यमय भन्दै आएका छन् ।
‘सो अपरेशनमा संलग्न नेपाली सेना र गुप्तचार निकायका वरिष्ठ अधिकारीहरुका अनुसार बेलायती सहयोगले उनीहरुको काममा निकै सहयोग भएको र त्यसैको आधारमा करिब एक सयलाई पक्राउ गर्न सकिएको थियो,’ लेखक बेलले एएफपीसँग भनेका छन् ।
बेलायतको गुप्तचरी स‌स्था एमआइ सिक्सले चार वर्षसम्म माओवादीविरुद्ध सेफ हाउस सञ्चालन चलाउन रकम उपलब्ध गराएको, नेपाली सेना तथा गुप्तचार निकायलाई निगरानी र प्रतिविद्रोही रणनीति निर्धारण गर्न तालिम उपलब्ध गराएको सोही पुस्तकलाई उल्लेख गर्दै एएफपीले जनाएको छ ।
दस वर्ष चलेको माओवादी जनयुद्धको क्रममा १६ हजारभन्दा बढीको मृत्यु भएको छ।करिब १ हजार २०० अझै बेपत्ता रहेका छन् ।
सन् २००३ मा भैरवनाथ गणमा भएको एउटा घटनामा मात्र ४९ जनाको गैरन्यायिक हत्या भएको स‌युक्त राष्ट्रसँघको प्रतिवेदनमा उल्लेख छ ।
अपरेशनको क्रममा राष्ट्रिय अनुसन्धान विभाग भवनलाई गुप्तचारी उपकरण युक्त बनाउन सहयोग गरेको, सुरक्षा निकायका लागि छुट्टै सुरक्षित सञ्चार सञ्जालको निर्माण गरिदिएको, क्यामेरादेखि कम्प्युटर नाइट भिजन दुरविन लगायतका सामग्री उपलब्ध गराएको बेललाई नेपाली सुरक्षास्रोतले भनेको किताबमा उल्लेख छ । बेलायती गुप्तचार संस्थाका अधिकारीहरुले नेपाली सुरक्षाकर्मीलाई गुप्तचार उपकरण राख्ने, विद्रोहीको सञ्जालभित्र प्रवेश गर्ने र सुराकीको विकास गर्ने जस्तो विषयमा तालिम दिएका थिए ।
किताबमा कुरा गरिएका नेपाली सुरक्षा अधिकारीले बेलायती अधिकारीहरुको यातना हत्या आदिमा स‌ँलग्नताका बारेमा पुस्तकमा भनेका छन् – बेलायती भएका नाताले उनीहरुलाई मानवअधिकारका बारेमा पक्कै थाहा हुनुपर्छ तर उनीहरुलाई ब्यारेकभित्र के भइरहेको छ भन्ने पनि प्रष्ट थाहा थियो ।
बेलायती सहयोग काठमाडौँको तीन वटा घरमा रेडियो नेटवर्क राखेर सेफ हाउस सन्चालन गर्न पनि खर्च भएको बताइएको छ । जुन उपकरणहरु पछि चोरी भएको बहानामा अरु गुप्तचरलाई बेचिएको थियो ।
सशस्त्र द्वन्द्वको समयमा सुरक्षाकर्मी र विद्रोही दुवै हत्या, बलात्कार, यातना र वेपत्ता जस्ता गम्भीर मानवअधिकार उल्ल‌घनको घटनामा संलग्न भएको आरोप छ ।
नेपाली सेनाका महासेनानी कुमार लामामाथि बेलायतको अदालतमा मानवअधिकार उल्ल‌ङ्घनको मुद्दा चलिरहेको छ ।
बेलायतको विदेश मन्त्रालयका प्रवक्ताले गुप्तचारी विषयमा टिप्पणी नगर्ने बताएका छन् । तर उनले अपमानवीय नृश‌स र खराब व्यवहार वा दण्डलाई बेलायतले कहिले पनि उत्प्रेरित नगर्ने बताएका छन् ।
नेपाली सेनाका प्रवक्ताले पनि बेलायती सहयोगको बारेमा अनभिज्ञता प्रकट गरेका छन् ।
बेलायती पत्रकार बेलले नेपालमा १२ वर्ष बिताएका छन् । चार वर्षको अनुसन्धानपछि सो पुस्तक प्रकाशन भएको हो । पुस्तकको प्रकाशन रयाण्डम हाउस साउथ एसियाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री