शुक्रबार, वैशाख ६ २०७६ | Fri, April 19, 2019
नेपालको समय: ०४:४१ | UK Time: 23:56

सुनकोशीको पहिरोको त्रास अझै उस्तै

विनेपाली
२०७१ साउन १८ गते २१:२४
पहिरोमा शव खोज्दै प्रहरीहरु: फोटो रामहरि अधिकारी

पहिरोमा शव खोज्दै प्रहरीहरु: फोटो रामहरि अधिकारी

लण्डन । शनिबार राति आएको पहिरोका कारण सुनकोशी नदी थुनिएको, कैयौँ घर बगेको, सयौँको संख्यामा बेपत्ता बनाएको भन्ने समाचार सुन्ने बित्तिकै पीडितहरुलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो सल्लाह भयो । त्यसअनुसार राहत संकलन गरी आइतबार बिहान हामी कोटेश्वरबाट घटनास्थलमा गयौँ ।
घटनास्थलमा पुग्दा हामीले अनुमान गरेभन्दा बिल्कुल फरक स्थिति देख्यौँ । राजधानीबाट नजिक रहेको र मिडियाले क्षणक्षणको वस्तुस्थिति प्रचार गरिरहेको कारण उद्धार लगायतका कार्य व्यवस्थित होला भन्ने हाम्रो अनुमान थियो । तर स्थिति रहेछ विपरीत । त्यत्रो पहाड नै खसेको पहिरोमा पुरिएकाहरुको खोजबिन २०÷२५ जना प्रहरीले गर्दै थिए । उनीहरुसित उपकरणको नाममा थियौँ गैँती र गल । जबकि एउटा ढुंगा हटाउन ५/६ जना मान्छे चाहिन्छ । यान्त्रिक उपकरण र दक्ष जनशक्तिको अभाव प्रष्टै देखियो ।
उद्धार र राहत वितरणका लागि कुनै योजना देखिएन । प्रस्थान गर्नुअघि हामीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थियौँ । उनले भने – ‘राहत सामग्री केही पनि नल्याउनुहोला ।’ दैवी प्रकोपको उद्धारका लागि सरकारी निकाय पनि छ । त्यसका आप्mनै प्रक्रिया र तालिम प्राप्त जनशक्ति पनि छ । त्यसको परिचालनमा कुनै समन्वय भएको पाइएन । समन्वय कति अस्तब्यस्त थियो भन्ने दृष्टान्तका लागि म घटनास्थलमै भएको बेला उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम पनि त्यहाँ पुगेका थिए । उनलाई घटनाको रिपोर्टिङ गर्दै सिडिओले भने–‘त्यो फिस्टेलको हेलिकोप्टर कसले बोलायो कुन्नि घाइते त सबै लिएर गयो ।’

पहिरोले थुनेको सुनकोशीबाट अहिले यसरी पानी निकास हुदैछ: फोटो रामहरि

पहिरोले थुनेको सुनकोशीबाट अहिले यसरी पानी निकास हुदैछ: फोटो रामहरि

हामी पुग्दा पनि पहिरो झरिरहेकै थियो । पहिरोले अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध गरेकाले आवतजावत ठप्प छ । व्यापारिक नाका खासाबाट केही सामान काठमाडौँ जान पाएको छैन । पहिरोले बनाएको बाँध नाघेर पारिपट्टि जाने अवस्था छैन । अर्को कुरा, पहिरोले थुनेर बनेको तालमा करिब ७६ लाख घनमिटर पानी अहिले पनि जमेकै छ । पानी ठूलो परेको वा पहिरो थपिएको खण्डमा जुनसुकै बेला ताल विस्फोट हुनसक्छ ।
उपप्रधानमन्त्री गौतमलाई स्थितिका बारेमा जानकारी दिन पुगेका त्रिभुवन विश्वविद्यालय र खानी तथा भूगर्भ विभागका भूगर्भविद्हरुलाई मैले सोधेको थिएँ–‘तालको पानी फुट्नसक्ने खतरा कस्तो छ ?’ उनीहरुले चट्टान भएकाले स्वाट्टै पानी खोलिन सक्ने अवस्था नभएको बताए । तर मैले ‘ठूलो पानी प¥यो वा पहिरो फेरि झ¥यो भने के हुन्छ’ भनेर प्रतिप्रश्न गर्दा उनीहरुले उत्तर दिन सकेनन् । उनीहरुको अवस्था रत्नपार्कमा हात हेर्ने ज्योतिषीको भन्दा कत्ति पनि फरक थिएन ।
पहिरो र ताल जतिबेला पनि फुट्ने त्रास अहिले पनि उस्तै नै देखिन्छ । त्यसैले तलाउ मुनीतिरका बासिन्दाहरु रात काट्न डाँडाकाँडातिर लाग्दा रहेछन् । त्यहाँ उनीहरुलाई बस्नका लागि न टेण्ट छ न अन्य कुनै तदर्थ व्यवस्था ।
पहिरोमा परेर मृत्यु भएकामध्ये १० जनाको शब अहिलेसम्म प्राप्त भइसकेको छ । १५६ जना बेपत्ता भएको, २२ जना घाइते भएको ताजा विवरण छ । बेपत्ताहरुको शब फेला पर्न धेरै समय लाग्ने देखिन्छ । पहिरोले पुरेको क्षेत्रमा पुरिएका शबहरु गन्हाउन थालिसकेका छन् ।

हाम्रो सानो सहयोग: राहत लैजादै उद्दारकर्ताहरू

हाम्रो सानो सहयोग: राहत लैजादै उद्दारकर्ताहरू

अहिलेसम्म रेडक्रस वा अन्य कुनै संघसंस्थाबाट राहत सामग्री पुगेको देखिएन । उपप्रधानमन्त्रीले पनि हेलिकोप्टरबाट चक्कर लगाए । वास्तविक पीडितहरुको आवाज नसुनी फर्के । मैले भेट्दा उनी र उनीसितै रहेका सांसद नविन्द्रराज जोशीको शरीरमा कुनै हिलोमैलो देखिनँ । जबकि म पहिरोले पुरेको गाउँमा पुग्दा घुँडाघुँडासम्म गजगज हिलो थियो ।
(युके नेपाल मैत्री समाजका महासचिव तथा एक हजार ग्राजुयट अभियानका अभियन्ता अधिकारीसित नरेश खपाङ्गीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक