एमआरपी पाउन कुर्नुपर्यो नौ महिना

MRP-450x300
लण्डन । ‘सेवाग्राहीलाई सस्तो छिटो र गुणस्तरीय सेवा’ भन्ने गरिए पनि लण्डनस्थित नेपाली दूताबासबाट यन्त्रले पढ्न सक्ने (एमआरपी) राहदानी पाउन एक सेवाग्राहीले पूरा नौ महिना कुर्नु परेको छ ।
शुक्रबार राहदानी हात परेपछि प्रफूल्लित हुँदै ती सेवाग्राहीले वीनेपालीसित भनिन्, “पासपोर्टलाई पनि लड्डू खुवाउनुपर्छ कि जस्तो लागेको छ । नौ महिना तपस्या बसेको भए भगवानसित नै भेट हुन्थ्यो होला ।”
रेडिङ नजिक मेडेनहेडमा बस्ने ती सेवाग्राहीले सन् २०१३ को नोभेम्बर महिनाको तेस्रो सातामा दूताबासमा एमआरपी आवेदन दिएकी थिइन् । पहिलोपटक पासपोर्ट बनेर आउँदा उनको नामको स्पेलिङमा एउटा अक्षर गल्ती मुद्रण भएर आयो । राहदानी बुझ्दै नबुझी उनले त्रुटी भएको भन्दै तत्कालै सच्याइदिन फिर्ता गरिन् ।
दूताबासका कर्मचारीले नेपालमा राहदानी विभागमा संशोधनका लागि फोन गरी सकिएको बताउँदै डेढ महिनामा सच्चिएर आउने आश्वासन दिए । डेढ महिनापछि उनी फेरि पासपोर्ट आयो होला भन्दै दूताबासमा आइन् । तर कर्मचारीले भने, “अरु एक वा डेढ हप्तापछि पक्कै आउँछ ।”
यस्ता हप्ता र महिना उनले धेरै कुरिन् तर पासपोर्ट आएन ।
यसबीचमा उनको काम परिवर्तन गर्नपर्ने भयो । भिसा थप्नका लागि पासपोर्ट होम अफिस पठाउनुपर्ने भयो । तर पासपोर्ट उनीसित थिएन ।
उपाय खोज्दै जाँदा कसैले सोलिसिटर भेट्न सल्लाह दियो । सोलिसिटरको चर्को फीभन्दा सल्लाह महत्वपूर्ण थियो उनका लागि । सोलिसिटरले भने, “नेपाली दूताबासले एउटा चिठी लेखिदिए अहिलेलाई काम टर्छ ।”
दूताबास पुगिन् । तीन महिनामा पासपोर्ट आइपुग्ने ब्यहोराको चिठी लेखिदिए कर्मचारीले । त्यो बोकेर होम अफिस पुगिन् । भाग्य उनको बलियै रहेछ, भिसा थपियो ।
“ओहो यति डर त लागेको थिएन । कुरै नगर्नुहोस् । अरुभन्दा पनि भिसा नै एप्लाइ होला कि नहोला भन्ने डर थियो” उनले एक श्वासमा बेलिबिस्तार लाइन् ।
पासपोर्टको फलोअपमा मेडेनहेडबाट नेपाली दूताबाससम्म उनले चारपटक धाइन् । पिक आवरमा एकपटकको यात्राका लागि करिब २५ पाउण्ड भाडा लाग्छ । अनि विदाको चपेटा त अर्कै भइगो । फोनबाट गरिएको फलो अप त कति हो कति । “यति हैरान त भइनँ । गयो । ‘आको छैन’ भन्छन् । फोन मात्र उठाइदिएको भए पनि कति सजिलो हुन्थ्यो”, उनले एक भारी गुनासो पोखिन् ।
एक मिनेटको कामको लागि एक दिन जान्थ्यो उनको । धन्न रोजगारदाता जाति भएकाले काममा धेरै टोकाइ भने खानु परेन ।
महिनौँसम्म कोमामा पासपोर्ट रहँदा विकसित हुने मानसिक तनावको कुरै बेग्लै । सामाजिक सञ्जालमा पासपोर्टका लागि हुने झण्झटका बारेमा कसैले पोस्ट गरेको भेटिन् भने धित मरुञ्जेल कमेन्ट लेख्थिन् उनी । पंक्तिकारलाई औँल्याउँदै उनले भनिन्, “त्यतिखेर तपाई (पत्रकार)लाई भेटेको भए कति मेरो मन हलुंगो हुन्थ्यो होला ।”
डुब्न लागेको मान्छेको त्यान्द्रो सहारा भन्छन् । पासपोर्ट कुराइको यो अवधि एउटा नयाँ शिशु जन्मनका लागि पर्याप्त हुन्थ्यो होला । अफसोच उनको पासपोर्ट आएन ।
अधीर मन लिएर हिँडिरहेको बेला कसैले एनआरएनको सहयोग लिन सल्लाह दियो । फोन नम्बर खोजेर अध्यक्ष योगेन्द्र क्षेत्रीलाई समस्या सुनाइन् । क्षेत्रीले आफूले दूताबासमा भनिदिएको बताए । उनको मन शीतल भयो ।
एनआरएन अध्यक्षलाई उजुर गरेको एक महिना पछि उनको पासपोर्ट आयो । संयोग हो वा जस खान लेखेको । उनी भन्छिन्, “एनआरएनलाई नभनेको भए अहिले पनि पासपोर्ट आउँदैनथ्यो कि ?”
नयाँ पासपोर्ट भनौँ वा पुरानो हात पर्दा यसको छ महिना अवधि गुज्रिसकेको छ । समयमै एमआरपी बनाउन सुझाव दिन्छिन् उनी । एमआरपी ठीक्क आउला र भिसा थपौँला वा कतै जाउँला भनेर योजना बनाउँदा आफूजस्तै सास्ती भोग्नुपर्ला भन्छिन् उनी । यति मात्र कहाँ हो र ? उनी थपिछन्, “नबोल्नेलाई झन् धेरै गारो छ । मैले त यति कराएँ । मेरो भिसा थपिएन मने तिमीहरुले जिम्मा लिनुपर्छ भनेर धम्क्याएँ पनि ।”
छिटो सेवा दिन प्रतिवद्ध
लण्डनस्थित नेपाली दूताबासका कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री भने आफूहरु सकेसम्म छिटो सेवा दिन प्रतिवद्ध रहेको बताउन चुक्दैनन् । “मान्छे हो प्राविधिक गल्ती त भइरहन्छ । मुद्रण गल्ती हो भने विभाग (राहदानी) ले जिम्मा लिनुपर्छ । हामी सकेसम्म छिटो सेवा दिन प्रतिवद्ध छौँ” क्षेत्रीले वीनेपालीसित भने ।
एमआरपी सजिलो र सर्वसुलभ बनाउन आपूmहरु रातदिन काम गरिरहेको उल्लेख गर्दै उनले प्राविधिक गल्तीहरु हुन सक्ने तर आफूहरुको उद्देश्य कसैलाई अनावश्यक झण्झट दिने नभएको प्रष्टिकरण दिए । एनआरएन अध्यक्ष वा कसैले भन्दैमा एमआरपी छिटो ढिलो नहुने उनले स्पष्ट पारे ।
कसैको भिसा सकिन लागेको छ भने दूताबासले एक वर्षको अस्थायी पासपोर्ट दिनसक्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री