ज्यान जोखिममा राखी-राखी गर्भपतन गराउँछन् महिला

तस्बीर एजेन्सी

तस्बीर एजेन्सी

मीराले गर्भपतन गराएको चौथोपटक भयो।

पुतलीसडकस्थित मेरिस्टोप केन्द्रबाट बाहिर निस्किएकी मीरा यसका लागि आफ्नो लोग्नेलाई दोष दिन्छिन्।

‘मेरो पीडा लोग्नेले बुझ्दैनन्, पटक–पटक बच्चा फाल्दा ज्यान खत्तम भइसक्यो। गर्भ रोक्ने अस्थायी साधन लगाउँदा रगत बग्छ। अबुझ लोग्ने पाउँदा मैले ज्यादै दुःख पाएँ।’  

‘जन्माऊँ भने पनि लाजमर्नु। एकछिन बजारमा काम छ भनेर गर्भ फाल्न आएकी। म यहाँ आएको कुरा घरमा कसैलाई थाहा छैन,’ उनले भनिन्।

मीराका दुई छोरा र एक छोरीको बिहेवारी गरेर उनीहरूका समेत बच्चा भइसकेका छन्।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा वर्षेनी ९० हजार महिलाले गर्भपतन गराउन अनुमति प्राप्त संस्थाबाट गर्भपतन गराउने गरेका छन्। यसरी गर्भपतन गराउनेमध्ये केहीमा तत्कालै स्वास्थ्य समस्या देखिएको छ भने केहीमा पछि गएर पनि समस्या देखिन सक्छ।

 नेपालमा ०५९ मा विशेष अवस्थामा गर्भपतन गर्न पाइने कानुनी व्यवस्था भयो। यसअघि गर्भपतनलाई कानुनी मान्यता नदिएकाले महिलाले अनिच्छित गर्भ रहेका खण्डमा लुकिछिपी, असुरक्षित तरिकाले गर्भपतन गराउने गर्थे। यसो गर्दा कति महिलाको ज्यान गएको थियो भने कतिले प्रजनन् स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपरेको थियो।  कति ज्यान मुद्दामा जेल परेका थिए। नयाँ कानुनी व्यवस्थाले सुरक्षित गर्भपतन सेवा सर्वसुलभ गराई मातृमृत्यु र स्वास्थ्यसम्बन्धी जोखिम घटाउन मद्दत पुर्‍याउने आशा गरिएको थियो।

नयाँ कानुनी व्यवस्थाअनुसार सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अनुमति प्राप्त स्वास्थ्य संस्थामा अनुमति प्राप्त स्वास्थ्यकर्मीद्वारा गर्भवती महिलाको मञ्जुरी लिएर निश्चित अवस्थाका १२ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ।

 जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भपतन गर्न महिलाले लिखित मञ्जुरीनामा दिनुपर्छ। गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रूपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलाङ्ग बच्चा जन्मन सक्ने अवस्थामा योग्यता प्राप्त चिकित्सकको रायले जुनसुकै अवधिको गर्भ पनि पतन गर्न सकिन्छ।

यदि महिला १६ वर्षमुनिकी भएमा वा होस्हवास गुमेकी अवस्थाकी भए गर्भपतन गराउन चाहेको नजिकको नातेदारको मञ्जुरीनामा चाहिन्छ। गर्भवती महिलाको स्वीकृतिबिना (करकाप, धम्की, ललाइफकाई, झुक्याई वा प्रलोभनमा परेमा) भ्रुणको लिङ्ग पहिचान गरी गर्भपतन गराउँदा भने अहिले पनि सजाय हुन्छ।

 ‘गर्भपतन गराउँदा पाठेघरमा क्षति पुग्छ, बाँझो हुने समस्या आउन सक्छ, घाउ भएर पछि क्यान्सरसम्म हुन सक्छ र ज्यानै पनि जान सक्छ भन्नेबारेमा महिलाले ज्ञान राखेको देखिँदैन। महिलाको सबैभन्दा ठूलो धन पाठेघर हो, यसको क्षति हुँदा महिलाले जीवनभरि दुःख–कष्ट भोग्नुपर्छ,’ हर्मन विशेषज्ञ डा. उमा श्रीवास्तव भन्छिन्।

उनका विचारमा गर्भ रहन दिएर पछि गर्भपतन गराउनुभन्दा अहिले गर्भ रोक्ने अस्थायी साधनको उपयोग गर्नु राम्रो हुन्छ। उनी भन्छिन्, ‘यसलाई सजिलो उपायका रूपमा लिनुहुन्न, गर्भपतन गराउनु स्वास्थ्यका लागि राम्रो होइन।’  

गर्भपतन जतिसुकै सुरक्षित तरिकाले गराए पनि गर्भपतन गराइमाग्ने महिलाले त्यसबाट शारीरिकका साथै मानसिक समस्या भोग्नुपर्ने हुन सक्छ। गर्भपतनका विषयमा चासो राखिरहेका पत्रकार निमेश रेग्मी भन्छन्, ‘आफूले नचाहेको गर्भपतन गर्न पाउनु महिलाको अधिकार हो। महिलालाई बच्चा जन्माउन इच्छा नलागेमा सूचीकृत स्वास्थ्य संस्थाबाट महिलाले गर्भपतन गराउन पाउँछन्।’ 

 स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा मातृत्व कार्यक्रमका फोकल पर्सन डा. शिलु अर्यालका अनुसार गर्भपतन दुई तरिकाले गर्न सकिन्छ– सर्जिकल अर्थात् चिरफार गरेर र मेडिकल अर्थात् औषधिको उपयोग गरेर। सर्जिकल माध्यमबाट गर्भपतन गर्दा बाँझोपना हुने, तल्लो पेट दुख्ने, कतिपय अवस्थामा आन्द्राभँुडीसमेत तानिने समस्या देखिएका छन् भने मेडिकल माध्यमबाट गर्भपतन गर्दा धेरै रगत बग्ने खतरा हुन्छ।

 स्वास्थ्य सेवा विभागका वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष ०६६/६७ देखि ०६९/७० सम्मका चार वर्षमा गर्भपतन गराउँदा ६ हजारभन्दा अलि बढी महिलाले विभिन्न किसिमका समस्या भोग्नुपरेको थियो। स्वास्थ्य सेवा विभागले गर्भपतन गर्ने कामलाई अन्तिम उपायका रूपमा मात्र लिनुपर्छ भनी जोड दिइरहेको छ।   डा. शिलु अर्याल भन्छिन्, ‘गर्भनिरोधका लागि महिला र पुरुषले गर्भ रोक्ने अस्थायी साधन प्रयोग गर्नुपर्छ। ९९ प्रतिशत मानिसलाई अस्थायी साधनबारे थाहा छ। हामीले अस्थायी साधनको प्रयोग गरौँ, गर्भपतन गर्ने कामलाई निरुसाहित गरौँ भनेर सबैलाई सचेत गराइरहेका छौँ।   

नेपाल परिवार नियोजन सङ्घले ०१६ देखि गर्भनिरोधका उपाय सम्बन्धमा काम गरिरहेको छ। सो संस्थाका अनुसार नेपालमा महिला र पुरुष दुवैका लागि स्थायी बन्ध्याकरणको व्यवस्था छ भने पुरुषका लागि कण्डम र महिलाका लागि तीनमहिने सुई, पिल्स, पाठेघरमा राख्ने कपर्टी उपलब्ध छन्।

यौनसम्पर्क भएको ७२ घन्टाभित्र उपयोग गरिसक्नुपर्ने इकोनजस्ता सुविधा छन्। यी सुविधा हुँदाहुँदै पनि विशेष अवस्थामा ७५ जिल्लाकै सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउन सकिने व्यवस्था छ। तर पनि धेरै किशोरीले तत्कालै बच्चा जन्माउँदा आफ्नो प्रगति रोकिन्छ भनेर जान्दाजान्दै पनि गर्भनिरोधका अस्थायी साधन उपयोग नगरेर गर्भ रहिसकेपछि गर्भपतन गराउने गरिरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री