आफन्तले नै बेच्छन् चेलिबेटी

Stop-Girl-trafficking

कैलाली लम्कीकी गीताको ०५९ मङ्सिरमा बिहे भयो।

त्यही वर्षको चैतमा उनका श्रीमान् र जेठानी नाता पर्नेले उनलाई भारत लगे। त्यहाँ जेठानी नाता पर्नेले औषधि खुवाएपछि गीता बेहोस भइन्।

होसमा आउँदा श्रीमान् र जेठानी दुवै थिएनन्। उनीहरू मलाई ५० हजार भारुमा बेचेर गइसकेका रहेछन्,-माइती नेपालको सहयोगमा भारतबाट उम्किएर नेपाल आएकी गीताले भनिन्। माइती नेपाल कैलालीका कार्यक्रम संयोजक शिवचरण चौधरीका अनुसार सुदूरपश्चिमका कञ्चनपुर र कैलाली नाकाबाट महिलालाई विदेश लगी बेचिने क्रम बढ्दो छ।
माइती नेपालको कैलाली पोस्टका अनुसार सन् २०१० यता सो संस्थाले नेपालबाट भारतमा बेचिएका दुई सय ५१ महिलालाई भारतबाट उद्धार गरेको थियो। यो मात्रा वर्षेनी बढ्दै गएको सो संस्थाले जनाएको छ।

२०१० मा ५९ जनाको उद्धार गरिएकोमा २०१३ मा एक सय एकजनाको उद्धार गर्नुपरेको थियो। २०१४ को पाँच महिनासम्ममा सो संस्थाले ५६ महिलाको उद्धार गरिसकेको छ। यसैगरी शान्ति पुनर्स्थापना गृहले आ।व। ०६७/६८ मा ३६, ०६८/६९ मा १० र ०६९/७० मा २६ जना महिलाको उद्धार गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीले ०६८ / ६९ मा तीनजना, ०६९ र/७० मा १७ जना र ०७०/ ७१ मा १४ जनाको उद्धार गरेको थियो।

जानी-नजानी आफन्तले नै पैसाको प्रलोभनमा परी मानव बेचबिखन गर्ने कुरा विडम्बना हो,- कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक भन्छन्।

बितेका चार वर्षमा तीन सय ३८ महिला हराएको भनी माइती नेपाल कैलालीमा उजुरी परेका छन्। माइती नेपालका अनुसार हराएकामध्ये दुई सय ३२ जना फेला परे। यसरी फेला परेकामध्ये ९० प्रतिशत महिला श्रीमान्, बाबुआमा, दाजुभाउजू, मामा र फुपूजस्ता आफन्तबाट बेचिएका थिए। केही महिला भने बेचिनबाट उम्कन सकेका छन्।

कैलालीकी सानु जोशी बम्बैमा आफ्नै श्रीमानले बेच्न लागेको थाहा पाएपछि भाग्न सकिन्। बेचिएका कति महिला बेपत्ता हुन्छन्। कैलालीकी मधु भट्ट आफ्ना लोग्नेसँग भारत गएकी थिइन्। तर, उनका लोग्ने एक्लै घर फर्केपछि मधुका आमाबुबाले मधुको खोजबिन सुरु गरे। मधुका लोग्नेले प्रहरीसमक्ष आफ्नी श्रीमतीलाई भारतको राजस्थानमा बेचेको स्वीकार गरे। भारतीय प्रहरी र माइती इन्डियाले खोजतलास गर्दा पनि मधु आजसम्म भेटिएकी छैनन्।

यसरी बेचिएका धेरै महिलालाई भारतमा यौन-व्यवसाय गर्न बाध्य पारिन्छ। नुवाकोटकी रमिला क्षत्रीले भनिन्, -सुरुमा त म यस्तो काम गर्न मानिनँ। तर पछि यातना सहन नसकेर गर्नैपर्ने भो।

रमिलाका अनुसार त्यहाँ उनले दिनमा २० देखि २५ जनासँग यौनसम्बन्ध राख्नुपर्थ्याे।

चेलिबेटी बेचबिखनविरुद्ध पाँच वर्षदेखि काम गर्दै आएको संस्था शान्ति पुनर्स्थापना गृह कैलालीका कार्यक्रम संयोजक वासुदेव भट्टराईका अनुसार सुदूरपश्चिमका केही नाका प्रयोग गरी भारत हुँदै खाडी मुलुकसम्म चेलिबेटी बेचबिखन गर्नमा दलालको सञ्जाल सक्रिय छ। माइती नेपाल कैलालीमा विगत १० वर्षदेखि सीमा निगरानीकर्ताका रूपमा काम गर्दै आएकी पशुपति कुँवर बेच्न लगिएका महिला सहजै पत्ता लगाउँछिन्।

बेच्न लगिएकी महिलासँग झोला हुन्छ, रिक्सामा एक्लै वा दुई महिला रहेमा उनीहरू परैदेखि डराएका हुन्छन्, रिक्सा रोक्न लगाउँदा नरोक्न खोज्छन्। आफ्नाबारेमा बताउँदा अकमकिन्छन्,-उनले भनिन्। भट्टराईका अनुसार दलालले किशोरी वा उनीहरूका आफन्तलाई पैसा वा राम्रो कामको लोभ देखाएर कलिला बालिका र किशोरी बेच्न लान्छन्।

पहिले नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, धादिङ र मकवानपुरमा यस्तो समस्या थियो, तर अहिले प्रायः सबै जिल्लामा मानिस बेच्ने दलाल फैलिएको कुरा मानव बेचबिखनविरुद्ध काम गर्ने सङ्घसंस्थाका मानिस बताउँछन्।

धेरै महिला बेचबिखन हुने गरे पनि थोरै घटना मात्र अदालतमा पुगेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मानव बेचबिखन तथा ओसारपसारविरुद्ध ०६७/ ६८ मा पाँच, ०६८ /६९ मा ६ र ०६९ /७० तथा ०७०र७१ मा एक-एकवटा मुद्दा जिल्ला अदालतमा दायर गरिएका थिए।

सरकारी वकिल कार्यालय कैलालीका प्रमुख धु्रवकुमार चौहानका अनुसार मानिस किन्ने र बेच्नेलाई २० वर्ष कैद र दुई लाख जरिवाना, वेश्यावृत्ति गर्न लगाउनेलाई १० वर्षदेखि १५ वर्ष कैद र ५० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था छ। किन्ने-बेच्ने व्यक्ति तथा वेश्यावृत्ति लगाउने व्यक्ति एउटै भएमा छुट्टाछुट्टै सजाय हुने व्यवस्था छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले यो ऐनअनुसारको कसुर गरेको छ भने उसलाई २५ प्रतिशत थप सजाय हुन्छ। यस्तै गरी, अभिभावक वा मुलुकी ऐनको हाडनाता करणी महलअनुसार हाडनाता पर्ने व्यक्तिले यो ऐनअनुसारको कसुर गरेको रहेछ भने उसलाई १० प्रतिशत थप सजाय हुन्छ।

अदालतमा परेका मुद्दामा पनि सबै अभियुक्तले सजाय पाउँदैनन्। आफ्नै श्रीमानले बेच्न लागेको थाहा पाएर बम्बैबाट भागेर आएकी कैलालीकी सानु जोशीले आफूलाई बेच्न खोज्ने लोग्नेविरुद्ध मुद्दा दिइन्। जिल्ला अदालतले उनका लोग्नेलाई आठ वर्ष कैद सुनाएको थियो। पुनरावेदन अदालतले अभियुक्तलाई सफाइ दियो। हाल सो मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ।

आफन्तबाटै बेचिएका कतिले आफन्तका विरुद्ध मुद्दा दिँदैनन्, दलालका विरुद्ध मात्रै दिन्छन्। स्थानीय प्रशासनले बेचबिखनजस्ता जघन्य अपराध हुन नदिन सीमा नाकालाई अझ कडा र व्यवस्थित पार्ने जनाएको छ। तर, प्रजिअ लेखकका विचारमा यसका विरुद्धमा महिला नै सचेत र सजग हुनु आवश्यक छ।

महिला तथा बालबालिका कार्यालय कैलालीकी महिला विकास अधिकृत हरिप्रिय बमका विचारमा गरिब परिवारका महिलालाई दलालले फसाउने गरेकाले उनीहरूमा चेतना जगाउने, महिलाको क्षमता बढाउने र उनीहरूका लागि रोजगारीका अवसर जुटाउने काम गरेका खण्डमा मात्र महिलालाई बेचिनबाट जोगाउन सकिन्छ।

कैलालीका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउद बेचिनेमध्ये धेरैजना बालिका भएकाले कक्षा आठदेखि १० सम्म थोरै मात्र भए पनि मानव बेचबिखनसम्बन्धी जानकारी दिन सकिए चेतना बढ्छ भन्छन्। यस क्षेत्रमा काम गर्ने संस्थाले प्रत्येक स्कुलमा मानव बेचबिखनसम्बन्धी जानकारी दिएमा यो समस्या कम हुन्छन्,- उनी भन्छन्।

पात्रका नाम फेरिएका छन । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री