चार पटक स्थगित नेविसंघको महाधिवेशन होला?

नेपाली कांग्रेसका भ्रातृ संगठन नेविसंघ भदौ अन्तिम साता ११ औं महाधिवेशनमा गर्ने तयारीमा जुटेको छ । औपचारिक रुपमा चार मिति घोषणा हुदै स्थगित भएपछि राजनीतिक वृत्तमा नेविसंघको महाधिवेशन मजाकका विषय बन्न पुगेको छ । नेवि संघका प्रवक्ता युपी लामिछाने यसपटक महाधिवेशन निर्धारित समयमै हुने बताउँछन् ।
‘यसपटक निर्धारित मितिमै महाधिवेशन हुने छ । यसपटक पार्टीका नेताहरुले महाधिवेशन निर्धारित मितिमै गराउन गम्भीर भएर लाग्नु भएको छ,’ लामिछानेले भने, ‘सबै जिल्ला र क्याम्पस विवाद समाधान गरेर महाधिवेशनमा पुग्ने तयारीमा छौ । अधिवेशन हुनै नसकेका जिल्ला र क्याम्पसलाई छाडेर भए पनि महाधिवेशन हुन्छ ।’ महामन्त्री प्रकाशमान सिंह नेविसंघको महाधिवेशनलाई प्रतिष्ठाको विषय बनाउँदै तयारीमा जुटेका छन् । NSU-Flag
लामिछानेले नेविसंघको सोमबारसम्ममा ६३ जिल्लाको अधिवेशन सकिएको बताए । रामेछाप, पाल्पा, रुपन्देही, बैतडी, बारा, पर्सा, भक्तपुरसहितका जिल्लामा नेविसंघको आन्तरिक विवाद छ । त्यस्तै, अमृत साइन्स, सरस्वती, पद्मकन्यासहितका क्याम्पसमा पनि आन्तरिक विवादले अधिवेशन हुन सकेको छैन । आन्तरिक विवादका कारण यसअघि चारपटक घोषणा भएको मितिमा नेविसंघको महाविधेशन हुन सकेको थिएन । नेविसंघको २०६४ जेठपछि महाधिवेशन भएको छैन । २०६८ माघमा पार्टीले रञ्जित कर्णलाई अध्यक्ष बनाउँदै ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी दिएको थियो । पार्टी केन्द्रीय समितिले २०६८ असोज ३ गते छवटै भ्रातृ संगठन विघटन गरेको थियो । र, चार महिनापछि माघ २२ गते महाधिवेशन आयोजक समिति संयोजक तोकिएको थियो ।
राजधानीको वाल्मीकि क्याम्पसमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले संघको ११ आंै महाधिवेशन भदौ २९ गते उद्घाटन गर्नेछन् भने बन्दसत्र केन्द्रीय क्याम्पस कीर्तिपुरमा हुने लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री