चिकित्सक नपाउँदा अस्पताल आफैँ थलियो

सर्लाही । पर्याप्त चिकित्सक नहुँदा बिरामीको उपचार गर्ने सर्लाहीको सदरमुकाम मलङ्गवास्थित पुरानो एवम् सरकारी अस्पताल आफैँ थलिने अवस्थामा पुगेको छ ।
कम्तीमा पाँच चिकित्सक हुनुपर्ने अस्पतालमा विगत पाँच-छ महिनादेखि दुई चिकित्सक मात्र कार्यरत छन् ।
विगत पाँच/छ महिनादेखि अस्पतालमा दुईजना मात्र चिकित्सक छन् -हाल सर्लाही अस्पतालको प्रमुखका रूपमा कार्यभारसमेत सम्हालिरहेका चिकित्सक प्रल्हाद अधिकारीले भने-जिल्ला अस्पतालमा कम्तीमा पनि पाँच चिकित्सक हुनुपर्ने हो ।
अस्पतालमा दैनिक ओपिडीमा सय, आकस्मिक २०-२५, प्रसूतिमा चार-पाँच, सर्पदंश लगायतका बिरामीको चाप रहने भएकाले दुई मात्र चिकित्सक हुँदा उपचार सेवाका लागि निकै समस्या परिरहेको चिकित्सक अधिकारीको कथन छ ।
दुईवर्षे करारमा स्वास्थ्य मन्त्रालयबाट नियुक्ति लिई सर्लाही अस्पतालमा खटिएका अधिकारी र अर्का एक चिकित्सकको करार सकिन एक महिना मात्र बाँकी छ । केही दिनअघि आएका तीनजना चिकित्सक एक दिन पनि नबसी मन्त्रालयको नियुक्तिपत्र बुझाएर मात्र फर्किएको चिकित्सक अधिकारीले बताए । गत भदौ ११ गते दुई तथा भदौ १३ गते एक चिकित्सक हाजिर हुन आए र हाजिर भएकै दिन फर्के उनीहरू फेरि फर्केका छैनन्-अधिकारीले भने ।
पन्ध्र शैय्याको अस्पतालले ५५ शैय्याको स्वीकृतिसमेत पाइसकेको र त्यसका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । १५ शैय्याको अस्पताल हुँदा कम्तीमा पाँच चिकित्सक तथा ५० शैय्या क्षमताको हुँदा १५ जना चिकित्सक हुनुपर्ने जानकार बताउँछन् ।
प्रचलनअनुसार स्थायी दरबन्दीका चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट प्रमुख हुनुपर्ने भए पनि १० महिनादेखि सर्लाही अस्पतालले त्यस्तो प्रमुख पाउन सकेको छैन ।
सर्लाही अस्पतालमा पर्याप्त चिकित्सक ल्याउनका लागि आफूले स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला विभिन्न निकायमा प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले बताए । सर्लाही अस्पताललाई चिकित्सकीय एवम् भौतिक पूर्वाधारको हिसाबले सुविधा सम्पन्न बनाउनका लागि अथक प्रयास गरिरहेको छु – प्रजिअ पोखरेलले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री