ओहो शहरतिर कति विघ्न नेपाली कलाकार

 

10628083_893271967367608_7838661783110663668_n

लन्डन । चाडपर्वको आगमन शुरु भइसकेको छ । र, यो माहोलमा बेलायत शहरतिर नेपाली कलाकारहरु यत्रतत्र छन् । तीजदेखि शुरु भएको कलाकारहरुको बेलायत आगमन दशैं पूर्व सन्ध्यासम्म खुबै बाक्लिएको छ ।

तीजका बेला लोकगायक पशुपति शर्मा र जमुना सनम गुल्मेलीको निम्तोमा यहां आएपछि कलाकारहरुको यूके आगमन शुरु भएको हो यस वर्ष । यतिखेर गायक प्रमोद खरेल, गायिका सिन्धु मल्ल, हांस्य कलाकारहरु सन्तोष पन्त र सिताराम कट्टेल (धुर्मुस्) शो गर्न बेलायतमा छन् । डिएसआइ इन्टरटेनमेन्टको निम्तोमा बेलायत आएका उनीहरुले पहिलो शो अल्डरसटमा भ्याए, अनि आसफोर्डपछि आज शुक्रबार बेजिङस्टोक र भोलि ह्यारो लिजर सेन्टरमा छ कार्यक्रम ।

उता, डान्स इण्डिया डान्सकी विजेता नेपाली किशोरी तेरिया मगर पनि बेलायत आउंदै छिन् आगामी साता । तेरियाले आगामी १३ सेप्टेम्बरमा रिभरमेड लिजर सेन्टर रेडिङ र १४ मा ह्यारो लिजर सेन्टर लन्डनमा हुने दशैं मेघा इभेन्टमा नृत्य देखाउने कार्यक्रम छ । एक शोमा उनले ५ वटा जति नृत्य प्रस्तुत 
गर्ने आयोजकले जनाएका छन् । तेरियालाई गायकहरु हेमन्त राना र मिलन लामाले समेत साथ दिनेछन् ।

आयोजकमध्ये एक एभरेष्ट मनी एक्सप्रेसका मुछेत्र गुरुङले इण्डियामा डान्स प्रतियोगिता जितेर तेरियाले नेपाल र नेपालीलाई विश्वभर चिनाए वापत सम्मान दिन शो गरिएको प्रष्ट्याए । तेरिया सहभागी दुई शोबाट आउने मुनाफामध्ये दश प्रतिशत कास्की धम्पुसस्थित उदय मा.वि. र सुनकोशी बाढी पीडितको सहयोगार्थ खर्चने प्रतिवद्धता आयोजकको छ । कार्यक्रम मुछेत्र गुरुङ, कमल गुरुङ, गणेश गुरुङ, नवीन गुरुङ र मिलन गुरुङले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

चाडवाडका बेला कलाकार किन विदेश ओइरिन्छन् ? हाल बेलायतमा रहेका गायक प्रमोद खरेलको जवाफ छ, विदेशमा कमाइ राम्रो हुन्छ, नयां नयां शहर घुम्न र 
आफ्ना फ्यानसंग प्रत्यक्ष साक्षात्कार गर्न पाइन्छ । अधिकांश कलाकारहरुको उद्देश्य यो भन्दा एकप्रतिशत पनि भिन्न छैन् । हालै मात्र २९ दिनमा पैंतीस गीत रेकर्ड गर्न सफल प्रमोदलाई नेपालमै गज्जबको कमाइ छ । मिडियाले बेला बेला सबैभन्दा बढि कन्सर्ट गर्ने र कमाउने गायक भनेर लेखेका पनि छन् । प्रमोदकै गीत अचेल रेडियो, टिभीतिर सर्वाधिक बज्छन् ।

तर, नेपाल र विदेशमा नियमित कन्सर्ट गरिएन भने टिकिरहन असम्भव देख्छन् प्रमोद । अहिले आरबीटी विक्री प्रचलनले केही राहत दिएपनि नेपालमा सिडी बेचेर बांच्ने चलन अब एकादेशको कथा भइसकेकाले विदेश गइरहनुपरेको वाध्यता उनले सुनाए । प्रमोद यूके कन्सर्ट सकेर सिधै दक्षिण कोरिया जांदैछन् भने मिलन लामा अमेरिका उड्ने कार्यक्रम छ ।

यही आइतबार र सोमबार स्थानीय गायिका सितु खरेलले गर्न लागेको सितु सांझमा भाग लिन संगीतकार न्ह्यू बज्राचार्य बेलायत आइसकेका छन् । नेपालका अपाङ्गता भएका बालबालिकाको सहयोगार्थ ७ तारिख प्रिन्सेस हल, अल्डरसट र ८ मा ग्रीनफोर्ड टाउन हलमा हुने उक्त कन्सर्ट बिबिसी सञ्चारकर्मी सुमन खरेलले सञ्चालन गर्नेछन् ।

धर्मेन्द्र सेवान, राजु लामाले गत २९ अगष्टमा कोरोनेट थिएटरमा  एउटा कन्सर्ट गरे । यतै रहेका प्रशान्त तामाङ  र मनोज गजुरेललाई लिएर हिमाल सांझ गर्ने तयारी समेत छ । धेरै कार्यक्रम हुंदा यसको गुणस्तरियता र दर्शक सहभागिताबारे भने प्रश्न उठ्दै आएको छ ।

कलाकारहरुको यो ओहोरदोहोर बल्ल शुरु भएको छ, तिहारसम्म अरु कयौं कलाकार बेलायतमा भेटिए नौलो नमाने हुन्छ ।

10653479_893272900700848_8827166132326606543_n

Pramod

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री