परोपकारी परदेशी

 

SUMAN KHAREL

नेपालको कुनै गाउँमा आगलागी होस् वा बाढी पहिरोको मार परोस्, चाहे क्रिकेट कप्तान पारस खड्का आउन् वा समाजसेवी दिक्षा चापागाई, बेलायतमा रहेका अधिकांश नेपालीहरु सहयोग जुटाउन तत्पर हुने गर्दछन्। चाहे जिल्लामा एम्बुलेन्स प्रदान गर्न होस् वा विद्यालय बनाउन होस्, परदेशी नेपालीका हातहरु अघि बढी हाल्छन्। कहीं कोही मर्दा होस् वा कहीं केही पर्दा होस्, विभिन्न कारणले परदेशमा रहेका नेपालीहरु सहयोग पु-याउन पछि परेका छैनन्।
बेलायत मात्र होइन, खाडी राष्ट्रहरुदेखि लिएर युरोप, अमेरिका, इजरेल र अष्ट्रेलियासम्म दर्जनौं देशमा छरिएका नेपालीहरुमा प्रचुर मात्रामा परोपकारी भाव भेट्न सकिन्छ। तर आफु धेरै बर्षदेखि बेलायतमा बस्दै आएकोले बेलायतमा विद्यमान त्यही भावनालाई नियाल्न खोज्दैछु।
नेपालमा सुस्त मनस्थितिका बालबालिकाहरुको हेरचाह गर्न काभ्रेपलान्चोकमा सुधा सिलवाल, ललितपुरमा दयाराम महर्जन र चितवनमा विमला श्रेष्ठले संचालन गर्दै आएको तीन वटा संस्थालाई सहयोग जुटाउन सेप्टेम्बर महिनाको पहिलो साता बेलायतको अल्डरशट र ग्रीनफोर्डमा गरी गायिका श्रीमती सितु खरेलको दुई वटा एकल सांगीतिक साँझको तयारी गर्ने क्रममा धेरै मनकारीहरु भेटें, जसको मन र हात पनि संधै परोपकारको लागि अघि सर्छन्। यो भावनामा सहयोग पु-याउन नेपालबाट बरिष्ठ कलाकारहरु न्ह्यू बज्राचार्य र प्रभुराज ढकाल आउने छन् भने बृटेन, अमेरिका, कंगो, भारत र नेपालका संगीतज्ञहरु सम्मिलित क्रस कल्चरल ग्लोबल म्युजिकल ग्रुपले कार्यक्रमको शोभालाई अझ बढाउने अनुमान छ।
बोल्न सक्नेले त पढेर, अन्तर्वार्ता दिएर जागीर खाला, हातगोडा चल्नेले पाखुराको भरमा जीवन अघि बढाउला। तर जो बोल्न सक्दैन, हिंडडुल गर्न सक्दैन, जसलाई हेर्न राष्ट्र अघि बढ्दैन, त्यस्ता बालबालिकाको भविष्य कस्तो होला ? ती बालबालिकाका आमाबाबुका जीवनभरीका कठिनाईहरु कस्ले बुझ्ने? त्यस्ता अनेक बालबालिकालाई आफ्नै घर, समाज, देश र विदेशमा देख्दा यस्तो लाग्छ, कतै भगवानले पनि कुनै पाप गरेका त होइनन्? तर पीडा मात्र बोकेर मानिसको जीवन चल्न गाह्रो हुन्छ। पीडालाई पुण्यमा परिणत गर्न सके जीवन बाँच्न अलि सजिलो हुन सक्छ। नेपालका त्यस्तै केही बालबालिकाहरुलाई सानो सहयोग जुटाउन सके, उनीहरुको अनुहारमा अलिकति भए पनि खुशी थप्न सके आत्मसन्तुष्टि मिल्ने थियो भन्ने हेतुले यी कार्यक्रमहरु आयोजना हुन लागेका हुन्।
परोपकारी संघसंस्था
बेलायतमा अध्ययन गर्न आएका केही बिद्यार्थीहरुले सन् १९६० मा पशुपति शम्सेर राणाको अध्यक्षतामा स्थापना गरेको यती नेपाली एसोसिएसन यु.के. नै यहाँको सबभन्दा जेठो नेपाली संस्था हो। सन् २००० अघि बेलायतमा नेपालीहरुको संख्या त्यति ठूलो थिएन। संघ संस्थाहरु पनि कमै थिए र परोपकारी कामहरु पनि कमै हुने गर्दथे।
गैर आवासीय नेपालीहरुको संगठन एनआरएनएको परिकल्पना रुसमा भए पनि त्यसलाई जन्म दिएर न्वारन गर्ने काम सन् २००३ मा बेलायतमै भएको थियो। केही जोशीला युवाहरुले सन् १९९९ मा लण्डनमा स्थापना गरेको हेल्प नेपाल नेटवर्क पनि अहिले देशमा अनेकौं परोपकारी कार्यहरुमा सक्रिय रुपमा लागि रहेको छ। परोपकारी राष्ट्र बेलायतमा यसरी अनेकौं नेपाली परोपकारी संघसंस्थाहरुको जन्म भएको छ।
भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारको बेलायत आगमन पछि नेपाली संघ संस्थाहरुको संख्यामा उल्लेख्य बृद्धि हुन पुग्यो। गाउँको, जिल्लाको, पल्टनको, जातिको, धर्मको, पेशाको, कला-साहित्यको, राजनैतिक आस्थाको, महिलाको, बेलायतका विभिन्न क्षेत्रको अनि यदाकदा विशुद्ध सामाजिक उद्देश्य बोकेका संघसंस्थाहरु एक पछि अर्को खुल्दै गए। यस्तो लाग्छ यो एउटा अभियानकै रुपमा अघि बढी रहेकोछ, एउटा होड नै चली रहेकोछ। अहिले बेलायतमा ३०० भन्दा बढी नेपाली संघसंस्थाहरु रहेको अनुमान छ।
नेपालमा राजनैतिक दलहरु फुटे र जुटे झैं यहाँका संघ संस्था र समाजहरु पनि बेलाबखतमा फुट्ने र जुट्ने गर्छन्। कुनै संस्थाको अध्यक्ष हुन मान्छे नै पाइन्न, कुनै संस्थाको अध्यक्ष बन्न टाउको फोडाफोड गर्नु पर्ने जस्तो अवस्था पनि आएकै छ। गैर आवासीय नेपाली संघ एनआरएन युके नै अहिले दुई समूहमा विभाजित भई सत्तारुढ दल र प्रतिपक्षी दलको जस्तो ब्यवहारमा दोहोरी खेली रहेको छ । तैपनि जब समाज सेवाको कुरा आउँछ, भिन्दा भिन्दै कार्यक्रमहरुमा भए पनि यी संघसंस्थाहरु भेला हुन्छन् र त्यहाँ संकलित रकमको लाभ नेपालकै गाउँ समाज, दीनदुखी र पीडितहरुले पाउने गर्छन्।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री भन्छन्, “बेलायतमा बस्ने नेपालीहरुको पहिलो पुस्ता भएकाले उनीहरु आफ्नो भाषा, साहित्य, कला, संस्कृति भेषभूषा जोगाउनु पर्छ भन्ने भावना राख्दछन्। लण्डन दूतावासमा हरेक सप्ताहअन्त्यमा त्यस्तै उद्देश्यका पाँच/सात वटा कार्यक्रमका लागि निमन्त्रणा प्राप्त हुन्छ। प्राय: नेपालमै हुर्केर बढेर आएको यो पुस्तामा संगठित भएर मातृभूमिको लागि केही गरौं भन्ने सोच प्रशस्त मात्रामा भेटिन्छ।”
अक्सफोर्ड विश्वविद्यालयमा कार्यरत समाजशास्त्री डा.कृष्ण अधिकारीको भनाइमा देशबाट टाढा भए पछि मानिसहरुमा सामूहिक भावनाको अभिबृद्धि हुन पुग्छ, शारीरिक रुपमा पर भए पनि मानसिक रुपमा देशको नजिक हुन पुगिन्छ। कास्की जिल्लाको आफ्नो गाउँको बिद्यालयमा संगै बाल्यकाल बिताएको र अहिले बेलायतमै रहेका एक मित्रको उदाहरण दिंदै डा.अधिकारी भन्छन्, “उसले एसएलसी पनि पास गर्न सकेन। पोखरामा गलत केटाहरुसित हिंड्थ्यो। परिवारसंगै बेलायत पसे पछि राम्रै उन्नति गरी राखेको छ। छोराछोरी पनि राम्ररी पढी राखेका छन्। हालै उसले आफुले त पढ्न सकिनँ, पढ्न चाहनेहरुलाई अलि सजिलो होस् भनेर आफ्नो विद्यालयलाई ब्यक्तिगत रुपमा दुई लाख ६५ हजार रुपैंया प्रदान ग-यो।”
लामो समयदेखि समाजसेवामा संलग्न सूर्य गुरुङ फुर्सदको समयमा पबमा बसेर रक्सी खानुको सट्टा आफु जन्मेको देश र समाजका लागि केही गर्न अघि बढ्दा सन्तोष प्राप्त हुने विचार राख्दछन्। उनी भन्छन्, “सन् २००४ मा ४१५ रोपनी क्षेत्रफल भएको पोखरा रंगशालामा पर्खाल निर्माण गर्न रकम जुटाउने कामको जिम्मेवारी मलाई दिइयो। जम्मा एक करोड रुपैयाँ आवश्यक थियो। मलाई २० लाख जति उठाइ दिन सक्छु कि भन्ने लागेको थियो। तर सहृदयी साथीभाइ र खास गरी पोखरेलीहरुसित सहयोग माग्दै जाँदा ५० लाख रुपैंया उठाउन सफल भऐं। त्यस पछि नेपालमा र अन्य राष्ट्रहरुमा रहेका साथीहरु यति उत्साहित भएर सहयोग गर्न थाले कि हाम्रो योजना चाँडै नै पुरा भयो।” गुरुङकै पहलमा गत बर्ष हेल्प नेपालका लागि करीब एक करोड रुपैंया सहयोग संकलन गरिएको थियो।
गुल्मी जिल्ला समाजले आफ्नो जिल्लामा तीन वटा एम्बुलेन्स हस्तान्तरण गरीसक्यो र अब चौथो एम्बुलेन्स प्रदान गर्ने तैयारीमा जुटेको छ। तम्घास स्थित आशा अपांग केन्द्रलाई समाजले हरेक बर्ष २० लाख रुपैयाँ जतिको सहयोग जुटाउने गर्छ। त्यसै गरी म्याग्दी, चितवन, पर्वत र अन्य जिल्लाका समाजहरु पनि आफ्नो क्षेत्रको विकासको लागि सक्दो सहयोग जुटाउन तत्पर देखिन्छन्।
आपतविपदमा सहयोग
यसै साता तमुधी यु.के. ले वार्षिक नेपाली मेलाको आयोजना ग-यो। नेपालका विभिन्न क्षेत्र र जातजातिको कला संस्कृति र भेषभूषाको यो बेजोडको प्रदर्शनमा ६ हजार भन्दा बढी मानिसको सहभागिता रहेको बताइन्छ। त्यसै गरी गोर्खा कप, यती कप र अन्य चार पाँच वटा फुटबल प्रतियोगिताहरुमा पनि नेपालीहरुको ओइरो लाग्ने गर्छ। यस्ता सबै कार्यक्रममा नेपालकै कुनै गाउँठाउँ र आपतविपदमा परेकाहरुका लागि सहयोग संकलन भइ राखेको हुन्छ।
सहारा युकेका अध्यक्ष नवीन गुरुङको भनाइमा पोखरास्थित सहारा एकेडेमीका लागि उनीहरुले दुई करोड रुपैयाँ भन्दा बढी रकम लगानी गरी सकेका छन् र त्यस मध्ये करीब एक करोड ६० लाख बेलायतमै उठाइएको थियो। उनको भनाइमा जीवनमा विभिन्न कठिनाइ भोगी रहेका केटाकेटीको लालनपालन र शिक्षा त छँदैछ, फुटबल खेलप्रति उनीहरुलाई आकर्षित गरेर एउटा योग्य खेलाडीको रुपमा समाजमा स्थापित गराउनु पनि एकेडेमीको उद्देश्य रहेको छ।
परोपकारी मन राख्‍ने अर्का समाजसेवी कुल आचार्यले पर्वत जिल्लाको आफ्नो गाउँमा पिताले स्थापना गरेको विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउन सहयोग गरी दिनु प-यो भनि अनुरोध आउँदा दस लाख रुपैयाँ प्रदान गरे। आचार्य भन्छन्, “महिनामा सरदर दुई/तीन लाख रुपैयाँ यस्तै उपकारी कार्यहरुमा दिने गरेको छु।”
देश र समाजप्रति यस्तो सकारात्मक भाव राख्‍ने धेरै नेपालीहरु बेलायतमा भेटिन्छन्। जागीर र व्यवसायबाट अलि सम्पन्न भएका मानिसहरु मात्र होइनन्, दिनरात सामान्य परिश्रम गरेर फर्कनेहरु र विद्यार्थीहरु पनि यसरी आयोजना हुने कार्यक्रमहरुमा फुर्सद मिलेसम्म पुगेर १०/२० पाउण्ड खर्च गर्न प्राय: पछि पर्दैनन्।
तर आजभोलि एउटा गुनासो पनि धेरै सुन्नमा आउने गर्छ, यति धेरै च्यारिटी र अन्य कार्यक्रमहरु हुन थालेका छन् कि धान्न नसक्ने अवस्था आउन लागि सक्यो। देशमा प्राकृतिक प्रकोपको मार परे पछि एउटै उद्देश्यका लागि विभिन्न संघसंस्थाहरुको एक पछि अर्को अपील आउन थाल्छ। बरु एउटै संस्था मार्फत सहयोग जुटाउने ब्यवस्था भए सबैलाई सजिलो हुन्थ्यो र सहयोग पनि धेरै गएको देखिन्थ्यो।
नेपाली गीत संगीतको बढावा र नेपाली कलाकारहरुको उन्नतिमा अहिले विदेशमा बस्ने नेपालीहरुकै प्रमुख योगदान रहेको कुरा स्वयं कलाकारहरु स्वीकार गर्दछन्। नेपालबाट महिनामा तीन चार वटासम्म कलाकारहरुको टोली आ-आफ्ना कार्यक्रमहरु प्रस्तुत गर्न बेलायत आइराखेका हुन्छन्। आफ्नो गीत संगीत र कलाकारहरुलाई माया गर्न र हौसला दिन पनि परदेशी नेपालीहरु कहिल्यै पछि परेका छैनन्। त्यसैले उनीहरु मध्ये केही भन्छन्, देशले हाम्रो नागरिकतालाई निरन्तरता दिए पनि नदिए पनि हामी निरन्तर आफ्नो देशलाई धेरथोर जति सक्छौं दिंदै जानेछौं।
किनभने गीतकार किरण खरेलले लेख्‍नु भएको यो गीत उनीहरुको जीवनमा पनि उत्तिकै लागु हुन्छ-
नेपालकै गीत गाउँछु बिहान उठे पछि
ढुकढुकीमा बोल्छ नेपाल मुटु चले पछि….

लेखक लण्डनस्थित बीबीसीमा कार्यरत संचारकर्मी हुन्।
[email protected]

प्रतिक्रिया

सम्बन्धित सामाग्री