‘राजनीतिले एनआरएन बिग्रियो’ :काजीमान याक्सो, कियाचु, युके

kajiman interview
ताप्लेजुङको हाङपाङमा २०२७ सालमा जन्मिएका काजिमान याक्सो किरात याक्थुङ चुम्लुङ (कियाचु) युकेको हालै केन्द्रीय अध्यक्ष चुनिएका छन् । २०४६ सालमा बेलायती सेनामा भर्ती भएका उनी २३ वर्ष सेवापश्चात दुई वर्षअघि पेन्सन निस्किए । हाङपाङ समाज, युकेका संस्थापक अध्यक्ष उनी डोभर नेप्लिज कम्युनिटीका सल्लाहकार छन् भने यसअघि उनले आफ्नै नेतृत्वमा सेवारो कलाकार संघ, युके पनि गठन गरेका थिए । लिम्बु कलासँस्कृति समेटिएको भिडियो ‘मन मिलौँ है लिम्बुहरु’ को लेखन, निर्देशन गरेका उनी कविता, गीत, गजल, मुक्तक पनि लेख्छन् । प्रस्तुत छ उनीसित गरिएको कुराकानी :

कियाचुको अध्यक्ष हुँदा कस्तो महसुस भएको छ ?
सेवा नै धर्म हो भनेर म समाजसेवामा लागेको हुँ । अहिले युकेबासी लिम्बुहरुको छाता संस्थाको अध्यक्ष हुँदा गर्व लागेको छ । युकेबासी लिम्बुहरुको सेवा गर्न पाउनु मेरा लागि गौरवको कुरा हो । मैले चाहेको कुरा पाएँ । मैले आफूले जानेको सक्दो गर्ने छु । नजानेको अरुलाई सोधेर पनि लागि पर्नेछु । म संस्थाको लागि परिआएको खण्डमा सातै दिन चौबीसै घण्टा खट्नेछु ।
तपाईको कार्यकालमा संस्थालाई कसरी अगाडि बढाउनुहुन्छ ?
अध्यक्षमा उठ्नअघि नै मैले सोच बनाएको थिएँ । साथीभाइहरुसित पनि परामर्श गरेँ । ती सबैको आधारमा मैले तीनवटा कार्ययोजना बनाएको छु ।
एक, अहिले केही शाखामा केही गाँजमाझ आएको छ । लिम्बु समाजमा धेरैलाई त्यो थाहा छ । सबैभन्दा पहिला म ती शाखाहरु र युकेका सबै लिम्बूहरुलाई एकजुट बजाउँछु । दोस्रो, युकेमा लिम्बुहरुको जनसंख्या बढ्दो छ । हामी वर्षमा सबै भेट हुने सिसेक्पा तङ्नाम भन्ने चाड मनाउँछौँ । त्यसका लागि हामीलाई एउटा ठाउँ चाहिन्छ । चुम्लुङ हिम (घर) पनि चाहिन्छ । त्यसका लागि विगतमा प्रक्रिया अगाडि बढेको हो तर हालसम्म सफल हुन सकेको छैन । त्यसलाई सफल पार्न लागिपर्ने छु ।
तेस्रो, सबै जातिको आफ्नै पहिचान हुन्छ । पहिचानका लागि भाषा, सास्कृति, भेषभूषा, सँस्कार, कलासंगीत जरुरी हुन्छ । त्यसलाई खरोरुपमा अघि बढाउने छु । युकेमा जन्मेहुर्केका नानीहरु अंग्रेजी बोल्छन् । उनीहरुलाई आफ्नो भाषाका बारेमा थाहै छैन । म शाखाहरुमार्फत भाषा उनीहरुलाई सिकाउन प्रयास गर्ने छु । यति काम गर्न सकिए युकेमा लिम्बुको भाषा, कला सँस्कृतिको जगेर्ना गर्न सकिन्छ जस्तो लाग्छ ।

अहिलेसम्म चुम्लुङको नेतृत्व चयनका लागि चुनाव भएको थिएन । यसपटक चुनाव भयो । चुनावबाट बाहिरिनुभएकाहरुलाई कसरी समेट्नु हुन्छ ?
हामीले पनि सर्वसम्मतिले नै नेतृत्व छानौँ भनेर कोसिस गरेका थियौँ । धेरै चरणको छलफल पनि गर्‍यौँ । महाधिवेसनको हलमा चुनाव गर्ने कि नगर्ने भन्ने मत विभाजन हुँदा २/४ जनाले मात्र चुनाव नगर्ने भने । जनमतको त्यो मागले गर्दा हामी चुनावमा जानु पर्‍यो ।
उहाँ (चुनाव हार्ने) हरुलाई अरु पदहरु छन् । केन्द्रीय समिति नै पूरा गर्न बाँकी छ । उहाँहरु हार्नुभयो भनेर मैले छाड्नु हुँदैन । समेटेर लानुपर्छ । सल्लाहकार, प्रोपर्टी खरिदका विभिन्न जिम्मेवारी दिन सकिन्छ । म उहाँहरुसित नियमित सम्पर्कमा छु । हामी सबै मिलेर काम गर्नुपर्छ भनेर भनिरहेको छ । म सबैलाई समेटेर लान्छु । चुनाव लड्नु अघि पनि हामी सबै उम्मेदवारले जस्ले हारे पनि जिते पनि संस्थालाई मिलाएरै लानुपर्छ भनेर भनेर प्रतिवद्धता गरेका थियौँ ।

युकेजस्तो ठाउँमा पनि किन जातीय संस्था चाहियो भन्ने मत पनि बेलाबेलामा यहाँ उठ्छ । युकेमा चुम्लुङको औचित्य कसरी साबित गर्नुहुन्छ ?
प्रत्येक जातिको आफ्नै कला, सँस्कृति, भाषा, सँस्कार हुन्छ । ती नेपालमा पनि हराउन थाले । यहाँ विदेशमा त झन् हराउने नै भए । जुनसुकै जातिले आफ्नो भाषा, सँस्कृति, कला, सँस्कार जोगाउनका लागि यस्तो संस्था बनाउनु परेको हो । संस्था बनिसकेपछि धेरै विधामा ज्ञान भएको व्यक्तिहरुको जमघट हुन्छ । विभिन्न उपायहरुको बारेमा विमर्श हुन्छ । त्यसबाट समाजलाई धेरै फाइदा मिल्छ । अर्कोकुरा, मर्दा-पर्दा आफ्नै कुलकुटुम्ब, दाजुभाइ चाहिन्छ त्यसका लागि संस्था चाहिन्छ ।

नेपालको चुम्लुङ र तपाईहरुबीच कस्तो सम्बन्ध रहन्छ ? उनीहरुले उठाएको सवालमा तपाईहरुको कस्तो भूमिका हुन्छ ?
नेपालको चुम्लुङ हाम्रो मूल खम्बा हो । विदेशमा भएका चुम्लुङहरु सबैको सम्बन्ध उहाँहरुसित छ । उहाँहरुले दिनुभएको निर्देशन मान्छौँ । हामीलाई चाहिने कुराहरु माग्छौँ । हामीबीच नजिकको सम्बन्ध छ ।

युकेमा जातीय संस्था सक्रिय भए तर समग्र नेपालीको सक्रिय संस्था भएन भन्ने गरिन्छ नि ?
सबै मानिसको सोच एउटै हुँदैन । उदाहरणका लागि एनआरएन, युकेको कुरा लिउँ । हामी नेपाली हौँ र विदेशमा छौँ । विदेशमा भएका नेपालीहरुको साझा संस्था यसलाई बनाउँ भनेर सबै लाग्नुपर्छ । व्यक्तिगत, राजनीतिक लाभको सोच राख्नु भएन । मेरो बुझाइमा एनआरएन बिग्रेकै राजनीतिक खिचातानीले हो । राजनीतिक आस्था सबैको हुन्छ तर साझा सास्थामा राजनीति गर्नु हुँदैन । यस्तो बुझेको नेतृत्व आउनुपर्छ । यदि त्यस्तो भएको खण्डमा सबै संस्थाहरु मिलेर त्यसलाई सक्रिय र बलियो बनाउन सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री