विदेशमा नेपाली कलाकारको लर्कोले ल्याएको उमंग

Phadindra Bhattarai
नेपाली राष्ट्रिय कलाकारहरुलाई पानी पँधेरो बनेको लण्डन, नेपाली चाडपर्वको आगमनसंगै चर्चित हास्य कलाकार र गायक गायिकाहरुको प्रस्तुतिले बेलायती समरको घमाईलोमा रमाईलो गरी तात्तिएको । दिनहुँजसो आयोजना भइरहेका नेपाली कार्यक्रमहरुमा एक न एक राष्ट्रिय कलाकार बिनाको प्रस्तुति सायदै होला भन्दा पनि हुन्छ ।
नयाँ वर्ष पारेर आफ्नो चर्चित प्रहशन महयात्रामा बाहुन बहादुर र नेवार बहादुर बनेर बेलायत आएका ख्यातिप्राप्त हास्यजोडी मदनकृष्ण र हरिवंशको बेजोड प्रस्तुति र सफलता सेलाउन नपाउँदै अरु दर्जनौँ कलाकारहरु कार्यक्रम लिएर आउने र फर्किने क्रम चलिरहेको छ । देश विदेशमा लोकगीतको प्रख्याति संगै बद्रि पंगेनी, पशुपति शर्मा लगायतले पनि आफ्नो गायनको धमाका देखाएर फर्किसकेका छन् ।
यही अगस्त ३१ मा मिस युके नेपालको फाइनलमा पुग्दा गायक धर्मेन्द्र सेवान आफ्ना लोकप्रिय गीतमा दर्शक उफार्दै थिए । त्यसैगरी बेलायत अल्डरसटको अर्को कार्यक्रममा सन्तोष पन्त र सिताराम कट्टेल (धुर्मुसे) को प्रहसनमा दर्शकदीर्घामा हाँसोको फोहोरासंगै पेट मिचाई चलेको थियो । नेपालमा रहेका सुस्त मनस्थितिका बालबालिकाको सहयोगार्थ भर्खरै सम्पन्न सितु साँझ कार्यक्रममा पुग्दा संगीतकार न्ह्यु बज्राचार्य र प्रभुराज ढकाल पनि आफ्नो सांगीतिक प्रस्तुतिमै देखिएका थिए । हालसालै आइपुगेका मनोज गजुरेल, प्रशान्त तामाङलाई पनि भ्याईनभ्याई छ कार्यक्रममा गर्न । अर्को आयोजना दशैँ मेघा इभेन्ट्स नामक प्रस्तुतिको लागी केही दिनमै चर्चित डीआईडी लिटल मास्टर तेरिआ मगर गायक मिलन लामा र हेमन्त रानासहित आउने जानकारी छ । कलाकारहरु राजु लामा, सिन्धु मल्ल, प्रमोद खरेल सबै बेलायतमा स्टेजतिरै ब्यस्त छन् । अहिले यहाँ रहेका कलाकारहरुको पूर्णसूची भने यो होइन । बेलायतमा कलाकारको मेला नै लागेको हो कि भने जस्तो लाग्नु अस्वाभाविक छैन बग्रेल्ती रहेका कलाकारलाई यहाँ भेटदा ।यसका अतिरिक्त बेलाबखतमा फिल्म निर्माताहरु पनि फिल्म र कलाकारहरु बोकेर बेलायततिरै आउने गरेको पाइन्छ ।
यसरी कार्यक्रम गर्न लण्डन आउने र जाने नेपाली कलाकारहरुको सूची अनन्त बनिरहेको छ । नेपालमा चर्चा कमाएर विदेशमा पैसा कमाउने विकल्प कलाकारहरुको लागी उत्तम बनेको देखिन्छ तथापि कार्यक्रम आयोजकहरुले आम्दानीको ठूलो पाटो कुम्ल्याउँदा कलाकारहरु मर्कामै रहेको गुनासो पनि बेलाबेला सुन्ने गरिएको छ । भूपू लाहुरेहरुको बस्ती रहेको लण्डन, हंगकंग तथा गैर लाहुरे नेपालीको बाहुल्यता रहेका अमेरिका, अस्ट्रेलियाका अलावा बृहत नेपाली उपस्थिति रहेका कतार, मलेसिया, जापान जस्ता मुलुकहरु पनि नेपाली कलाकारहरुले दुई चार पैसा बनाउने गन्तब्य बनेका हुनाले उनीहरुका रोजाइ बनेका छन् ।
हुन त बेलायत घुम्ने तारतम्य कुनै बहानामा मिलाउन सके कलाकार मात्र होइन राष्ट्रिय खेलाडी, पार्टीका नेता, कर्मचारीतन्त्रका हाकिमदेखि सर्वसाधारणसम्म सबै हाम्फाल्न खोजेर नै होला यी विविध क्षेत्रका मान्छेहरु यत्रतत्र नभेटिएको पनि कमै हुन्छ लण्डनमा । एकातिर आफुले मन पराएका कलाकारहरु आउँदा तिनीहरुका कार्यक्रम हेर्न र प्रत्यक्ष भेट्नको लागी सर्वसाधारणको घुइँचो नै लाग्ने गर्छ भने अर्कोतिर चर्चित व्यक्तित्वको आगमनसंगै यहाँका सामाजिक टाउकेहरुको चुरीफुरी र अरिंगाल घुमाई पनि हेर्न लायक नै हुने गर्छ । कार्यक्रमस्थलमा आफ्ना फ्यानहरुसंग फोटो पोज दिन व्यस्त हम्मेहम्मे परेका कलाकार र मान्छेको उपस्थितिलाई नियाल्दा बेलायतमा न नेपालीको कमी छ न नेपाली कार्यक्रमको भन्ने लाग्नु स्वाभाविक नै लाग्छ । बेलायतमा मात्र यति धेरै कलाकारको उपस्थिति छ भने नेपाली प्रवाशीहरु रहेका अन्य देशमा पनि थोरै धेरै नेपाली कलाकार र कार्यक्रमहरु पक्कै चलिरहेकै होलान् । यसरी विदेशमा रहेका कलाकारको औला भाँचेर गिन्ती गर्ने हो भने चाडपर्वको अवसरमा धेरैजसो कलाकार विदेशतिरै अल्मल्लिएको पाइन्छ ।यसमा पनि प्रवाशी नेपालीमाझ तुलनात्मकरुपमा धेरै मनकारी नेपाली बस्ने भएर होला नाम दाम र काम सबै चिजको आकर्षण यतै बेलायततिरै बढी भएको पाइन्छ ।
नेपालमा टेलिभिजन रेडियो आदिबाट कलाकारहरुलाई हुने आम्दानी नगन्य रहेको कुरा उनीहरु आफैँ बताइरहँदा विदेशमा बस्ने नेपालीले आफुलाई मनपर्ने कलाकारको प्रस्तुतिमा रमाउने सौभाग्य पाएका हुन् । अर्कोतिर नजिकको तीर्थ हेला भने जस्तो नेपालमै रहेका नेपालीभन्दा विदेशमा रहने नेपालीहरु कलाकार मात्र होइन नेपाली कला, संस्कृतिलाई माया गर्ने सवालमा पनि एककदम अगाडि नै देखिन्छन् । माइती देशको सबै प्यारो भने झैँ देश छोडेका नेपालीलाई नेपाल बोकेर आउने कलाकारहरु मनग्गे चाखिला पाहुना भएका छन् भने कलाकारहरुलाई विदेशको घुमघाम र थैलीको भराई फर्किने बेलासम्म धुमधाम नै बन्ने गरेको छ । मनोरन्जनको कुटिरोसंग पाउण्डको पोको साट्न पाउँदा कलाकारहरु मक्ख छन् । परन्तु प्रवाशको कार्यव्यस्तता, निरन्तर भईरहने कार्यक्रम र त्यसको शुल्कले भने जनमानसमा अलिकति बोझ थपेको पाइन्छ ।
यसरी कार्यक्रममा आउने र ल्याइने कलाकारहरुको लर्कोसंगै यहाँ आयोजना हुने कार्यक्रमको मात्रा पनि बढ्दै गैरहेको छ । धेरैजसो कार्यक्रमहरु सामाजिक संघ संस्थाहरुले नेपालमा कहीँ कतै सहयोग गर्नको लागी परोपकारी उद्देश्यका साथ गरिरहँदा देशकै लागि वरदान पनि बनेको छ यो चलन । अर्कोतिर यसले व्यवसायिक रुप पनि धारण गरिसकेको छ । पेशागत विस्तारसंगै व्यावसायिक रुपमा कार्यक्रम आयोजना गर्न विभिन्न इण्टरटेन्मेण्ट कम्पनीहरुको स्थापनासमेत बेलायती नेपालीहरुले गरिसकेका छन् । पहिलो पुस्ताको आगमन र बसाइसंगै बेलायतमा उर्लदो रुपमा हुने गरेका कार्यक्रमहरुले भविष्यमा कत्तिको निरन्तरता पाउने हुन् भन्ने प्रश्न भने यसप्रति नयाँपुस्ताको लगावलाई हेर्दा उठ्ने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री