पत्रकार महासंघले पत्रकारिता तालिम इन्स्टिच्यूट खोल्ने

तस्वीर नरेन्द्र बस्नेत

तस्वीर नरेन्द्र बस्नेत

लण्डन । नेपाल पत्रकार महासंघले पत्रकारहरुको क्षमता विकासका लागि एक तालिम इन्स्टिच्यूट खोल्ने भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको युके शाखाले लण्डनमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पत्रकारहरुको सीप अभिवृद्धिका लागि यस्तो इन्स्टिच्यूट खोल्न लागिएको जानकारी दिए ।
सरकारले बजेट बक्तब्यमा पनि यस बारेमा उल्लेख गरिसकेको सन्दर्भ कोट्याउँदै उनले शुरुमा महासंघको नवनिर्मित भवनबाटै सो इन्स्टिच्यूटको शुरुवात गर्ने बताए । नेपालमा पत्रकारिताको तालिम दिने संस्थाको अभाव रहेको उल्लेख गर्दै केही संस्थाले तालिमको नाममा अभिमुखीकरण मात्र दिइरहेको उनले थपे । “एनजीओ/आइएनजीओले दिने पत्रकारिता तालिममा उनीहरुको छवि कसरी प्रबर्द्धन गर्ने मात्र सिकाइन्छ” उनले भने ।
तालिम केन्द्र सञ्चालनमा आएपछि पत्रकारहरुको कार्यसम्पादनका बारेमा अहिले उठ्ने गरेको गुनासो स्वतः कम भएर जाने विश्वास विष्टले व्यक्त गरे ।
महासंघले पत्रकारहरुको सुरक्षा, ट्रेड युनियन अधिकारको रक्षा, दुर्घटना वीमा, द्वन्द्वमा मारिएका पत्रकारका परिवारको शिक्षा दीक्षाका लागि कोष बनाउने लगायतका कुरामा प्राथमिकताका साथ काम गर्दै आएको उनले जनाए । यसका साथै महासंघको सदस्यता सुदृढीकरणका बारेमा काम गरिरहेको उनले बताए ।
महासंघका विदेशस्थित शाखालाई हाल एउटा मात्र मत दिने अधिकार रहेकोमा चुनिने अधिकार दिन नसकिए पनि चुन्न पाउने मताधिकार बढाउन सकिने उनले आश्वासन दिए । विदेशस्थित शाखामा सदस्यता लिन सम्बन्धित देशमा वैधानिक रूपमा बसोबास गरेको हुनैपर्ने पनि उनले प्रष्ट पारे ।
शाखाका अध्यक्ष चिरन शर्माको अध्यक्षतामा भएको सो अन्तर्त्रिmयामा बीबीसी नेपाली सेवाका सुमन खरेलले बेलायतमा नेपाली पत्रकारहरुले गरिरहेको प्रयासको प्रशंसा गरेका थिए । उनले पत्रकारितालाई रहरभन्दा पनि आयआर्जनको स्रोतका रुपमा विकसित गर्न सकिए दीगो हुनसक्ने बताए ।
शाखाका सल्लाहकार तथा बीबीसी नेपाली सेवाका भगिरथ योगीले बेलायतमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि महासंघले केही गर्नपर्ने सुझाव दिए ।
कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपाङ्गीमगरले बेलायतमा नेपाली पत्रकारिता र पत्रकारको स्थिति तथा महासंघको गतिविधिका बारेमा अवगत गराएका थिए ।
शाखाका महासचिव श्याम लुइँटेलले सञ्चालन गरेकेा सो कार्यक्रममा पत्रकारहरुले अध्यक्ष विष्टसित महासंघ र पत्रकारितासित जोडिएका विभिन्न सवाल राखेका थिए । ती सवालहरुको विष्टले जवाफ दिएका थिए । कार्यक्रममा अध्यक्ष शर्माले अध्यक्ष विष्टलाई खादा लगाइ स्वागत गरेका थिए भने बीबीसी नेपाली सेवाका सुमन खरेलले शाखाको टी सर्ट प्रदान गरेका थिए भने वरिष्ठ उपाध्यक्ष मगरले शाखाको स्मारिका प्रदान गरेका थिए ।

तस्वीर नरेन्द्र बस्नेत

तस्वीर नरेन्द्र बस्नेत

प्रतिक्रिया

सम्बन्धित सामाग्री