गुप्ताको भ्रष्टाचार मुद्दा पुनरावलोकन हुने

काठमाडौं । भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका पूर्व सञ्चारमन्त्री जयप्रकाश गुप्ताको मुद्दा पुनरावलोकन हुने भएको छ ।JP-Gupta_large

गुप्ताले सर्वोच्चको फैसलाविरुद्ध दर्ता गरेको पुनरावलोकन निवेदनमाथि सर्वोच्चका न्यायाधीशहरू गोपाल पराजुली, दीपकराज जोशी र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले बुधबार आदेश दिएपछि गुप्ताको मुद्दा पुनः सुनुवाइ हुन लागेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले २०६८ फागुन ९ गते त्यस समयका सूचना तथा सञ्चारमन्त्री गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष जेल र १ करोड ६८ लाख रुपैयाँ बिगो तथा जरिवाना भराउने फैसला गरेको थियो ।

सर्वोच्चको निर्णय मान्दै गुप्ता १३ महिना थुनामा बसेका थिए । केन्द्रीय कारागार डिल्लीबजारमा बसेका गुप्ताले अदालतबाटै आफ्ना कानुन व्यवसायीमार्फत पुनरावलोकन निवेदन २०६९ वैशाख ८ गते दर्ता गराएका थिए ।

गुप्ता अदालतको आदेशबमोजिम थुनामा बसी २०६९ चैत ५ गते रिहा भएका थिए । तर, यसअघि सर्वोच्चले यस्तो प्रकृतिका मुद्दामा पुनरावलोनका लागि खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेको निवदेनमा भने पुनः सुनुवाई हुन नसक्ने भन्दै अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री