देउवा सहभागी जमघटमा फुट्नेहरु लज्जित

10421296_10203123400388259_3142158434760238139_n
लन्डन । कार्यक्रम समयमा शुरु नहुनु, विषय केन्द्रित मन्तव्यको सट्टा अन्यत्रै मोड्नु र माइक पाएका बेला आफ्नै प्रवद्र्धन गर्ने बेलायतवासी नेपालीको बानी अब खासै नौलो रहेन । विषय र कार्यक्रममा को व्यक्ति उपस्थित छ, त्यसको गाम्भीर्यता बुझ्ने कमै छन् जुन शनिवार लन्डनस्थित नेपाली दूतावासमा समेत दोहोरियो ।

प्रसंग के भने, पूर्व प्रधानमन्त्री एवं कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा दम्पत्ति बेलायत आएका बेला उनीहरुको सम्मानमा दूतावासले दिवाभोजसहित एउटा अनौपचारिक कार्यक्रम राखेको थियो । तर, कार्यक्रममा जमघटको उद्देश्य र सान्दर्भिकता नबुझी समाजमा फुट्नेहरुले आ आफ्नै गुनासो ओकल्दा आफैं लज्जित हुनु पर्यो । विवादित गैर आवासीय नेपाली संघ, बेलायतका सह अध्यक्ष योगेन क्षेत्रीले म अध्यक्ष भन्दै देउवासमक्ष एनआरएनए यूकेको आन्तरिक विवाद सुनाए । साथमा भर्खर कार्यकारी अध्यक्ष ग्रहण गरेका महेन्द्र कंडेल पनि त्यहीं थिए । क्षेत्रीको जिज्ञासापछि देउवाले त्यसबारे अनभिज्ञ रहेको र त्यो आफूसंग सम्वन्धित विषय समेत नभएको बताएर पन्छिए । देउवा पत्नि एवं सभासद डा. आरजु देउवाले त नेपाली जहां गएपनि अधिकारका नाममा विवाद गर्न सिपालु भएको टिप्पणी गरिदिइन् । प्रवासी नेपाली मञ्च, बेलायतका अध्यक्ष रामशरण सिम्खडाले आन्तरिक विवाद यो कार्यक्रममा नगर्न भनिदिए । नेपलिज वुमन्स् एसोसिएसन, यूकेकी अध्यक्ष आरती श्रेष्ठले पनि नेपालबाट आएका राजनीतिज्ञलाई सकारात्मक सन्देश दिनुको साटो यस्ता कुरा ननिकाल्न सुझाव दिइन् ।

अनि पालो थियो दुई चिरा भएको नेपाली जनसम्पर्क समिति, बेलायतको । सुशील कोइराला पक्षीय चेतनाथ खनालले म अध्यक्ष भनेर जिज्ञासा राखेपछि पत्रकार धर्मराज अधिकारीले देउवा समक्ष भने, ‘अस्ति नेसा यूकेको कार्यक्रममा तपाईंसंगै लोक 
गुरुंग सभापति हुनुहुन्थ्यो, आज चेतनाथ खनाल । एउटै देशमा दुईवटा जन सम्पर्क समिति बनाउन मिल्छ कि मिल्दैन ?’ देउवाले यत्ति बोले, ‘विभाजनको खवर सुनेर म दुःखी छु ।’

यसैबीच, कार्यक्रममा देउवाले निर्धारित माघ ८ मै संविधान आउने बताएका छन् । पारिवारिक भ्रमणमा हाल बेलायत रहेका देउवाले शनिवार लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक अनौपचारिक कार्यक्रममा बेलायतवासी नेपालीलाई नयां संविधान आउने विश्वास दिलाएका हुन् ।
प्रवासी नेपाली मञ्च, बेलायतका अध्यक्ष रामशरण सिम्खडाले संविधान लेखनमा व्यस्त रहनुपर्ने बेला वरिष्ठ नेताहरु विदेश भ्रमणमा र उनीहरु संविधानप्रति गम्भीर नभएको बताउंदै देउवालाई कसरी आश्वास्त पार्नुहुन्छ भनेर जिज्ञासा राखेपछि प्रतिउत्तरमा पूर्व प्रधानमन्त्री देउवाले भने, ‘संघीयताबाहेक अन्य प्रमुख विवादित विषयमा कुरा मिलिसकेकाले समयमै संविधान आउनेमा दुई मत छैन् ।’ देउवाले गैर आवासीय नेपालीलाई विशेष नागरिकता दिने सहमति भइसकेको उल्लेख गर्दै राजनीतिक अधिकार दिनेबारे भने केही जटिलता रहेको बताए । ‘बेलायती र नेपाली दुवै नागरिकता लिएर राजनीतिक पद ग्रहण गर्दा कुन देशतिर लगाव हुने ?’ उनको धारणा थियो, ‘त्यसकारण मुख्य पद बाहेक मताधिकार र अरु दिन सकिन्छ ।’

देउवाले भूपू गोर्खाहरुलाई समान पेन्सन दिनुपर्नेमा आफ्नो दल अडिग रहेको र यो कुटनीतिक पहलबाट मात्र सम्भव हुने जनाए ।

कार्यक्रममा देउवा पत्नि एवं सभासद डा. आरजु देउवाले पुरुष भन्दा महिला सभासदहरु संविधान लेखनमा बढि गम्भीर भएको दावी गरिन् । ‘मस्यौदा समितिको सदस्य भएका नाताले पनि म संविधान जारी हुनेमा विश्वस्त छु’, उनको भनाइ थियो, ‘अब पनि संविधान बनेन भने हामी सामु अर्को खतरा विकल्प 
सृजना हुन सक्ने भएकाले सबै सचेत हुन जरुरी छ ।’ उनले राष्ट्रपति, प्रधानमन्त्री, 
प्रधान न्यायधिश, सेना प्रमुख र संघीय राज्य प्रमुख जस्ता पदबाहेक अरुमा प्रवासी नेपालीलाई राजनीतिक अधिकार दिन लागिएको पनि जनाइन् ।

उक्त भेटमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले देउवा दम्पत्ति र अतिथीहरुलाई स्वागत गरेका थिए भने राजकुमार त्रिपाठी, ठाकुर शर्मा लगायतले आ आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममा गायिका सितु खरेलले शुभकामना..गीत सुनाएर
सबैलाई मन्त्रमुग्ध पारेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री