पृथ्वी जयन्ती र राष्ट्रिय एकता 

1378349_726154604065364_1666361722_n

क, ख कहिले सिकें ? सिसु कक्षा कहिलेबाट जान थालें ? भुईमा बसेंकी कि चकटीमा ?   मेरो बाल हातमा पेन्सिल राखेर कुन गुरुबाले  समातेर लेख्न सिकाउनु भो ? त्यति राम्रो याद गर्न सकिनँ तर, कक्षा ४ तिर पुगेपछि भने नेपालको नक्सा र एक राजाको  फोटो मेरो कलिलो मानसपटलमा गहिरेर बस्यो जुन आजसम्म त्यत्तिकै ताजा छ । पौष २७ गते राष्ट्र निर्माता नायक पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस मनाउन  सार्वजनिक छुट्टी हुने र  विद्यालयमा  कार्यक्रम हुन्थ्यो । कसैले कविता भन्ने, कसैले जीवनीबारे बोल्थे । शुरुशुरुमा पौष २७ गते  विद्यालय छुट्टी हुने भनेर खुशी हुन्थेँ तर बिस्तारै बुझ्न थालेपछि मलाई पौष २७ गतेको महत्व बढ्दै गयो । ऎतिहसिक भूमि गोरखा जिल्लादेखि बेलायतसम्मको यात्रा गर्दा जीवनले पत्तै नपाई  लगभग ५३ औं वसन्त पार गरिसकेछ । मलाई जन्म दिनु हुने ममतामयी आमा , बुबा र गुरु वर्गले गोरखा जिल्लाको माटो-पानीसंग राम्रोसंग परिचय गराउनु भएको थियो जहाँ अहिले पनि मेरो मन हरेक दिनको हरेक क्षण  त्यहि गोरखाको मन्दिर , खोला, चौतारो र ती घरहरु वरिपरि खेलिरहन्छ ।
वि.सं. १७७९ पौष २७ गते गोरखा जिल्लाका राजा नरभुपाल शाह र  रानी कौसल्यावतीको कोखबाट जन्मेका एक बालक नै आधुनिक नेपालका जन्मदाता हुन् जुन कुरा इतिहासका पाना – पानामा लेखिएको छ र आजको जनमतमा पनि यसबारे  कुनै शंका छैन  । आधुनिक नेपालको एकीकरणको जग बसाल्ने काम  नुवाकोट विजय अभियानबाट नै पृथ्वी नारायण शाहले गरेका हुन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तर तिब्बतदेखि दक्षिण भारतसम्म फैलिएको भूमि नेपाल, भूगोलको आकारमा अन्य देश भन्दा सानो भएपनि हामी नेपाली हरुको लागि यो भन्दा ठूलो कुनै देश छैन । यिनै राष्ट्र नायकको हरेक वर्ष पौष २७ गते मनाउदै आएको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती दिवस खासगरी २०६२/०६३ को जनआन्दोलनपछि बनेको सरकारले  खारेज गरेर मनाउन छोड्यो जुन अत्यन्त दुर्भाग्यपूर्ण कुरा थियो । छरियर रहेको स – साना बाईसे चौबिसे राज्य हरुलाई यदि पृथ्वी नारायण शाहले एकीकरण नगरेको भए आज हाम्रो अस्तित्व कि तिब्बतीतिर कि त भारततिर पुगेर लोप हुन्थ्यो होला । न त्यहाँ आज नेपाल भन्ने देश हुन्थ्यो न त् गोर्खाली भन्ने परिचय । हामी एकचोटी इतिहासलाई फर्केर हेरौँ नेपाल भन्ने देश  कुनै  साम्राज्यले दान गरेको विर्ता होइन । यो देश हामी नेपालीहरुको पुर्खाहरुले रगत पसिना बगाएर स्वाधीनतामा राखेको देश हो । हिजो पृथ्वी नारायण शाहले एकीकरणको जग नहालेको भए आजका कथित क्रान्तिकारीहरुले माक्स र लेनिनको किताब क्रान्तिको नाँउमा बांडी हिड्न एक पाईला धर्ति मिल्ने थिएन ।

२०६२/०६३ को जनआन्दोलनपछि कथित विदेशी दलालहरुको चंगुलमा फसेका केही राजनैतिक पार्टी र तिनका संगठनहरुले ठाउँमा ठाउँमा पृथ्वी नारायण शाहको सालिक तोडे, सरकारी विदा हटाए, सरकारी कार्यालयहरुबाट फोटो हटाउन निर्देसन दिए तर सालिक र फोटाहरु तोडेर देश विकास हुँदैन भन्ने कुरा ति विदेशी नुनको सोझो गर्ने  दलाल हरुले बुझ्न सकेनन् । जसले गर्दा देशमा अराजकता र हुलहुज्तजको बाहुबल बढ्यो । शान्ति र संबिधानको कुरा नेताको भाषणमा मात्र सिमित रहे । नेपालमा बुद्धिजीवी, इतिहास संस्कृतिविद, राजनीतिक दलका केही नेताहरुले २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छोड्न नहुने र सालिक तोड्न नहुने भनेर कुरा बुझे पनि हत्या को राजनीतिको बागडोर समातेको पार्टीको डरले गर्दा तत्काल  कोही उचो आवाजमा बोल्न सकेका थियनन् । नेपाली सेनाले भने सबै राजा हरुको फोटो हटाए पनि पृथ्वी नारायण शाहको फोटो हटाउन मानेन र जंगी अड्डामा आज पनि पृथ्वी नारायण शाहको पूर्ण कदको फोटो जो कसैले पनि देख्न सकिन्छ  । खासगरी तत्कालिन सैनिक नेतृत्व र सेनाले  नेपालको ईतिहास समाप्त हुनबाट बचाएको कुरा जगजाहेर छ । अझै  नेपाली सेनाको सुरुआत पनि पृथ्वी नारायण शाहकै पालाबाट भएको देखिन्छ ।
हामीले बेलायतमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता पौष २७ गते मनाउने विचार गर्यौं । मेरो भेट खासगरी नारायण अधिकारी, विपिन विक्रम शाह, रोशन सापकोटा, अर्जुन केसी  र विरेन्द्र कार्कीसंग  भएपछि हामीले बेलायतमा २८९ औं पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिबस पारेर पौष २७ गते २०६७ साल नेपाली सेनाका अबकास प्राप्त  प्रधानसेनापति रुक्माङ्गद कटवालको प्रमुख आथित्यमा ” पृथ्वी जन्म जयन्ती र  राष्ट्रिय एकता , आजको आवश्यकता ” भन्ने मूल नाराराखी south East London मा रहेको London College  of Engineering and Management को हलमा  भव्यताको साथ मनाउन सफल भयौँ। यो कार्यक्रमको लागि धेरै जनाले भित्रि रुपमा सहयोग गरे पनि खुलस्त रुपमा बाहिर आउन धेरै चाहेनन् । समाजका केही अगुवा  व्यक्तिहरु अथितिको आसन ग्रहण गर्न पनि डराएर आउन सकेनन तर, आम मानिस उल्लेख रुपमा सहभागी भयका थिए । कार्यक्रममा सहभागी भएर मन्तव्य दिएको भन्दै माओवादी बेलायतको  भात्री संगठनका संस्थापक अध्यक्ष् कर्ण शाहीमाथि माओवादीले नेपाल देखिनै कारबाही गर्ने भन्दै स्पष्टिकरण सोधेको कुरा समेत बाहिर मिडियामा नै आयो । २०६७ सालदेखि हामीले हरेक वर्ष पौष २७ गते पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिबस मनाउन थालेपछि विस्तारै विस्तारै केही बुद्धिजीवीहरुले साथ दिन थाले ।

विस्तारै नेपालमा पनि आवाज उठ्न थाल्यो । पौष २७ गते लाई पृथ्वी जन्म जयन्ती र  राष्ट्रिय एकता दिवस मनाउन पर्छ भनेर । यसै क्रममा नागरिक समाज र बुद्दिजीवी हरुको पहलमा गोरखा जिल्लाको  गोरखा दरबार संग्रहालयमा गत वर्ष पूर्ण कदको सालिक पुन राखियो । ठाउँमा – ठाउँमा नागरिक समाजले कार्यक्रम गर्न थाले । गोरखा र नुवाकोट मा विशेष कार्यक्रम हुन् थाल्यो । हाल आएर  माओवादीले पृथ्वी नारायण शाहको योगदान को कदर गर्ने भन्दै गोपाली किराँतीको संयोजकत्वमा समिति नै बनायको छ । अझै यसै वर्षबाट इतिहासविद र नागरिक समाजले नुवाकोट विजय अभियानलाई प्रत्येक वर्ष असोज १५ गते विजयोत्सव मनाउने परम्परा सुरु गरेका छन् । जसको थालनी स्वरुप गएको असोज १५ गते नुवाकोट दरबारमा एक कार्यक्रम गरि  इतिहास तथा संस्कृतिका अध्येयता डा. रमेश ढुंगेल, पृथ्वी विचारका प्रबर्द्धक खगेन्द्रराज सिटौला, स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर देवकोटा लगायत बुद्धिजीवी, इतिहास संस्कृतिविद, राजनीतिक कार्यकर्ताहरू सरिक भएका थिए ।

हामीले पृथ्वी जन्म जयन्ती र  राष्ट्रिय एकता दिवस कुनै शाह वंशीय परिवारको लागि मनाएको होइन । स्पष्ट रुपमा के छ भने हाम्रो लागि नेपाल र नेपाली भन्ने दुइवटा कुरा मूल हुन् । अनि जात-जाति भाषा भाषी देशको गहना हो । नेपाल सरकारले पौष २७ गते लाई पृथ्वी जन्म जयन्ती र  राष्ट्रिय एकता दिवस मनाउने परम्परा  पुन सुरु गर्नु पर्दछ । हामीले हाम्रो इतिहास बचाउन सकेनौ भने हामीहरुको नेपाली भने परिचय नै सदाको लागि लोप हुन् सक्दछ । त्यसैले अब आउने पौष २७ गते पनि पृथ्वी जन्म जयन्ती र  राष्ट्रिय एकता दिवस बेलायतमा भव्यता साथ मनाउन हामी लागि पर्ने छौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री