‘हङकङ आन्दोलन- नेपालीलाई हर्ष न बिस्मात’ चुरा थापा, पीएचडी शोधार्थी, हङकङ विश्वविद्यालय

सेप्टेम्बर २२ देखि हङकङमा चलिरहेको आन्दोलनले त्यहाँ रहेका नेपालीहरुलाई पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित तुल्याइरहेको छ । आन्दोलनले बेलायत र नेपालमा रहेका नेपालीहरुलाई पनि चिन्तित पार्नु स्वाभाविकै हो । खासमा हङकङमा चलिरहेको आन्दोलन के हो र यसबाट नेपालीहरुलाई के फाइदा बेफाइदा हुन्छ भन्ने बारेमा हामीले १८ वर्षदेखि हङकङमा बसोबासरत् र हालमा हङकङ विश्वविद्यालयमा विद्यावारिधि (पिएचडी) गरिरहेका चुरा थापासित वार्ता गरेका थियौँ । प्रस्तुत छ वार्ताको सारसंक्षेप  :

chura thapa
अहिले किन हङकङमा आन्दोलन चलिरहेको छ ?
हङकङमा लामो समयदेखि चिनियाँ पक्षधर र चीन विरोधी समूह क्रियाशील छन् । ब्रिटिशको उपनिवेशकालका हर्ताकर्ताहरु अहिले चीन विरोधी छन् भने त्यतिबेलाका उपनिवेश विरोधीहरु अहिले सत्तामा छन् । उनीहरुबीच लामो समयदेखि राजनीतिक खिचातानी चलिरहेको छ । यसै बीचमा यही अगष्टमा चिनियाँ जनकाँग्रेसले सन् २०१७ देखि हङकङका जनताले प्रत्यक्षरुपमा सरकार चुन्न पाउने तर त्यसरी चुनिन चाहने उम्मेदवार निर्वाचन आयोगबाट अनुमोदित हुनुपर्ने र बढीमा तीन जनामात्र उम्मेदवार हुन पाउने व्यवस्था पारित गर्यो । सो प्रावधानले आफूहरुको अधिकार हनन भएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रे । विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि सर्वसाधारणहरु पनि प्रदर्शनमा उत्रे ।

हिले आन्दोलन कस्तो छ ?
अहिले धेरै मत्थर भइसकेको छ । पहिले जस्तो विशाल संख्या छैन । सडकमा २-४ सय प्रदर्शनकारी होलान् ।

यो आन्दोलनमा नेपालीहरुको पनि सहभागिता छ ?
छ । विशेषगरी युवा विद्यार्थीहरुको सहभागिता छ । खासमा आन्दोलन केका लागि भन्ने भन्दा पनि विद्यार्थीहरुमाथि दमन गरियो भनेर ‘इमोसनल’ भएर आन्दोलनमा लागेका छन् । केही वयस्कहरु पनि आन्दोलनमा सक्रिय छन् । हुँदाहुँदा नेपालीबीच पनि आन्दोलनको विषयलाई लिएर विषवमन भइरहेको छ ।

त्यहाँस्थित नेपाली महावाणिज्यदूताबासले नेपालीहरुलाई आन्दोलनमा सरिक नहुनु भनेर विज्ञप्ति पनि निकालेको छ । त्यस्तो विज्ञप्ति निकाल्नुपर्ने अवस्था किन आयो ?
नेपालीमात्र होइन यहाँ रहेका अन्य देशका नियोगहरुलाई पनि चीनको हङकङ हेर्ने निकायले ‘यो हाम्रो आन्तरिक मामिला हो यसमा कुनै पनि देशले उक्साउने काम नगर्नु होला’ भनेर पत्राचार गरेको थियो । त्यसकै आधारमा नेपाली महावाणिज्यदूताबासले सर्कुलर गरेको हो । यस्तो सर्कुलर अरु देशले पनि निकालेका छन् ।

यो आन्दोलन सफल भयो भने नेपालीहरुलाई के फाइदा हुन्छ अथवा असफल भयो भने के घाटा हुन्छ ?
सुन्दा अलि अप्रिय लाग्ला, यो आन्दोलन हाम्रा लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो हो । आन्दोलन भइरहेको क्षेत्र वरिपरि काम गर्ने नेपालीहरुलाई आवतजावत र रोजीरोटीमा बरु व्यवधान भइरहेको होला । तर आन्दोलन सफल भए पनि नेपालीहरुले पाउने केही छैन । असफल भए पनि गुमाउने केही छैन । यो आन्दोलनका माग हङकङको कार्यकारी अधिकृत आफैँले चुन्न पाऊँ भन्ने छ । चीनको कानुन अनुसार सो पदमा चिनियाँ बाहेक अरु चुनिन पाउँदैन । बरु आन्दोलन लम्बियो भने, राजस्व संकलनमा ह्रास आयो भने, विकास निर्माणको काम रोकिने हुँदा नेपालीहरुले रोजगारी गुमाउने र अल्पसंख्यकका हैसियतमा पाइआएको भत्ता नपाउने हुन सक्छ ।

आन्दोलनको विषयलाई लिएर नेपालीबीच पनि विभाजन रहेछ नि ?
हङकङको समाज ब्रिटिशकालदेखि नै विभाजित समाज हो । त्यसमा नेपालमा पनि विभिन्न खेमामा विभाजित भएका नेपालीहरु आएका छन् । हामीले ‘यो आन्दोलन हाम्रा लागि होइन । बरु आफ्नो सुरक्षाको ख्याल गर्नुहोला’ भन्दै आएका छौँ । तर नेपालभित्रै उपेक्षित र उत्पीडित समुदायलाई अधिकार दिन हुन्न भन्ने नेपालीहरु यहाँको विकसित समाजमा सुविधासम्पन्न जनताको अधिकारका लागि वकालत गरिरहेका छन् । तटस्थ अवस्थामा रहेका वयस्क नेपालीलाई भड्काउने कोसिस गरिरहेका छन् ।

भनेपछि बहुसंख्यक नेपालीहरु यस आन्दोलनमा तटस्थ छन् ?
हो, बहुसंख्यक नेपाली यो आन्दोलनमा तटस्थ छन् । राजनीतिलाई नै समर्थन गरेर आन्दोलनमा जानेहरु अत्यन्त न्यून छन् । कतिपय त रमिता हेर्न र फराकिलो सडकमा हिँड्न भनेर गएकाहरु पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री