एन्फा अध्यक्ष थापालाई तत्काल निलम्बन गर्न लेखा समितिको निर्देशन

काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले अखिल नेपाल फुटबल संघका अध्यक्षसहित चार पदाधिकारीलाई तत्काल निलम्बन गर्ने खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ। यसअघि असोज १२ गते भ्रष्टाचार गरेको देखिएको भन्दै छानविन अवधिभर पद स्थगन गर्न निर्देशन दिएको थियो। निर्देशन कार्यान्वयन नभएपछि सोमबार बसेको लेखा समितिले पुन: निर्देशन दिएको हो। समितिले अहिलेकै पदाधिकारीबाट कार्यबहाक अध्यक्ष बनाउन भनेको छ।

Ganesh-Thapa

समितिले अध्यक्ष थापा, महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष विराटजंग शाही र निर्माण कार्यको जिम्मेवारी लिने अधिकारीलाई निलम्बन गर्न निर्देशन दिएको हो।

करोडौँ भ्रष्टाचार भएको उजुरीका आधारमा छलफल तथा अनुसन्धान गरेको लेखा समितिले एन्फामा गम्भीर समस्या देखिएको ठहर गर्दै अनियमितताबारे थप अनुसन्धान गरी दुई महिनाभित्र कारबाही अगाडि बढाउन असोज १२ गते निर्देशन दिएको थियो।

समितिले १६ वटा विभिन्न विषयमा थप अनुसन्धान गर्न खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन समेत दिएको थियो। राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ गणेश सो पार्टीको संविधानसभाका मनोनित सभाषद हुन्। लेखा समितिको निर्देशनपछि पत्रकार सम्मेलन गरेर थापाले लेखा समितिको निर्देशनलाई फिफा र एएफसीले तेस्रो पक्षको हस्तक्षेप लिएर नेपाललाई प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका थिए।

समितिले थापामाथि अनुसन्धान गर्न तयार पारेको सूची

  • गणेश थापाका छोरा गौरव थापाले एएफसी अध्यक्षबाट लिएको एक् लाख डलर
  • गोल प्रोजेक्टका लागि प्राप्त १७ करोड ४८ लाख ७० हजार रकम
  • नगरपालिकाहरुबाट प्राप्त २० प्रतिशत रकम बापतको ६४ करोड ६७ लाख अडिट नगराएको विषय
  • एएफसीबाट प्रशिक्षकहरुका लागि आएको रकम अडिट नगराएको
  • खेलाडी कल्याण कोषको ४० लाख र त्यसको आम्दानी र खर्च
  • साथी भन्ने संस्थालाई बिना निर्णय विगत ६ वर्षदेखि २ हजार ५ सय डलर दिएको
  • गेट टिकटको रकम लेखापरीक्षणमा नदेखिएको र टिकट बिक्री वापतकाे रकम आयमा समावेश नभएको
  • भवन निर्माण लगयतका सार्वजनिक खरीदसँग सम्बन्धित खरीद ऐन कानून पालना नपाएको
  • सरकारबाट उत्कृष्ट खेलाडी पुरस्कार वापत प्राप्त रकमको हिसाब किताब नराखेको
  • एन्फाको नाममा विभिन्न आर्थिक वर्षहरुमा प्राप्त बैङ्क ब्याज वापतका रकमहरु
  • विदेशी प्रशिक्षकहरुको पारिश्रमिक भुक्तानीमा अग्रिम कर कट्टी नगरेको र नेपालीहरुको पनि टिडीएस गरी राजस्व दाखिला नगरेको, बिना भ्याट, पान बिल सामान खरीद गरेको
  • पेश्की फछ्यौट नगरी थप पेश्की दिएको
  • विभिन्न निकायमा पेश गरिएको एउटै विषयका फरक प्रतिवेदनहरु
  • अपार्टमेन्ट खरीद गरी रकम भुक्तानी नगरेका विषयहरु
  • एन्फाको संगठन सञ्चालन, आर्थिक कारोवार, निर्माण लगायतका खरीद कार्य, जनशक्ति ब्यवस्थापन, प्रशिक्षक तथा खेलाडीहरुको पारिश्रमिक आदि सम्बन्धमा नियम र प्रक्रियाहरुको पालना नभएको

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री