समाचारपछि उल्टो साइकल यात्रीले पाए सहयोग

 

cyclist yatri

लन्डन । आर्थिक अभावले थप गन्तव्य जान नसकि लन्डनमै अलपत्र परिरहेका विश्व साइकल यात्रीले सहयोग पाएका छन् । हाल लन्डन दूतावासमा शरण लिइरहेका उल्टो साइकल यात्री वीरेश दाहालसहितको टोली आर्थिक अभावले लन्डनमै विचल्ली परेको समाचार वी नेपालीडटकम, इकान्तिपुर लगायत केही व्लगमा आएलगत्तै बेलायतवासी नेपालीले सहयोग जुटाएका हुन् ।

आइतबार एकै दिन उनीहरुले करिब १६ सय पाउण्ड सहयोग पाए । तीन साता अघि अमेरिकाको भिसा लागेपनि साथमा पैसा नहुंदा लन्डनमै अड्किएका साइकल यात्रीले बेलायतवासी नेपालीबाट सहयोग नपाएको गुनासो गरेका थिए । उनीहरुले खाडीमा बस्ने नेपालीले जत्ति पनि सहयोग नगरेको गुनासो गरेपछि आफ्नो प्रतिष्ठामा आंच पुग्ने डरले बेलायतवासी नेपाली पनि सहयोग गर्न कस्सिएका हुन् । टोलीमा दाहालसहित बरुण अधिकारी र बजेन्द्रकुमार महरा छन् ।

आइतबार विहान लन्डनस्थित चाल्टनमा स्किल्स् एण्ड केयर नामक च्यारिटी संस्थाले ति यात्रीलाई चारसय २२ पाउण्ड प्रदान गर्यो भने पानस रेष्टुरेन्टले त्यस दिन भएको आम्दानीको दश प्रतिशत रकम दिने वाचा गरेको छ । स्किल्स् एण्ड केयरका तर्फबाट यादव भण्डारी र विवेक श्रेष्ठले उक्त सहयोग संकलनमा पहल गरेका थिए ।

त्यसैगरि, दिउसो लन्डनमा नेपाल ब्रिटेन डटकमको आठौं वार्षिकोत्सवमा सहभागी नेपालीले एकहजार ४८ पाउण्ड संकलन गरि साइकल यात्रीलाई दिए । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको अनुरोधमा समाजसेवीहरु कुल आचार्य, महेन्द्र कंडेल लगायतले सहयोग संकलनमा तदारुकता देखाएका थिए । दाहालले सहयोग पाएपछि अब आफूहरुको यात्रा अगाडि बढ्ने जनाउंदै सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।

यसअघि गैर आवासीय नेपाली संघ, बेलायतले १५ सय पाउण्ड र गुल्मी जिल्ला समाज यूकेले एकसय ५१ पाउण्ड प्रदान गरेका थिए ।
सन् २००४ देखि उल्टो साइकल चलाएर ५७ देश घुमिसकेका दाहालले गिनिज वल्र्ड रेकर्डस्का लागि लन्डन अफिसमा नाम दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री