दबाबमा सम्झौता गर्न लगाइयो : योगेन, सम्झौता मान्दिन भन्नुको अर्थ छैन्ः कँडेल

nrn

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका सहअध्यक्ष योगेन क्षेत्रीले आफैंले गरेको सहमतिलाई कथित भन्दै नमान्ने घोषणा गरेका छन् ।

आइतबार एक प्रेस विज्ञप्ति मार्फत क्षेत्रीले गत २९ सेप्टेम्बर २०१३ मा बेलायतस्थित नेपाली दूतावासमा भएको असाधारण एकता सम्मेलनको सहमतिलाई ‘तथाकथित’ को संज्ञा दिंदै उनी आफैंले अमान्य घोषणा गरेका हुन् । गत वर्ष १५ सेप्टेम्बर सम्पन्न निर्वाचनले आफूलाई आधिकारिक अध्यक्ष बनाएको दावी क्षेत्रीको छ ।
गत २९ सेप्टेम्बर २०१४ सालसम्म मौन रहेका क्षेत्रीले कार्यकारी अधिकार लिएका अध्यक्ष महेन्द्र कंडेलमाथि एक्कासी ६३ हजार पाउण्ड आर्थिक हिनामिनाको आरोप समेत लगाएका छन् । तर, आफू कार्यकारी अधिकारसहित एनआरएनए यूकेको अध्यक्ष रहँदा एक वर्षे कार्यकालमा उनले कँडेलमाथि कुनै आरोप लगाएका थिएनन् । ‘मलाई दवावमा पारेर सहमतिमा हस्ताक्षर गर्न लगाइएको थियो’, क्षेत्रीले वीनेपालीसंग भने, ‘त्यसको सबै रेकर्ड मसँग सुरक्षित छ । म आगामी २ नोभेम्बरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्छु ।’

यता, २९ सेप्टेम्बरपछि एनआरएनए यूकेको कार्यकारी अध्यक्ष सम्हालेका कँडेलले सम्झौता हस्ताक्षर गरेर मान्दिन भन्नुको कुनै अर्थ नरहेको प्रतिक्रिया दिए । ‘सम्झौता विपरीत बोल्ने अधिकार कसैलाई छैन्’, कँडेलले वीनेपालीसँग भने, ‘म १८ अक्टोबरका दिन बेलायतवासी नेपालीमाझ विस्तृत कुरा राख्छु ।’
क्षेत्रीले एनआरएनए यूकेका संरक्षक समेत रहेका डा. सूर्य सुवेदीप्रति तीव्र असन्तुष्टि पोखेका छन् । प्रा. सुवेदीले बेलायतमा भएको असाधारण एकता सम्मेलनलाई केन्द्र मार्फत वैधानिकता दिन नसकेको क्षेत्रीको आरोप छ । क्षेत्रीले एक वर्षे कार्यकालमा आफ्नो जन्मथलोमा वृद्धाश्रम निर्माण गरेको प्रगति विवरण पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

गत वर्ष दुई चिरा हुन लागेको एनआरएनए यूकेलाई एक बनाई चक्रियप्रणाली अन्तर्गत नेतृत्व एक, एक वर्ष गर्ने सहमति भएको थियो । प्रा. डा सूर्य सुवेदीको नेतृत्वमा भएको सो सहमतिमा तत्कालिन अध्यक्ष योगेन क्षेत्री र अहिलेका अध्यक्ष महेन्द्र कंडेलले सहअध्यक्षको हैसियतमा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षरका साक्षीहरुमा एनआरएनए यूकेका पूर्व अध्यक्षहरु, आइसीसी उपाध्यक्षलगायतको हस्ताक्षर छ ।

 

क्षेत्रीको विज्ञप्ति जस्ताको तस्तैः

आदरणीय बेलायतबासी नेपाली जनसमुदाय,
हालैका दिनहरुमा गैर आवासीय नेपाली संघ, बेलायतको नेतृत्वबारे संचार माध्यमहरुमा प्रकाशित तथा प्रसारित गलत र झुटा समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गत सेप्टेम्बर २९ तारिख २०१४ मा महेन्द्र कंडेल तथा उनका समर्थक भनिएका व्यक्तिहरुबाट एनआरएनए यूकेको विधान तथा आचार संहिता विपरित एनआरएनए यूकेको कार्यकारी अध्यक्ष आफू भएको भन्ने अत्यन्त आपत्तिजनक, भ्रामक र झुठ घोषणा संचार माध्यमहरु तथा सामाजिक सन्जालहरुमा आएका कारण सो अवैधानिक कार्यको खण्डन गर्दै बेलायतबासी नेपाली जनसमुदायमा रहेको भ्रम हटाउने अभिप्रायले यो विज्ञप्ति जारी गरिएको छ ।

१५ सेप्टेम्बर २०१३ मा भएको प्रजातान्त्रिक अधिवेशनबाट एनआरएनए यूकेको नयां कार्यसमिति गठन भएको र त्यसको नेतृत्व मैले लिएको कुरा त सम्पूर्ण जनसमुदायहरुमा अवगत नै छंदैछ । तर, हजारौं व्यक्तिहरुलाई सदस्य बनाएर र उनीहरुबाट ६३ हजार पाउण्डभन्दा बढि शुल्क आफूले उठाएको घोषणा गरेका महेन्द्र कंडेल, तत्कालिन अध्यक्ष कुल आचार्यले आर्थिक हिनामिना गरेको र निर्वाचन निष्पक्ष र धांधलीरहित नहुने दाबी गर्दै निर्वाचन प्रक्रियाबाट बाहिरिएका थिए । स्मरण रहोस्, २०११—२०१३ मा कुल आचार्यको नेतृत्वमा रहेको कार्यसमितिमा उपाध्यक्ष रहेका महेन्द्र कंडेलले एनआरएनए यूकेको सामाजिक प्रतिष्ठामा आंच आउने कार्य पटक पटक गरेकाले उनलाई त्यतिबेला पनि वर्खास्त गरिएको थियो ।

एनआरएनए यूकेमा उब्जिएका अघिल्लो कार्यकालका यी विवादहरुलाई साम्य पार्न र एनआरएनए यूकेमा एकता कायम गर्न भन्दै एनआरएनए आइसीसीका तत्कालिन अध्यक्ष जीवा लामिछाने तथा संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको समेत सहमति लिएको दाबी गर्दै एनआरएनए यूकेका संरक्षक प्रोफेसर सूर्य सुवेदीले सेप्टेम्बर २९ तारिख २०१३ मा एनआरएनए आइसीसी तथा एनसीसी यूकेको विधानमैं कहिं कतै उल्लेख नभएको असाधारण एकता सम्मेलन गरी सो अवैधानिक सहमतिलाई अक्टोबर महिना २०१३ मा काठमाण्डौंमा हुंदै गरेको विश्व सम्मेलनभित्रमा वैधानिक बनाएर ल्याउने प्रतिबद्धता व्यक्त गर्दै २० बुंदे सम्झौता जारी गरे ।

तर, महेन्द्र कंडेल आफैंले सो सहमतिका बुंदाहरुको पटक पटक उल्लंघन गरेको, सहमति विपरित संचार माध्यमहरुमा झुटा समाचारहरु प्रकाशित गर्दै आएको र एनआरएनए यूकेको आचार संहिता विपरित काम गरेको हुनाले सहमतिकै बुंदा १८ बमोजिम सेप्टेम्बर २९ को सहमति स्वत खारेज हुने प्रस्ताव गत सेप्टेम्बर १ तारिखमा बसेको एनआरएनए यूकेको कार्यसमितिको बैठकले बहुमतले पारित गरेको थियो । सो को जानकारी यस सहमतिका अध्यक्ष र अनुशासन कमिटीका अध्यक्ष प्रा. सुवेदीलाई समेत लिखित रुपमा सम्पूर्ण प्रमाणसहित बुझाइएको र छानबीन गरी रिपोर्ट प्रस्तुत गर्न २८ दिनको समयावधि दिइएकोमा कुनैपनि पहल नगरिएका कारण सो सहमति स्वत खारेज भएको मानिन्छ ।

एकता कायम गर्ने उद्देश्य भन्दै गरिएको अवैधानिक सहमतिले आजसम्म आइसीसीबाट वैधानिकता प्राप्त गर्न नसकेको, महेन्द्र कंडेल तथा उनका समर्थक भनिएका व्यक्तिहरुबाट सहमतिकै बुंदाहरु भंग गरिएको, महेन्द्र कंडेलले एनआरएनए यूकेका सदस्यहरुबाट उठाएको सदस्यता शुल्क ६३ हजार पाउण्ड आजसम्म एनआरएनए यूकेलाई नबुझाएको, आफ्नै उम्मेदवारी शुल्क समेत बारम्बार बुझाउने आश्वासन दिंदै नबुझाएका कारण २९ सेप्टेम्बर २०१३ को तथाकथित एकता सहमति अबदेखि कुनै हालतमा मान्य नहुने घोषणा गर्दछौं । गत सेप्टेम्बर १५ तारिखमा भएको वैधानिक अधिवेशनमा गठित कार्यसमिति मात्रै वैधानिक हुने जानकारी यसै विज्ञप्तिमार्फत गराउंदछौं । हाल महेन्द्र कंडेलले जनताबाट उठाएको हजारौं पाउण्ड रकमको कुनै लेखाजोखा नभएको नाजुक अवस्थामा यी कुराहरुलाई यत्तिकै बेवास्ता गरेर गैर जिम्मेवारीपूर्ण व्यक्तिको हातमा नेतृत्व सुम्पिन हामी कुनैपनि हालतमा तयार हुन सक्दैनौं ।

हामीले प्रस्तुत गरेका माथि उल्लेखित सम्पूर्ण तर्कहरुको लिखित तथा भिडियो प्रमाणहरु हामीसंग सुरक्षित छन्। कुनै अवैधानिक सहमति लागु गराउनका लागि दशौं हजार बेलायतवासी नेपालीहरुले हामीलाई देखाउनुभएको विश्वास र समर्थनलाई लत्याउन हामी कदापि सक्दैनौं । त्यसैले यस सम्झौता र त्यस संग सम्बन्धित सम्पूर्ण लिखित तथा भिडियो प्रमाणहरु सहित आगामी नोभेम्बर २ तारिख २०१४ मा सम्पूर्ण संघसंस्था, पत्रकारहरु, एनआरएनएका अग्रजहरु तथा एनआरएनए यूकेका साधारण सदस्यहरुको उपस्थितिमा वृहत भेलाको आव्हान गर्दछौं र सो भेलामा सम्पूर्ण साधारण सदस्यहरु समेतको उपस्थितिमा वर्तमान अवस्थामा देखिएका अन्यौल र भ्रमहरुबारे प्रष्ट पार्ने प्रयास गर्नेछौं ।

गत एक वर्षको अवधिमा विवाद र कचिंगलका बाबजुद पनि एनआरएनए यूकेले विविध सामाजिक कार्यहरु गर्दै आएको र कल्याणकारी कार्यकै सिलसिलामा म्याग्दीको गलेश्वरमा घर र समाजबाट हेलित भई गुफामा जीवन गुजारिरहेका वृद्धवृद्धाहरुका लागि वृद्धाश्रम निर्माणको कार्य लगभग समापन हुनै लागेको जानकारी गराउन चाहन्छौं । एनआरएनए यूकेका आगामी एक वर्षका कार्यक्रमहरु पनि तय भइसकेका छन्। एनआरएनए यूकेको कार्यसमितिले यी कार्यक्रमहरु अझ जोडदार हिसाबले अघि बढाउने र नेपाल तथा बेलायतबासी नेपालीहरुको हितमा कार्य गरि नै रहने प्रतिवद्धता जनाउन चाहन्छौं । एनआरएनए यूकेले चालेका कदमहरु र कल्याणकारी कार्यहरुमा तपाईं सम्पूर्ण बेलायतवासी नेपाली समुदाय, सामाजिक अगुवाहरु, एनआरएनएका अग्रजहरु तथा पत्रकार साथीहरुको सधैंजस्तो सद्भाव र सहयोगको अपेक्षा राखेका छौं ।

भवदीय
योगेन्द्र बहादुर क्षेत्री
अध्यक्ष
गैर आवासीय नेपाली संघ, बेलायत

प्रतिक्रिया

सम्बन्धित सामाग्री