नेपलिज नर्सिङ एसोसिएसनका भावी योजना सार्वजनिक

बैठकपछि सामूहिक तस्वीर खिचाउँदै सदस्यहरु

बैठकपछि सामूहिक तस्वीर खिचाउँदै सदस्यहरु

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन, यूकेको चौंथो कार्यसमितिको पहिलो बैठक अक्टोबर ११ तारिख साउथइष्ट लन्डनमा सम्पन्न भएको छ । एसोसिएसनकी नवनिर्वाचित अध्यक्ष सुशिला कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले भावी कार्यक्रम तय, सल्लाहकार तथा सदस्यहरु मनोनयनसहित विभिन्न निर्णय गरेको छ ।
बैठकमा तेश्रो कार्यसमितिले चौंथो कार्यसमितिलाई औपचारिक रुपमा संस्थाको जायजेथा बुझबुझारथ गर्यो । उक्त अवसरमा नयां कार्यसमितिका तर्फबाट अध्यक्ष कार्कीले पुरानो कार्यसमितिप्रति धन्यवाद व्यक्त गर्दै संस्थालाई अहिलेको अवस्थासम्म ल्याएकामा सबैप्रति आभार व्यक्त गरिन् ।

पुरानो कार्यसमितिका तर्फबाट पूर्व कोषाध्यक्ष बबिता लामाले नयां कार्यसमितिलाई शुभकामना दिंदै आफूले भविष्यमा पनि एसोसिएसनलाई निरन्तर सहयोग गर्ने बताइन् ।

बैठकले नयां सल्लाहकारहरु नियुक्त गरेको छ जसमा श्रीमति टुका स्याण्डवेल, अजिता सिम्खडा, वासु लामिछाने, बबिता लामा र कमला पाण्डे छन् ।
यस अतिरिक्त बैठकले मन सुनुवार, सृजना देवकोटा, भिम लक्ष्मी शाक्य र स्मृति सुनुवारलाई नयां सदस्य मनोनित गर्दै कार्यसमिति १५ सदस्यीय बनाएको छ । बैठकले उर्मिला श्रेष्ठलाई वेल्स् र विनोदविकास सिम्खडालाई नर्दन आयरल्याण्डमा थप आधिकारिक प्रतिनिधिको खोजी गर्न जिम्मा दिएको छ ।

बैठकले वर्थिंङ सेन्टर निर्माणमा सघाउन फण्ड रेजिङ (कोष अभिवृद्धि) कमिटी समेत गठन गरेको छ, जसको नेतृत्व अध्यक्ष कार्कीले गर्नेछिन् । उक्त कमिटीको संयोजकहरुमा प्रसुना कंडेल, अजिता सिम्खडा, रश्मिता दर्लामी, बबिता लामा, शर्मिला बर्देवा, सुनिता गौतम, गंगा सामपाङ, गायत्री श्रेष्ठ, हिरा श्रेष्ठ, कल्पना बुढाथोकी, सृजना देवकोटा, रेखा सिटौला, इन्दिरा बस्याल, अनिता खरेल, रेखा खरेल र सुमित्रा पुनलाई चुनिएको छ । एसोसिएसनकी उपाध्यक्ष प्रसुना कंडेल र प्रमुख सल्लाहकार टुका स्याण्डवेलले नेपाल गएका बेला प्रस्तावित वर्थिंङ सेन्टरको सम्भाव्यता अध्ययन गर्ने जनाइएको छ । उपाध्यक्ष कंडेलले नेपालमा बैंक खाता खोल्ने र विश्व नर्सिंङ सम्मेलनमा सहभागिता जनाउने बैठकमा अवगत गराइएको थियो । एसोसिएसनले उक्त सम्मेलनमा एकसय पाउण्ड सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले संस्था सञ्चालन एवं परोपकारी कार्यका लागि आफ्ना सदस्यहरुबीच पाउण्ड अ मन्थ नामक अभियान शुरु गर्ने निर्णय गरेको छ । यस अभियानको संयोजन गर्न महासचिव विनोदविकास सिम्खडा र कोषाध्यक्ष रश्मिता दर्लामीलाई तोकिएको छ ।

बैठकमा नेपलिज डक्टर्स एसोसिएसनसंग मिलेर संयुक्त रुपमा काम गर्नेबारे समेत छलफल भएको थियो । बैठकमा अर्थ संकलनका लागि देउसी भैलो, पासा पुच गुठीको म्हः पूजामा स्टल साथै स्मारिकाको दोश्रो संस्करण प्रकाशन लगायतका विषयमा पनि छलफल भयो । स्टलका लागि गायत्री श्रेष्ठ र स्मारिका प्रकाशनमा गंगा सामपाङले हेर्नेछन् । निक साइमण्ड्स इन्सटिच्युटसंग मिलेर दुर्गम जिल्लाका दुई जना नर्सिंङ अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने सम्वन्धमा पनि छलफल भएको थियो । एसोसिएसनको अर्को बैठक आगामी जनवरी २४, २०१५ मा हुने तय गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री