ब्रुनाइको सुल्तानकहाँ जागिर लाइदिने भन्दै ठग्ने पूर्वगोरखा अदालतमा पेश

northhampton court

लण्डन । ब्रुनाइको सुल्तानकोमा जागिर लाइदिने भन्दै पूर्व गोरखाहरुलाई ठग्ने एक पूर्व गोरखालाई बेलायतको अदालतमा पेश गरिएको छ ।
फार्नब्रो ल्याङकास्टर वेका ३३ वर्षीय पूर्व गोरखा सदीप गुरुङले पूर्व गोरखाहरुबाट २५ हजार पाउण्ड ठगी गरेको अभियोग लगाइएको छ । उनमाथि ठगीका २२ वटा र मुद्रा अपचलनको एक गरी मुद्दा लगाइएको छ ।

उनलाई नर्थहृयाम्पटन मेजिस्ट्रेष्ट कोर्टमा आज पेश गरिएको छ ।
उनले पूर्व गोरखाहरुलाई ब्रुनाइको सुल्तानकहाँ हुँदै नभएको सुरक्षाकर्मीको जागिर दिने भन्दै पैसा उठाउने गरेको बताइएको छ । उनले पूर्व गोरखाहरुसित शुरुमा मित्रता गाँस्ने र बेलायतका विभिन्न स्थानमा रहेका ब्रुनाइका सुल्तानका घरहरुमा जागिरको प्रलोभन देखाउने गरेका थिए ।

सरकारी वकिल म्याथ्यु थोमसले गुरुङले सिसिटिभी लाइसेन्सका लागि भन्दै पेश्कीस्वरुप पूर्व गोरखाहरुबाट पैसा उठाउने गरेको तर जागिर भने कतै नलगाइदिएको अभियोग लगाए ।
ब्रुनाइ तथा मध्यपूर्वका राजपरिवारको सुरक्षाकर्मी हुँदा राम्रो तलव भत्ता सुविधा पाउने भएकाले पूर्व गोरखाहरु सोप्रति धेरै लालायीत हुने गरेका छन् ।
स्थानीय नर्थहृयाम्पटन क्रोनिकलका अनुसार गुरुङले एक पूर्व गोरखालाई मेडिकल क्षतिपूर्ति पाउने पक्का भएको तर त्यसका लागि पहिले बैँकमा अनलाइन ट्रान्सफर गर्नपर्ने भन्दै ठगी गरेको आरोप लगाइएको छ ।
उनले अर्का एक गोरखालाई छल गरी आफू पेन्सन अफिसको प्रतिनिधि भन्ने विश्वासमा पारी २ हजार पाउण्ड ठगी गरेको अभियोग लागेको छ ।

गुरुङले आफूमाथि लगाइएको अभियोगहरुका बारेमा अदालतमा केही बताएनन् ।

मेजिस्टेट कोर्टमा कुनै फैसला हुन नसकेपछि उनलाई यसै महिनाको अन्त्यमा नर्थ हृयाम्पटन क्राउन कोर्टमा लगिने भएको छ ।

उनलाई यसै वर्षको शुरुमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री