आइतबार, मंसिर २ २०७५ | Sun, November 18, 2018
नेपालको समय: १३:४८ | UK Time: 08:03

गाउँदै नचाउँछन् क्याप्टनेसाब

विनेपाली
२०७१ असोज ३१ गते ०:४९

capt bir
हे…हे..तुलसी आँगनमा रोपौँला……
जीवनभरि त्यो तिम्रो माया छातीमा खोपौँला..
सामुयल कोडी स्पोर्टस् हल, फार्नब्रोको प्रेक्षालयमा असिनपसिन हुँदै एउटा प्रौढ नाच्दै गाउँदै थियो । प्रस्तुति सकिएपछि साक्षात्कार हुँदा सोधियो-अन्यथा लिनुहुन्न भने तपाईको उमेर जान्न सक्छु कि । बिनाहिचकिचाहट उनले आफू ७३ वर्ष पुगेको बताए । उनी रहेछन् गोरखा सैन्यमा २८ वर्ष बिताएर सेवानिवृत्त क्याप्टेन वीरबहादुर थापा ।
नेपालीहरुको बाक्लो बसोबास रहेको फार्नब्रो, अल्डरसटतिरका नेपाली कार्यक्रमहरुमा क्याप्टेनसाबलाई नाच्दै फूर्तिलो हाउभाउमा गाउँदै गरेको भेटिन्छ । गत महिना अल्डरसटको प्रिन्सेस हल बाहिरको मैदानमा भएको लालीगुराास ब्याण्डको प्रस्तुतिमा थापाले गाएका थिए अरुण थापाको-ऋतुहरुमा तिमी हरियाली वसन्त हौ
दोस्रो विश्वयुद्धको माचोमा सन् १९४१ मा जन्मे उनी । उनी जन्मेको ठाउँ पनि ऐतिहासिक छ आलकायदा नेता ओसामा विन लादेन मारिएको पाकिस्तानको अवोटावाद । उनका पिता दोस्रो विश्वयुद्धमा अंग्रेजका पक्षमा लड्दै जाँदा त्यहाँ पुगेका थिए । त्यसो त बेलायतको सेवा उनको तीन पुस्तादेखिको पेशा हो । उनका बाजेले धानेका थिए पहिलो विश्वयुद्ध ।
पहिलेको गुल्मी अहिलेको अर्घाखाँचीमा पर्ने ठाडा पुख्र्यौली थातथलो थियो उनका पितापुर्खाको । तर बाउबाजे पल्टनियाँ भएपछि उनी प्रवासमै हुर्के, पढे र बढे । बाउको जागिर सरुवा हुँदै जाँदा उनी पनि पछ्याउँदै उनी कहिले देहरादुन र कहिले लेहरा पुगे र त्यहीँका स्कुलमा पढे । स्कुलमा शिक्षक बनेर आएका गोराहरुबाट उनले पाइप ब्याण्ड बजाउन र स्कटिश डान्स नाच्न सिके ।
हुने बिरुवाको चिल्लो पात भनेझैँ विद्यालय जीवनमै उनको ध्यान नाचगानमा जान्थ्यो । स्कुलभरिमा परिआउँदा राम्रो नाच्ने छान्दा उनी नै छानिन्थे । उत्कृष्ट नटराजको ताज उनले त्यतिबेला नै पहिरिसकेका थिए । उनी भन्छन् -पढाइमा भन्दा नाचगानमै बढ्ता ध्यान थियो । हुन त म पढाइमा पनि लद्दु चाहिँ थिइनँ ।
देहरादुनमा उनका दिदीहरु शास्त्रीय संगीत सिक्न जान्थे । दिदीहरुको पछि लाग्थे थापा । दिदीहरुलाई सिकाइएको हेरेरै उनले गाउन सिके ।
१० जना दाजुभाइ दिदीबहिनीमा माइलो उनले टाढाको स्कुल जानभन्दा भर्ती हुन नै मन पराए । १५ वर्षको उमेरमा सन् १९५६ मा व्वाइमा भर्ती भएका उनी दुई वर्षपछि फस्ट सिक्स गोरखा राइफलमा खटाइए । उनको आर्मी नम्बर हो २११४८०४६ जुन पछि अफिसर भएपछि फेरियो ।
सेवामा छँदा उनी बोर्नियोको संकटमा सरिक भए । जंगल लडाइँमा भाग लिए । त्यतिबेलाको स्मृतिलाई आलो बनाउँदै उनी भन्छन् – केहीलाई मार्‍यौँ । हाम्रोतर्फ पनि पाँचजना साथीहरु मारिए । सन् १९६६ मा बोर्नियोको लडाइँ सकिएपछि उनीहरु हङकङ फर्के । प्रशासनिक कामको तालिम लिए र काम पनि त्यतै सारे ।
पल्टनमा छँदा तोकिएको कामको अलावा उनको जिम्मेवारी हुन्थ्यो बटालियनलाई फुटबल, हक्की जस्ता खेलकुद प्रतियोगितामा जिताउने । साँस्कृतिक कार्यक्रमहरुमा भाग लिने । पल्टनमा गाउने नाच्नेलाई आँखी मानिन्थ्यो त्यो बेला । तैपनि थापाले मारुनी नाच्न छोडेनन् । भन्छन् -सन १९८३मा सबैभन्दा अन्तिमपटक मैले मारुनी नाचेँ । क्याप्टेन हुँदासम्म पनि मारुनी नाच्न छोडिनँ । पल्टनमा छँदा नाच्दा गाउँदा त्यस्तो कुनै कारबाही भोग्नु पर्यो कि भन्ने प्रश्नको प्रत्यूत्तरमा उनले भने -जस्तो मादल बज्थ्यो त्यही तालमा नाचिदिन्थेँ । खेलकुदले चाहिँ प्रोमोसनमा सहयोग गरेको नै ठान्छन् थापा ।

capt bir 1
सन् १९८४ मा रिटायर्ड भएपछि उनी तीनवर्ष नेपालमा बसे । धेरै वर्ष बाहिर बसेपछि स्वदेशभित्र बस्न गाह्रो होला कि भनेर झ्याम्मिन उनी नेपाल बसेको बताउँछन् । सन् १९८७ मा उनी ओमानका सुल्तानको सुरक्षाकर्मीहरुलाई तालिम दिन मस्कट गए । ओमान र जोर्डनको सीमा क्षेत्रका मानिसहरुलाई द्वन्द्वमा सामेल हुन नदिन उनीहरुलाई तालिम दिने विदेशमा पढ्न पठाउने गरिन्थ्यो । थापाको काम त्यही नै थियो ।
सन् १९९७ मा परिवारसित बस्न उनी हङकङ गए । नयाँ विमानस्थल बन्दै थियो त्यतिबेला । गोराहरुसित पहिले पनि काम गरिसकेकोले त्यति मुस्किल भएन काम पाउन ।
सन् २००६ मा उमेरले ६५ वर्ष पूरा गरेपछि शुरु भयो उनको वास्तविक कलाकारिता । उनकै शब्दमा भन्नुपर्दा सांगीतिक माहौल अत्यन्तै राम्रो थियो हकमा । त्यहीछेक हो उनले संगीतकार दिनेश सुब्बासित संगीत अध्ययन गर्न मौका पाएको । हरेक आइतबार सुब्बाकहाँ भेला हुने, गीत गाउने, कम्पोज गर्ने गरिन्थ्यो रे । त्यसले उनलाई हङकङमा भएका साँस्कृतिक कार्यक्रमहरुमा गाउने मौका र उत्साह दुवै भरिदियो ।
पल्टनमा नृत्यमा कहलिए पनि उनले हङकङमा सेवानिवृत्त हुनुअघिसम्म गाउनका लागि माइक्रोफोन समाएका थिएनन् । अब उनको नयाँ परिचय हुन थाल्यो गायकका रुपमा । ६६ वर्षको उमेर उनले पहिलो र सम्भवतः अन्तिम पनि ६६ वसन्त भन्ने एल्बम बजारमा ल्याए । हङकङमै एकल गायन साँझ गरेर उठेको पैसा मगर भाषाका आदिकवि जितबहादुर सिँजालीमगर प्रतिष्ठानलाई दिए । अरु एल्बम ननिकाल्नुको कारण खोतल्दा उनी भन्छन्-मैले व्यावसायिक हिसाबले एल्बम निकालेको होइन । अभिलेखका लागि निकालेको हुो । भविष्यमा मेरा छोरानातिले मेरो बाजेले गाएको गीत भनेर सुनोस् भनेर ।
सन् २०११ मा युके आएपछि उनले फार्नब्रो, अल्डरसट, इस्टलि फोल्कस्टोन आदि ठाउँमा गीत गाइसकेका छन् । गीत सुनेर रमाइलो र खुशी मानिदिँदा उनको छाती खुशीले नाङ्लो जत्रो हुन्छ रे ।

capt bir
युकेमा धेरै कलाकार भए पनि टाढा टाढा बसोबास भएकाले हङकङमा जस्तो सांगीतिक माहौलको सम्भावना देख्दैनन् उनी । युवावस्थामा नाच्न मज्जा लागे पनि बूढो भएपछि गाउनमै मज्जा लाग्छ रे उनलाई ।
युकेको ठाउँमा घरमै खुलेर गाउन, ट्रयाक बजाउन पनि डर मान्नुपर्छ कतै छिमेकीलाई असर पर्ला कि भनेर । त्यसैले कानमा हेडफोन कोचेर रियाज गर्ने गर्छन् उनी । बूढो हुँदै गएपछि बेसुरा भइएला कि भन्दा पनि शब्द बिर्सेला भन्ने धेरै डर हुन्छ रे ।
मद्दत समूहमा आवद्ध भएका उनले समाज सेवाका लागि पनि धेरै जिम्मेवारी लिएका छन् । उनको दिनचर्या हेर्दा लाग्छ पेन्सनर होइन उनी पूर्णकालिन कामदार हुन् । बृद्ध गोरखा र उनका परिवारलाई अंग्रेजी सिकाउनेदेखि अनुवादक हुने र एनएचएस काउन्सिल आदिको बैठकमा भाग लिनेसम्मको जिम्मा उनकै काँधमा छ ।
कलाकारितालाई मिहिन तरिकाले बुझेका उनी भन्छन्-नेपालमा कलाकार भएर जन्मनु अभिशाप छ । उदितनारायण झाको उदाहरण तेस्र्याउँदै उनले थपे, ‘नेपालमा उनको कस्तो अवस्था थियो, भारत छिरेपछि कस्तो भयो ?’

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक