तमुधिं यूकेमा भिडन्त टर्यो

1013894_359403704182770_1417957718_n

संस्थाको एउटा चर्चित कार्यक्रम नेपाली मेलाको एक झलक

लन्डन । बेलायतमा स्थापित जातीय संस्थामध्ये शक्तिशाली ठानिएको तमुधिं यूकेको आठौं कार्यसमिति सर्वसम्मत चयन हुने सम्भावना ‘नजिक’ पुगेको छ । आगामी साता हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने अडान लिंदै आएका उपाध्यक्षद्धय ज्ञाम गुरुङ र रामचन्द्र गुरुङ (सूर्जे) मध्ये ज्ञाम गुरुङ एक कदम पछाडि हटेपछि सर्वसम्मत कार्यसमिति चयनको बलियो सम्भावना देखिएको हो । पटक पटकका वार्तापछि शनिवार अवेरसम्म चलेको पूर्व अध्यक्षहरु र इकाइ अध्यक्षहरु सम्मिलित बैठकमा सहमतिमै अध्यक्ष चुन्ने र यसपटक रामचन्द्र गुरुङलाई उक्त अभिभारा दिने मौखिक सहमति बनेको तमुधिं श्रोतले उल्लेख गर्यो । वीनेपालीसंग संक्षिप्त कुरा गर्दै अध्यक्षका दावेदार सूर्जेले अध्यक्ष आफू बन्नेमा करिब ९९ प्रतिशत निश्चित भएको उल्लेख गरे ।

संस्थाको आगामी साता १६ नोभेम्बरमा आठौं कार्यसमितिका लागि मिचेटस्थित तमुधिं भवनमा निर्वाचन तय भएको छ ।
यसअघि फार्नवोरोस्थित गोर्खा प्यालेस् रेष्टुरेन्टमा भएको वरिष्ठ पदाधिकारी एवं सल्लाहकारहरुको बैठकमा समेत दुवै उपाध्यक्षले अध्यक्ष पद नछोड्ने अडान लिएपछि साधारणसभाबाटै टुंगो लगाउने भन्दै बैठक समापन भएको अध्यक्ष कमल गुरुङले जनाए । ‘दुवै जनाको अथक योगदान भएको तथ्य सबैलाई थाहा छ तर सहमतिमै अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो’, गुरुङले भने ।  उनका अनुसार, संस्थामा आजीवन सदस्यसंख्या एकहजार बढि छ भने साधारण सदस्य समेत उत्तिकै छन् ।

तमुधिं गठनको तयारी हुंदै गर्दा सन् १९९९ देखि नै सक्रिय भएर संस्थामा सामाजिक सचिव, सचिव, महासचिव र दुई पटक उपाध्यक्ष भइ योगदान गरेकाले अब अध्यक्षको जिम्मेवारी वहन गर्न इच्छुक रहेको सूर्जेले बताए ।

उनले तमुधिं भवनको तिर्न बांकी मोर्गेज फ्रि गराउने, आजीवन सदस्य थप्ने, आमा समूह, युवा समूहलाई अझ क्रियाशिल बनाउने र तमु एकतामा विशेष जोड दिने आफ्नो एजेण्डा रहेको समेत जनाए ।

दुई दशक ब्रिटिश आर्मीमा बिताएका ज्ञाम गुरुङको संस्थामा सचिव, महासचिव र उपाध्यक्षको जिम्मेवारीमार्फत ठूलो योगदान छ ।

(तमुधिं यूकेका गतिविधिबारे यसका वर्तमान अध्यक्ष कमल गुरुङसंगको ताजा अन्तर्वार्ता पनि पढ्न नछुटाउनुहोला)

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री