लन्डनबाट गोर्खा च्यानल सञ्चालनको तयारी

picture
लन्डन । जुझारु युवाहरुको एउटा समूहले लन्डनबाट गोर्खा च्यानल शुरु गर्ने भएको छ । अढाइ वर्षदेखि बेलायतबाट सञ्चालित गोर्खा टिभीको सिस्टर अर्गनाइजेशनका रुपमा गोर्खा च्यानल प्रसारणको तयारी अन्तिम चरणमा पुगेको मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा जनाइयो । च्यानलले आगामी ७ डिसेम्बरबाट औपचारिक रुपमा प्रसारण शुरु गर्ने बताइएको छ ।

२४ सै घण्टा प्रसारण हुने उक्त च्यानल आइपी टेक्नोलोजी, एप्स् र वेवमार्फत सर्वसाधारणले हेर्न सक्नेछन् । भविष्यमा स्याटेलाइट मार्फत प्रसारण गर्ने सोच समेत सञ्चालकहरुको छ । गोर्खा च्यानलको मार्केटिङमा वाङ तामाङ, प्राविधिकमा अमन गौचन, प्रशासन र पिआरमा दीप राना, प्रोडक्शन हेडमा राजेन्द्र भट्ट र व्यवस्थापनमा विमला सेने छन् ।

पत्रकार सम्मेलनमा कार्यक्रम उत्पादन प्रमुख भट्टले गोर्खा च्यानललाई समुदाय केन्द्रित गरिने जनाए । उनका भनाइमा च्यानलले ५५ प्रतिशत सामाग्री बेलायत केन्द्रित उत्पादन गरेपनि विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुका चासोका विषय पनि च्यानलले समेट्ने छ । नयां प्रविधि प्रयोगमा पोख्त युवा पुस्तालाई च्यानलले बढि प्राथमिकता दिनेछ । उनले नमस्ते युरोप मार्फत विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीहरुको भावनालाई नजिकबाट नियाल्न पाएको उल्लेख गर्दै गोर्खा च्यानलमा पनि उनीहरुको भावना समेट्ने जनाए । ‘दर्शकहरुले मलाई नमस्ते युरोपकै जस्तै माया गोर्खा च्यानलमा पनि दिनु हुने विश्वास छ’, भट्टले भने । उनको हाल प्रसारण भइरहेको नमस्ते युरोप एनआरएनमाझ लोकप्रिय छ ।

अमेरिका, अष्ट्रेलिया, जापान, हङकङ, खाडी मुलुक र बेलायत केन्द्रित गरेर प्रसारण गर्ने चांजोपांजो मिलाइएको विमला सेनेले जनाइन् । सञ्चालकहरुले प्राविधिक, सम्पादक, प्रस्तोता र प्राविधिकहरु बेलायतबाटै राखिने जनाएका छन् ।

10756796_552999588163672_1404185673_o

प्रविधि संयोजनको जिम्मा लिएका अमन गौचनले च्यानललाई अत्याधुनिक प्रविधिबाट प्रसारण गर्न कुनै कसर बांकी नराखिने जनाए । बजार व्यवस्थापनको अभिभारा लिएका वाङ तामाङले नेपाली समुदायभित्र मात्र नभइ अन्य एसियन समुदायमा समेत गएर मार्केटिङ गरिने जनाए । दीप रानाले अन्य च्यानलभन्दा फरक प्रस्तुति दिन आफूहरु सजग रहेको बताए । उनले बेलायतस्थित नेपाली समुदायका हरेक गतिविधि, मनोरञ्जन, खेलकुद र अन्य विषयलाई च्यानलले प्राथमिकता दिने पनि उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री