अलपत्र ह्वीलचेयर एनआरएनए युकेको सहयोगमा जाने भो नेपाल

wheel chair sports
लण्डन । अपांगतासम्बन्धी अन्तर्राष्ट्रिय च्यारिटी मोटिभेसनकी ह्वीलचेयर संयोजक नाताली नेपालका पुनर्स्थापना केन्द्रमा ह्वीलचेयर प्रयोगका बारेमा बुझ्न नेपाल जान्थिन् । यसैक्रममा उनले जान्न पाइन् नेपाल स्पाइनल कर्ड स्पोर्टस् एसोसिएसनका बारेमा ।
स्पाइनल कर्ड इन्जुरी भएकाहरु बेलाबेलामा ह्वीलचेयरमै बास्केटबल प्रतियोगिता आयोजना गर्थे । अभ्यास गर्थे । उनीहरुसित अदम्य उत्साह थियो तर थिएन खेलका लागि सही ह्वीलचेयरहरु ।
युके फर्केपछि नातालीले उनीहरुका लागि केही गर्ने अठोट लिइन् । संयोग पनि जुर्याे अनौठो ।
नातालीको विहे साइमनसित अगष्ट, २०१४ मा हुँदै थियो ।
यसै उत्सवलाई उनले नेपालका स्पाइनल कर्ड इन्जुरी भएका खेलाडीहरुका लागि केही गर्ने अवसरका रुपमा लिइन् । आफन्त र साथीभाइलाई उपहार होइन स्पोर्टस् ह्वीलचेयर किन्नका लागि चन्दा दिन अनुरोध गरिन् ।
साथीभाइ र आफन्तको सहयोग यति ओइरियो कि नाताली र साइमन हर्षले विभोर भए । उनीहरु बढीभन्दा बढी स्पोर्टस् ह्वीलचेयर किन्न चाहान्थे ताकि बढीभन्दा बढी खेलाडीले खेल्ने मौका पाउन सकुन् । नभन्दै १० वटा ह्विलचेयर किन्ने सहयोग जुट्यो । जो दुई टीमका लागि मनग्गे हुन्थ्यो ।
स्पोर्टस् ह्वीलचेयर सामान्य ह्वीलचेयरभन्दा महंगो पर्छ ।
ह्वीलचेयरहरु त तयार भए तर अब पठाउने कसरी ? बुझ्दा पत्ता लाग्यो नेपालसम्म ती ह्वीलचेयर पठाउन करिब १ हजार पाउण्ड ढुवानी खर्च लाग्छ र भन्सार वापत थप १०० पाउण्ड ।
ढुवानी खर्च जुटाउन नसक्दा करिब दुई महिनादेखि ह्वीलचेयरहरु तयार भएर पनि नेपाल पठाउन सकिएको थिएन । उता सार्क क्षेत्रमै पहिलोपटक स्पाइनल इन्जुरी भएकाहरुको सम्मेलन र बास्केटबल प्रतियोगिता बंगलादेशमा नजिकिँदै थियो ।
साइमन र नातालीले ढुवानी सहयोगका लागि निक्कै पहल गरे तर पार लागेन । अन्ततः सो समस्या एनआरएनए युकेसँग पुग्यो ।
गत महिना मात्र कार्यकारी अधिकार लिएका अध्यक्ष महेन्द्र कँडेलले परिस्थितिको गम्भीरतालाई गहिरोसँग बुझे र क्याम्ब्रिज युनिभर्सिटीमा फिजियोथेरापिष्ट रहेका एनआरएनए युकेका सल्लाहकार राजेन्द्र थापालाई सो खर्च जुटाउनका लागि संयोजक तोके । आफैँले ३०० पाउण्ड दिएर सहयोगको शुरुवात गरे । थापाले करिब दुई साताको बीचमा १ हजार १०० पाउण्ड जुटाए ।
“ह्वीलचेयर तयार छ तर नेपाल पठाउन खर्च नभएर अलपत्र परेको छ भन्ने खबर हामीकहाँ आयो । नेपालको टीमले ती ह्वीलचेयर लिएर बंगलादेशमा हुने सार्क स्तरीय प्रतियोगितामा भाग लिन जाने कार्यक्रम थियो । त्यसैले हामीले प्राथमिकता दिएर सहयोग संकलन गर्‍यौं” कंडेलले भने ।
उता संयोजक थापा पनि जिम्मेवारी पाएको छोटो समयमै ह्वीलचेयर पठाउन पाएकोमा मख्ख छन् । “यो हप्ताभरिमा ती ह्वीलचेयरहरु नेपाल पुग्छन् । खेलाडीहरुले एकहप्ता अभ्यास गर्न पाउँछन् र बंगलादेशमा हुने प्रतियोगितामा त्यही ह्विलचेयर लिएर भाग लिन पाउने छन्” थापाले भने ।
सामान्य ह्वीलचेयर बढी भारी भएकाले बास्केटबल खेल्दा बढी शक्ति लगाउनु पर्ने हुन्छ । एक आपसमा ठोक्किंदा ह्वीलचेयर नष्ट हुने सम्भावना पनि हुन्छ । स्पोर्टस् ह्वीलचेयर नहुंदा नेपाली खेलाडीहरुले तिनै ह्वीलचेयरबाट मुस्किलले काम चलाइरहेका थिए ।
युकेमा आफूहरुका लागि स्पोर्टस् ह्वीलचेयर किनिएको खबर पाएपछि स्पोर्टस् एसोसिएसनका अध्यक्ष आकाश श्रेष्ठले भने, “यो खबरले म मात्र होइन मेरा समस्त खेलाडी साथीहरु खुशी र अचम्भित भएका छौं । नाताली र साइमनलाई धन्यवाद दिन मसित कुनै शब्द नै छैन ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री