धकेलियो गोर्खा स्मारक निर्माण योजना

londonrem

लन्डन । बेलायतको फोकस्टोन केन्ट नेपाली, गोर्खालीका हकमा बेग्लै पहिचान बनाउन सफल छ । सन् २००० यता फोकस्टनस्थित सोर्नक्लिफ र रिसवोरो ब्यारेक्स् रोयल गोर्खा राइफल्स्को दोश्रो बटालियनका लागि स्थायी घर नै भएको छ । फोकस्टन, चेरिटन र स्याण्डगेट वरपर सेवारतमात्र होइन, अवकास प्राप्त गोर्खाहरुको समेत वसोवास बढिरहंदा ब्रिटिशहरु समेत यस शहरलाई ‘होम अफ दि गोर्खाज्’ भन्दा गर्व गर्छन् ।

यही फोकस्टनमा बेलायती साम्राज्यका लागि वीरगति प्राप्त गरेका झण्डै ४६ हजार गोर्खा योद्धाहरुको योगदान र सम्मानमा निर्माण गर्न लागिएको गोर्खा मेमोरियल स्मारक योजना केही पर धकेलिने भएको छ । पूर्व योजना अनुरुप करिब ५० हजार पाउण्ड बजेट जुटाइसकेर पनि अन्तिममा स्मारक स्थल परिवर्तन गर्नुपर्ने भएपछि निर्माणमा ढिलाइ हुन लागेको यसका परिकल्पनाकार एवं प्रोजेक्ट अध्यक्ष पूर्व काउन्सिलर धन गुरुङले वीनेपालीलाई जनाए । शुरुमा लिज क्लिफ गार्डेन्स्मा निजी जग्गामा निर्माण गर्ने योजना बनाएर प्लानिङ परमिसन लिइए पनि त्यस ठाउं नजिकै प्रथम विश्वयुद्धको सम्झनामा ४० फिटको अग्लो गेट बन्ने भएपछि फोकस्टन टाउन सेन्टर नजिक सार्नुपरेको अध्यक्ष गुरुङले जनाए । ‘त्यति अग्लो गेटको छेउमा १२ फिटको गोर्खा स्मारक विलिन हुने भएपछि हामीले ठाउं सारेका हौं, गुरुङले भने, ‘अब झन् काउन्सिलकै जग्गामा रहनेछ तर समय अलिकति लम्बिने भयो ।’

आगामी २० नोभेम्बरका दिन मुर्तीकार रेवेका हकिन्ज्संग निर्माण कार्य शुरु गर्न हस्ताक्षर कार्यक्रम राखिएको छ । स्मारक १२ फिट अग्लो र प्लिन्थ (बेस) ६ फिट आकारमा बन्नेछ । त्यस ठाउंलाई ‘गार्डेन अफ रिमेम्वरेन्स्’ नामाकरण गर्ने योजना छ । स्मारकमा गोर्खालीमाझ परिचित बहादुरीको पनि बहादुर, कायर हुनुभन्दा मर्नुनै निको जस्ता नारा नेपाली र अंग्रेजीमा लेखिनेछ ।

480x480-altered plinth size Gurka green-3

युद्धका लागि तम्तयार एउटा गोर्खा सैनिकले बोक्ने बन्दोबस्ती सामान, हतियार र पोसाक झल्कने आकृति, गोर्खा भर्ती इतिहासदेखि वीरगति प्राप्त गोर्खा, तिनको रेजिमेन्ट र विवरण स्मारकमा समावेश हुने छ । सन् २००० देखि रोयल गोर्खा रेजिमेन्ट भएपछिको गोर्खालीहरुको नयां इतिहास पनि स्मारकले झल्काउनेछ । हालसम्म रोयल गोर्खा रेजिमेन्ट लगायतबाट १४ जना गोर्खालीले अफगानिस्तान र अन्य युद्धमा वीरगति प्राप्त गरेकामा तिनको नाम पनि स्मारकमा लेखिनेछ । स्मारकले बेलायत नेपाल मैत्रीपूर्ण सम्वन्ध गाढा बनाउनेमात्र होइन, भावी पुस्तालाई गोर्खा इतिहास नजिकबाट बुझ्न सजिलो हुने विश्वास लिइएको छ । स्मारक बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा आगामी वर्ष मार्चदेखि जुनसम्म उद्घाटन गर्ने सोच बनाइएको छ ।

भूपू गोर्खाहरुले चेली मान्ने वरिष्ठ अभिनेत्री जोआना लुम्ली प्रोजेक्ट संरक्षक छन् । तिनै अभिनेत्रीको उत्साहजनक सहभागितामा गत मेमा गोर्खा मेमोरियल फण्ड च्यारिटी डिनर आयोजना गरेर करिब ७ हजार पाउण्ड संकलन भएको थियो भने वार एण्ड पिस रिभाइभल नामक संस्थाले च्यारिटी गरेर करिब ५ हजार पाउण्ड प्रदान गरेको थियो । प्रोजेक्टका लागि व्यक्तिगत सहयोगबाहेक वार्षिक रुपमा आयोजना गरिने फोकस्टोन टेन के दौडबाट पनि सहयोग जुटेपछि टार्गेट बजेट ५० हजार पाउण्ड सजिलै संकलन भएको हो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री