सुनकोशी थुनिएर बनेको तालको पानी सातमिटर घट्यो

तस्वीर : एजेन्सी

सुनकोशीको तालको पानी खोल्दै नेपाली सेना तस्वीर : एजेन्सी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको राम्चे–५ जुरेमा गत साउन १७ गते गएको पहिरोले सुनकोसी नदी थुनिएर बनेको कृत्रिम तालको पानी क्रमिकरुपमा घट्न थालेको छ ।

थुनिएको ताल खुलाउने काम सडक विभागले जिम्मा लिएपछि एक महिनाको अवधिमा सात मिटर पानी घटिसकेको र अब करिब नौ मिटरमात्र बाँकी भएको सो क्षेत्रमा कार्यरत डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर दशरथ यादवले बताए ।

दैनिक तीनवटा स्काभेटरले खोतल्ने काम भइरहेको र पानी घटेपछि थप चारवटा घर पुरै देखिएको र दुईवटा घरको छत देखिएको छ ।

पुरै देखिएको घरको सामानसमेत झिकिसकेको इन्जिनियर यादवले जानकारी दिए । सुरुमा नदीको चौडाई १७ मिटर रहेकोमा हाल चौडाई बढाएर ३८ मिटर पुगिसकेको छ ।

पहिरोले थुनिएर १२ घण्टापछि खुलेको उक्त ताल करिब तीन किमि लामो १५० मिटर गहिरो र ५०० मिटर चौडाइ रहेको अनुमान गरिएको थियो ।

नेपाली सेनाले ताल खुलाउने जिम्मा लिई बम विस्फोट गराउँदै आएकोमा ३७ दिनपछि गत भदौ २२ गते बाँध थप खिइएर आफैँ खुलेपछि करिब ७५ प्रतिशत अर्थात २० मिटर पानी घटेको थियो । त्यति हुँदा पनि तालको गहिराई अझै १५/१६ मिटर बाँकी रहेको अनुमान गरिएको थियो ।

पानी घटेपछि डुबेका १८ घरमध्ये छवटा घर पुरै देखिनुका साथै २.५ मेगावाटको सानीमा हाइड्रोको विद्युत गृह र प्रसारण लाइनको खम्वासमेत देखिएको थियो । ताल खुलेलगतै नेपाली सेना कार्यस्थलबाट फर्केपछि ताल खुलाउने जिम्मा सडक विभागले पाएको थियो ।

माङखा–१ को ड्याम साइडबाट बाह्रबिसे पुग्ने अरनिको राजमार्गको साविक सडकको दूरी २.५ किमी मात्र भएकाले पुरानै ट्रयाकबाट सडक खुलाउने काम भइरहेको र हालसम्म ५०० मिटर ट्रयाक खोलिसकेको इन्जिनियर यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री