खोटाङमा हेल्थ क्याम्प सञ्चालन गर्न बेलायतवासीको चटारो

10814391_621941881266214_853249652_n

लन्डन । बेलायतवासी नेपालीहरुको एउटा समूह खोटाङस्थित बाक्सिलामा हेल्थ क्याम्प सञ्चालन गर्न अन्तिम तयारीमा जुटेको छ । यूके बाक्सिला हेल्थ क्याम्प २०१४ का लागि ९ सदस्यीय टोली आफ्नै खर्चमा यही २४ नोभेम्बर सोमबार नेपाल जाने भएको छ ।

खोटाङ बाक्सिलामा मंसिर १५ र १६ गते सञ्चालन गरिने हेल्थ क्याम्पमा १५ गाविसका ७ सय जनाको स्वास्थ्य परिक्षण गराउने योजना छ । स्वास्थ्य चौकी भवन, बाक्सिलामा विहान ९ देखि सांझ ५ बजेसम्म हुने स्वास्थ्य शिविरको पहिलो दिन बाक्सिला, दिप्सुंग, वादेल, ऐसेलुखर्क, सुङ्देल, राखा र माक्पा गाविस एवं दोश्रो दिन बास्पानी, खार्ताम्छा, फेदी, पाथेका, खार्मी, जाल्पा, सप्तेश्वर र दुवेमा सञ्चालन हुने क्याम्प संयोजक हिराधन राईले जनाए ।

हेल्थ क्याम्पका लागि काठमाण्डौंस्थित नर्भिक हस्पिटलले औषधि र चिकित्सकहरु निशुल्क उपलव्ध गराएको छ । नर्भिकबाट चिकित्सकहरु जनरल फिजिसियन एवं गाइनोलोजिष्ट डा. बन्दना पाण्डे, जनरल फिजिसियन डा. प्रगति थापा, सर्जन डा. गौरवराज ढकाल, कार्डियोलोजिष्ट डा. शिवजी सिलवाल, महाप्रवन्धक रवि शर्मा र सिनियर नर्स सृष्टि रावत सहभागी हुने कार्यक्रम छ । उनीहरुलाई बेलायतबाट जाने दुई जना नर्सहरु बविता लामा र सुनिता राईले सघाउनेछन् ।

हेल्थ क्याम्प व्यवस्थित गर्न यहां एउटा आयोजक समिति समेत बनाइएको छ जसको अध्यक्षमा मेजर दिलकुमार राई र संयोजकमा एनआरएनए यूके उपाध्यक्ष हिराधन राई छन् । सल्लाहकारहरुमा पदमबहादुर राई, रामधन राई, डा. प्रमोद राई, उपाध्यक्ष मेजर योगेश राई, महासचिव सप्तराज राई, कोषाध्यक्ष योगेन्द्र राई र मिसन टु हेल्पकी अध्यक्ष बविता लामा छन् । योगेश राई र सप्तराज राई क्याप व्यवस्थापनका लागि नेपाल गइसकेका छन् ।

चिकित्सक र औषधि नर्भिकले निशुल्क उपलव्ध गराए पनि चिकित्सकहरुको वास र खानपिन एवं औषधि लैजान हेलिकप्टर प्रयोग गर्नुपर्ने भएकाले रावखोला सेरोफेरो यूके संस्थाले पांचहजार तीनसय ९ पाउण्ड ७७ पेन्स् संकलन गरेको हेल्थ क्याम्प संयोजक हिराधन राईले वीनेपालीलाई जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री