बेलायत कांग्रेसको एकताले मुर्तरुप लिन खोज्दै, कांग्रेसीहरु उत्साहित

congress

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको एकताले मुर्तरुप लिएको छ । दुई चिरामा विभाजित समितिलाई एक गराउन गत नोभेम्बर ९ तारिख साउथ ह्यारोस्थित चौतारी रेष्टुरेन्टमा भएको दुवै पक्षका पदाधिकारी तथा क्षेत्रीय सभापतिहरुको बैठकपछि एकता संकल्प सार्थक तुल्याउन दुवैका वार्ता समिति गठन भएका छन् ।

लोक गुरुङ समूहको वार्ता समिति बनेपछि चेतनाथ खनाल समूहले समिति गठनको स्वागत गर्दै आफ्नो समेत ११ सदस्यीय वार्ता समिति गठन गरेको छ । जसमा चेतनाथ खनाल संयोजक र सदस्यहरुमा विनोद मोक्तान (सल्लाहकार कार्यसमिति, पूर्व सभापति), विकास देवकोटा (उपसभापति र संस्थापक महामन्त्री), राजकुमार शाक्य (उपसभापति), युवराज सिंह (महामन्त्री), केशव भण्डारी (सल्लाहकार, कार्यसमिति), राज सिटौला (सदस्य कार्यसमिति), भोजप्रसाद गुरुङ (क्षेत्रीय सभापति), नवराज न्यौपाने (क्षेत्रीय सभापति), किरण राई (क्षेत्रीय सभापति), मोती भण्डारी (सल्लाहकार कार्यसमिति)  र तेज राई (सह महामन्त्री, कार्यसमिति) छन् ।

उता, गुरुङ समूहमा संयोजक लोक गुरुङ, सदस्यहरु  शान्तविनोद लामिछाने (उपसभापति), युवराज गुरुङ (उपसभापति), कुमारी गुरुङ (उपसभापति), राज पाठक (उपसभापति), हिमाल गुरुङ (उपसभापति), राजकुमार त्रिपाठी (महामन्त्री), शिव तिम्सिना (महामन्त्री), चिरञ्जीवी ढकाल, महेश दाहाल, वेद लावती र विजन भट्ट छन् ।

एकता अभियानलाई बेलायत कांग्रेसका शुभचिन्तक र समर्थकहरु आशाका साथ नियालिरहेका छन् । ४ हजार भन्दा बढी साधारण सदस्य भएको जनसम्पर्क समिति बेलायतमा आएको विभाजनले धेरै कांग्रेसीहरुलाई चिन्तित बनाएको थियो । एकताको पहलसँगै पुनः बेलायतका कांग्रेसीहरु उत्साहित भएका छन् । दुवै सभापति खनाल तथा गुरुङका साथै पूर्व सभापति विनोद मोक्तान, संस्थापक सभापति पुरुषोत्तम पौडेल, दुवै संस्थाका पदाधिकारीहरु र क्षेत्रीय सभापतिहरु एकताका पक्षमा उभिएकाले एकता हुने सम्भावना बलियो बन्दै गएको देखिन्छ । एकताका बारेमा छलफल गर्न लोक गुरुङ समूहले ३० नोभेम्बरमा आफ्नो कार्यसमिति बैठक बोलाएको छ ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाको बेलायत भ्रमणका अवसरमा ति दुई नेताले मिल्न निर्देशनात्मक आग्रह गरेपछि तितरवितर कांग्रेसीहरु एक हुन गम्भीर देखिएको कतिपयको अड्कल छ ।

एकताका लागि पहल सकारात्मक दिशामा अगाडि बढे पनि अझै एकताको ठोस वातावरण भने तयार भइसकेको देखिदैंन । दुवै समूहबीच पावर सेयरिङ र सहमतिका आधार के हुने भन्ने विषयमा लामो छलफल बांकी रहेकाले यसलाई केवल एकताको शुरुवात मात्र भन्न सकिने पुराना कांग्रेसीहरुको टिप्पणी छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री