तेक्वान्दोमा १३ वर्षीया सिएना लिम्बुले इंग्ल्याण्डलाई दिलाइन् स्वर्ण

Siena

स्कटल्याण्डमा भएको कमनवेल्थ स्तरीय तेक्वान्दोमा स्वर्णपदक थाप्दै सिएना

लण्डन । स्कटल्याण्डमा सम्पन्न छैटौँ कमनवेल्थ तेक्वान्दो प्रतियोगितामा १३ वर्षीया सिएना लिम्बु लिङदेनले स्वर्णपदक जित्न सफल भएकी छिन् ।
एडिनबराको मेडोब्यांक स्टेडियममा गत शनिबार र आइतबार भएको सो प्रतियोगितामा उनले इंग्ल्याण्डको प्रतिनिधित्व गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।
महिला जुनियर ४७ केजी समूहमा सहभागी उनले सात जना प्रतिस्पर्धी खेलाडीलाई पछार्दै स्वर्ण पदकको सपना साकार पारिन् । उनको समूहमा अष्ट्रेलिया, भारत र इंग्ल्याण्डका खेलाडीहरु थिए ।
आफ्नै मुलुककी प्रतिस्पर्धीलाई फाइनलमा हराएर स्वर्णपदक जितेपछि उनले वीनेपालीसित भनिन्, “खेल्दाखेरि जित्छु जस्तै लागेको थियो ।” उनले थपिन्, “इंग्लिश च्याम्पियन बन्न सकेकोमा धेरै खुशी लागेको छ ।”

प्रतियोगितामा कमनवेल्थ मुलुकका ४४४ खेलाडीले भाग लिएका थिए । इंग्ल्याण्डले ३१ स्वर्णसहित प्रतियोगितामा पहिलो स्थान लिएको थियो भने क्यानाडा आठ स्वर्णसहित दोस्रो र अष्ट्रेलिया ३ स्वर्णसहित तेस्रो भएका थिए ।
बाबा देउमान लिङदेन र आमा उषा तुम्बाहाम्फेकी जेठी छोरी सिएनाले पाँच वर्षको उमेरदेखि तेक्वान्दो सिक्न थालेकी हुन् । उनी अहिले गुरुमु क्लवमा अावद्ध छिन् । उषा भन्छिन्, “त्यतिखेर हामी वेम्ब्लीमा बस्थ्यौँ । आत्मरक्षाका लागि भएपनि छोरीलाई तेक्वान्दो सिकाउनुपर्छ भनेर मनिशंकर दाइले भन्नुभएको थियो र मैले छोरीलाई तेक्वान्दोमा भर्ना गरिदिएको थिएँ ।”
हप्तामा पाँच दिन तेक्वान्दोको कठोर अभ्यास गर्ने सिएनाले परिश्रमको मीठो फल चाख्न पाइरहेकी छिन् । यसै वर्षको जुलाईमा अजरबैजानको बाकुमा भएको फस्ट वल्र्ड तेक्वान्दो क्याडेट च्याम्पियनसिपमा सिएनाले इंग्ल्याण्डलाई रजत पदक दिलाएकी थिइन् जुन इंग्ल्याण्डले त्यस प्रतियोगितामा जितेको एक मात्र पदक थियो । एकपछि अर्को सफलताले उत्साहित उनी अहिले अर्को साल हुने युरोपियन च्याम्पियनसिपको तयारीमा छिन् ।

छोरीको सफलताले आमाबाबालाई एकातिर हर्षविभोर बनाएको छ भने धपेडीले चिन्तित पनि । विद्यालयमा इयर नाइनकी छात्रा सिएनाको ब्यस्तता देख्दा उषालाई डर छ कतै पढाइमा असर पो पर्ने हो कि ? उसो त सिएनाको पढाइ नराम्रो छैन । अवार्ड थाप्ने बानी परिसकेकी उनलाई पढाइमा पनि अवार्ड मिलिरहेकै छ ।
हरेक सप्ताहन्तमा लण्डनबाट म्यानचेष्टर पुगेर तेक्वान्दो अभ्यास गर्ने सिएनालाई सोधियो – खेलकुदमा लागेर कतै पढाइमा असर पो पुगेको छ कि ? “केही असर नपारेको होइन तर अहिलेसम्म घर र स्कुलमा मिहिनेत गरेर ‘कभर’ गरिरहेकी छु” उनले भनिन् ।

Baku siena

अजरबैजानको बाकुमा भएको वर्ल्ड क्याडेट च्याम्पियनसिपमा इंग्ल्याण्डलाई रजत पदक दिलाउँदै सिएना

आमाबाबाको रहर छ सिएनालाई खेलकुदमा भन्दा पढाइमा सफल देख्ने । अभिभावकको इच्छा सिएनाले पनि बुझिसकेकी छिन् । भविष्यमा दन्त चिकित्सक बन्ने उनको सपना छ । तर तेक्वान्दोलाई चटक्कै छाडिहाल्ने पनि होइन । पढाइमा बढी ध्यान दिने तर तेक्वान्दो अभ्यासलाई पनि नरोक्ने । ‘ओलम्पिकमा ब्रिटेनलाई पदक दिलाउने रहर छ’ उनको अर्को सपना छ ।
पाँचथर गोपेटारका देउमान ब्रुनाइका राजपरिवारकहाँ काम गर्ने सिलसिलामा सन् १९८७ देखि युकेमा छन् । मोरङ कुलझोडाकी उषा सन् २००१ मा युके आइन् र त्यही साल सिएनाको जन्म भयो ।

तीन वर्षको उमेरमै उनले सिएनालाई पौडीमा भर्ना गरिदिन् । पौडीमा पनि उनको विलक्षण प्रतिभा देखेर प्रशिक्षकले हप्ताको तीन दिन अभ्यासमा पठाइदिन अनुरोध गरेका थिए रे । तर पौडी, तेक्वान्दो र पढाइ तीनतिर लाग्न असम्भव देखेर पौडीमा नपठाएको उषा बताउँछिन् ।

हाल लण्डनको इष्टहाममा बसोबास गरिरहेकी उषा आफूलाई पूर्ण गृहिणी भन्न रुचाउँछिन् । छोरीहरुको पालनपोषण र शिक्षादीक्षाका लागि कुनै काम नगरी आफूलाई समर्पित गरेकी उनी छोरीको सफलताबाट दङ्ग छिन् ।

siena single

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री