दूतावासमा एनआरएनए यूके विवाद मिलाउन अर्को विकल्पको खोजी

Nepalese-Embassy-in-London

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) विवादले चरम रुप लिइरहंदा विवाद मिलाउन अर्को कसरत शुरु भएको छ । लन्डनस्थित नेपाली दूतावासले बेलायत नेपाल दौत्य सम्वन्धको दुई सय वर्ष गांठ कसरी मनाउने भन्ने सम्वन्धमा प्रारम्भिक छलफल गर्न शनिवार डाकेको एउटा अनौपचारिक बैठकपछि साइडलाइन बैठकमा एनआरएनए यूके विवाद साम्य गर्न अर्को विकल्प खोजी भएको श्रोतको दावी छ ।

पानी बाराबारको स्थितिमा रहेका एनआरएनए यूके प्रमुख संरक्षक प्रा. डा. सूर्य सुवेदी र संरक्षक डमर घलेसहित एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, कुल आचार्य, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल लगायत केही व्यक्तिहरुको छलफलले विवाद कायमै राख्ने हो भने संस्थाको साख धुमिल हुने निष्कर्ष सहित दुवै पक्षलाई मिलाउने अर्को अन्तिम विन्दु खोज्ने निष्कर्ष निकालेको हो । तर, अर्को विकल्प के हुने र कसरी दुवैलाई मुलधारमा ल्याउने भन्नेबारे फेरि छलफल गरिने जनाइएको छ ।

विवादबारे छानवीन गर्न एनआरएनए आइसीसीले एउटा समिति बनाइसकेको अवस्थामा उक्त समितिलाई समेत साथ दिई कंडेल र क्षेत्रीपक्षको टकराव मिलाउन सहभागीको सुझाव थियो ।

उक्त अनौपचारिक बैठकमा महेन्द्र कंडेलको पक्ष लिएको जस्तो देखिने डा. सुवेदी र क्षेत्रीको पक्षमा वकालत गर्दै हिंडेको आरोप सामना गरिरहेका डमर घलेले आफूहरु कसैको पनि पक्षमा नभई समाज र संस्था विभाजित हुनु हुन्न भन्नेमा मात्र गम्भीर रहेको बताएका थिए । उनीहरुले गत वर्ष गरिएको सहमतिको मर्म समेत 
कायमै रहने गरि सेफ ल्याण्डिङ गराउनुपर्ने धारणा राखेका थिए । केही सहभागीले कुनै बेला मुलधारबाट अलग्गिएका महेन्द्र कंडेललाई मुलधारमा ल्याए जस्तै अब योगेन क्षेत्रीलाई पनि सम्माजनक स्थान दिएर संस्थामा सामेल गराउन जोड दिएका श्रोतको दावी छ ।

स्मरणरहोस्, गत २९ सेप्टेम्बरयता महेन्द्र कंडेलले गत वर्ष दूतावासमै भएको सहमति अनुसार आफू अध्यक्ष भएको घोषणा गर्दै कार्यालय स्थापना गरिसकेपनि योगेन क्षेत्रीले भने उक्त सहमति दवावमा गरिएको बताउंदै पालना नगर्ने अडान लिंदा विवाद चरमोत्कर्षमा छ । यही बेला केन्द्रिय अध्यक्ष शेष घलेले अन्य पदाधिकारीहरुसंग समेत छलफल नगरि छानवीन नसकिएसम्म योगेन क्षेत्रीलाई नै अध्यक्ष मान्न ठाडो निर्देशन दिएपछि अध्यक्ष को भन्ने अन्यौल व्याप्त छ ।

यसैबीच, एनआरएनए यूके विवाद मिलाउनेबारे भएको छलफल अघि लन्डनस्थित नेपाली दूतावासले बेलायत नेपाल दौत्य सम्वन्धको दुई सय वर्ष गांठ कसरी मनाउने भन्ने सम्वन्धमा प्रारम्भिक सुझाव संकलन थालेको छ ।

दूतावास भवनमा शनिवार आयोजित अनौपचारिक बैठकमा दूतावासले वर्ष गांठ सफल बनाउन केही प्रस्ताव अघि सारेको छ । जसमा सांस्कृतिक कार्यक्रम, महोत्सव, खेल गतिविधि, स्मारिका प्रकाशन जस्ता कार्यक्रममार्फत कार्यक्रम सफल बनाउने छन् । बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग र केही सञ्चारकर्मीको संलग्नतामा भएको बैठकमा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले नेपाली समुदायबाट सहयोगको अपेक्षा गरेका थिए । क्षेत्रीले सार्क सम्मेलन सकिएपछि नेपाल सरकारले यसबारे थप निर्देशन र बजेट निकासा गर्ने बताएका एक सहभागीले वीनेपालीलाई जनाए ।

बैठकमा प्रधानमन्त्री सुशिल कोइरालाका एकजना सल्लाहकार डा. विजन पन्त, डा. राघवप्रसाद धिताल, प्रा. डा. सुर्य सुवेदी, सुर्य गुरुङ, कुल आचार्य, डमर घले, पशुपति भण्डारी, आरती श्रेष्ठ लगायत केही पत्रकार सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री