मगर स‌ङ्घ युकेकाे घर खरिदका लागि जुट्यो ३ लाख ८० हजार पाउण्ड

मगर सङ्घ युकेका संरक्षक घन थापामगरलाई सम्मान गरिँदै । तस्वीर मगर संघ युके

मगर सङ्घ युकेका संरक्षक घन थापामगरलाई सम्मान गरिँदै । तस्वीर मगर संघ युके

लण्डन । मगर संघ युकेले यस वर्षको च्यारिटी डिनर शनिबार लण्डनमा सम्पन्न गरेको छ ।
अध्यक्ष दुत पुनमगरको अध्यक्षता र महासचिव बम सूर्यबंशीको सञ्चालनमा भएको सो च्यारिटी डिनरमा मगर संघको घर खरिदमा सहयोग गर्नुहुने दाताहरुलाई प्रमाणपत्र र ब्याच वितरण गरिएको थियो ।
यसैगरी, मगर सङ्घको भवन खरिदका लागि अहोरात्र खटिनुभएका हाउजिङ कमिटीका सल्लाहकार तथा सङ्घका संरक्षक घन थापामगरलाई मगर परम्परा अनुसार फेटा पहिर्‍याई सम्मान गरिएको थियो । त्यस्तै, मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष तथा हाउजिंग कमिटीका संयोजक राजेन्द्र रानालाई सबैभन्दा बढी सहयोग संकलन गरेकोमा फेटा लगाइ अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा मगर संघ युकेको वर्षौंदेखि पूरा नसकेको घर खरिदको योजनालाई साकार तुल्याउएकोमा हाउजिंग कमिटीका सदस्यहरु योगकुमार फगामी, नेत्र आले, दालमान पुन र जगत थापालाई पनि सम्मान गरिएको थियो ।
संघको मुखपत्र कानुङ लाङ्घा पहिलोपटक संघबाट एक पैसा खर्च नगरी आफ्नै खर्चमा र स्तरीय प्रकाशन गरेकोमा मिडिया कमिटीलाई सम्मान गरिएको थियो । यस्तै, कार्यक्रममा युथ कमिटीलाई पनि सम्मान गरिएको थियो ।
मगर समाज सेवा केन्द्र ललितपुरका अध्यक्ष मीनबहादुर बलाल कार्यक्रमका प्रमुख अतिथि रहेका थिए भने मगर संघ युकेका निवर्तमान अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापामगर विशिष्ट अतिथि । हाउजिंग म्यानेजमेण्ट कमिटीका संयोजक समेत रहेका मेजर रिटायर्ड थापामगरले मगर संघको भवन र यसको व्यवस्थापन योजनाका बारेमा बताएका थिए । संघले करिब वाषिर्क १७ हजार पाउण्डमा भवनको ग्राउण्ड फ्लोर भाडामा दिन लागेको छ ।
हाउजिंग कमिटीका सदस्य योग फगामीले हालसम्म संकलित सहयोग, खर्च र उठ्न बाँकी सहयोगको फाँटबारी प्रस्तुत गरेका थिए । हाउजिंग कमिटीका संयोजक राजेन्द्र रानाले घर खरिदका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यदि मगरहरुले पहिले नै घर किनेको भएको भए मगरहरु अहिले धेरै अघि पुगिसक्ने धारणा राखेका थिए ।
संघले ३५० पाउण्ड सहयोग गर्नेलाई एकल आजिवन सदस्यता, ५०० पाउण्ड सहयोग गर्ने दम्पत्तिलाई नै आजिवन सदस्यता, १ हजार पाउण्ड सहयोग गर्ने दम्पत्तिलाई नै ट्रष्टिज सदस्यता र ५ हजार पाउण्ड सहयोग गर्ने दम्पत्तिलाई संरक्षक सदस्यता प्रदान गरेको छ ।
कार्यक्रममा साास्कृतिक समितिका संयोजक अनिता रानामगर र सहसंयोजक छविमाया पुनमगरले साास्कृतिक कार्यक्रम चलाएका थिए । त्यस्तै, छविमाया पुनले राफल ड्रको संयोजन गरेकी थिइन् ।
वेष्ट लण्डन शाखाले कार्यक्रमको तयारीमा सहयोग गरेको थियो भने महासचिव बम सूर्यबंशीले समग्र कार्यक्रमको संयोजन गरेका थिए ।
युकेका सक्रिय संस्थाहरुमध्ये एक मगर संघ युकेले केही महिनाअघि करिब ३ लाख २० हजार पाउण्डमा फार्नब्रोमा घर खरिद गरिसकेको छ । घर खरिदका लागि करिब ३ लाख २७ हजार पाउण्ड संकलन भइसकेको र ५४ हजार पाउण्ड उठ्न बाँकी रहेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री